| जनकपुरधाम, मंसिर ८
धनुषा र सिरहा जिल्लाको सीमामा पर्ने कमला नदीमा प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व ‘भूत मेला’ सुरु भएको छ। प्रत्येक वर्ष कात्तिक पूर्णिमाका अवसरमा लाग्ने यस मेलामा बिहानैदेखि श्रद्धालु, धामीझाँक्री तथा सर्वसाधारणको ठूलो भीड लागेको छ।
मिथिलाको प्राचीन धार्मिक परम्परा, तन्त्र साधना र लोकविश्वाससँग जोडिएको यस मेलामा मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, उदयपुरलगायत विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालुहरू सहभागी हुन आएका छन्।
मेलामा नयाँ साधक तथा धामीझाँक्रीहरू आफ्ना इष्टदेवताको नाम स्मरण गर्दै ढोल, पिपही र अन्य परम्परागत बाजागाजाको तालमा नाच्दै कमला नदीमा स्नान गर्ने गर्छन्। पहेँलो धोती र सारीमा सजिएका साधकहरू हातमा माटोको ढकना र बेतको लाठी लिएर नाच्ने तथा देवता खेल्ने दृश्य मेलाको मुख्य आकर्षण बनेको छ।धार्मिक जनविश्वासअनुसार कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीको कृपाबाट तन्त्र साधनामा सिद्धि प्राप्त हुने विश्वास गरिन्छ। मूलधामीबाट मन्त्र सिद्ध गराएपछि धामी बन्ने परम्परासमेत यस मेलासँग जोडिएको छ।
स्थानीय मान्यताअनुसार कमला स्नानले कुलदेवताको आशीर्वाद प्राप्त हुनुका साथै परिवारको सुख, शान्ति, रक्षा र मनोकामना पूरा हुने विश्वास गरिन्छ। भाकल पूरा भएपछि श्रद्धालुहरूले सूर्यदेवलाई साक्षी राखेर पूजाआजा तथा भाकल चढाउने परम्परा पनि रहिआएको छ।
स्नान तथा धार्मिक विधि सम्पन्न गरेपछि धामीझाँक्री र श्रद्धालुहरूले नदीको बगरमै दही, चिउरा, मिठाईलगायत परिकार खाएर प्रसाद ग्रहण गर्ने गर्छन्।मिथिलाञ्चलको मौलिक पहिचान बोकेको कमला नदीको भूत मेलाले धार्मिक आस्था, लोकसंस्कृति र पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै आएको छ। प्रत्येक वर्ष हजारौँको सहभागिता रहने यस मेलाले मिथिलाको सांस्कृतिक विविधता र परम्परागत पहिचानलाई उजागर गर्दै आएको छ।







