गोपाल झा
महोत्तरी, अषाढ २३ गते
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा नगरस्तरीय योजना अन्तर्गत बर्षै देखी मखाना खेती गर्दै आएका कृषकहरुलाई आज सोमबार विशेष कार्यक्रमका बीच बजारीकरण सम्बन्धी सामग्रीहरू वितरण गरीएको छ । वितरण गरिएका सामग्रीहरूमा प्लास्टिकका बोरा, झोला र त्रिपाल समावेश छन्, जसले कृषकहरूलाई मखाना भण्डारण, ढुवानी र संरक्षणमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रमको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले गर्नुभएको थियो । प्रमुख मण्डलले सामग्री वितरण गर्दै मखाना खेतीलाई प्रोत्साहन गर्नु नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै स्थानीयस्तरमै उत्पादन हुने मखानाको समुचित बजारीकरण तथा उत्पादन वृद्धिका लागि पालिका प्रतिबद्ध रहेको बताएका छन् ।
नगरपालिकाको कृषि शाखाका सह–संयोजक टंकप्रसाद उपाध्यायका अनुसार, यस वर्ष २१ जना मखाना कृषकहरुलाई उत्पादन क्षमताको आधारमा १०० देखि ४०० थान बोरा, २०० थान झोला र १ थान त्रिपाल वितरण गरिएको हो । उहाँले थप जानकारी दिँदै पालिकाले विगत तीन वर्षदेखि यस किसिमको सामग्री वितरण कार्य गर्दै आएको र यसले कृषकहरुको ब्यबसायमा सहयोग पुगेको बताउनुभयो ।
मखाना हिन्दू धर्म अनुसार विशेष धार्मिक महत्व राख्ने फल हो, जुन मुख्यतया दीपावली र कोजाग्रत पूर्णिमा जस्ता चाडपर्वमा प्रयोग गरिन्छ । मखाना मात्र धार्मिक वा सांस्कृतिक दृष्टिले महत्वपूर्ण न भई यो स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक मानिन्छ । आयुर्वेद देखि आधुनिक पोषण विज्ञानसम्म मखानालाई पौष्टिक आहारको रूपमा लिईन्छ । मखानामा प्रोटिन, फाइबर, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस, र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकोले एलर्जी भएका व्यक्तिले पनि सजिलै खान सक्ने गर्छन् । र यसको सेबनले बिभिन्न रोग संग लडने क्षमता समेत बढाउने गर्छ ।
हाल मटिहानी नगरपालिका भित्र १२५ बिघा क्षेत्रफलमा मखाना खेती हुँदै आएको छ । कृषि शाखाका अनुसार, यस क्षेत्रबाट वार्षिक करिब ८० मेट्रिक टन मखानाको उत्पादन हुँदै आएको छ । मखाना खेती र त्यसको व्यवसायमा मटिहानीका सहनी र मुस्लिम समुदायका करिब १०० घरपरिवार संलग्न रहेका छन् । यसले मखाना खेतीलाई यहाँको साझा जीविकोपार्जनको स्रोत बनाएको देखिन्छ ।
सामग्री वितरण कार्यक्रममा मटिहानी नगरपालिका–६ का वडाध्यक्ष कलीम अंसारी र वडा नं. ७ का वडाध्यक्ष जितनारायण माझीको उपस्थिति रहेको थियो । साथै, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहनप्रसाद गुप्ता, उपाध्यक्ष अजय साह, सचिव विजय साहलगायतका उद्योगी–व्यवसायीको समेत उल्लेखनीय उपस्थिति थियो । त्यसैगरी, मखाना खेतीमा सक्रिय कृषकहरु — महेश सहनी, महेश साह, विष्णु सहनी, राम दयाल सहनी, बिन्दे सहनी, कामेश्वर सहनी, गंगा सहनी र लछो खातुन लगायतको उपस्थिति कार्यक्रमलाई अझै उत्साहजनक बनाएको थियो ।
मखाना खेती मटिहानी नगरपालिकाको लागि मात्र नभई सिङ्गो महोत्तरी जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनायुक्त क्षेत्र हो । यस्ता कार्यक्रमले कृषकहरूमा प्रोत्साहन बढाउनुका साथै उत्पादन र बजारीकरण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।







































































































