महोत्तरी। रामगोपालपुर नगरपालिकाका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि स्थानीय राजनीतिक वृत्तमा उनको राजनीतिक यात्रालाई लिएर विभिन्न चर्चा सुरु भएको छ।
रामगोपालपुर नगरपालिका वडा नम्बर ५ बाट पहिलो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका चौधरीले कार्यकाल पूरा गरेपछि नेकपा एमालेमा प्रवेश गरेका थिए। तर एमालेमा लामो समय टिक्न नसकेपछि उनले केही महिनामै उक्त पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। माओवादी केन्द्रमा पनि लामो समय रहन नसकेका चौधरी केही दिनअघि पुनः पार्टी परिवर्तन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
चौधरीको पटक–पटक पार्टी परिवर्तन गर्ने राजनीतिक शैलीलाई लिएर अहिले रामगोपालपुर नगरपालिकाका विभिन्न चोक तथा चिया पसलमा चर्चा हुन थालेको छ। उनको पछिल्लो पार्टी प्रवेशलाई लिएर केही स्थानीय तथा समर्थकले असन्तुष्टि व्यक्त गरेको बताइएको छ।
स्थानीय राजनीतिक वृत्तमा चौधरीको पार्टी परिवर्तनको क्रमलाई राजनीतिक स्थिरता र प्रतिबद्धतासँग जोडेर प्रश्न उठाउन थालिएको छ। वर्षैपिच्छे पार्टी परिवर्तन गर्ने प्रवृत्तिले मतदाता तथा समर्थकमा अन्योल सिर्जना गरेको स्थानीयस्तरमा चर्चा छ।
पहिलो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा जनताको मत पाएर वडाध्यक्ष बनेका चौधरीले पटक–पटक राजनीतिक दल परिवर्तन गर्नुको कारणबारे भने आफ्नो धारणा सार्वजनिक गर्न आवश्यक देखिन्छ।
राजनीतिमा पार्टी परिवर्तन गर्नु लोकतान्त्रिक अधिकार भए पनि बारम्बार दल परिवर्तन गर्दा नेता र जनताबीचको विश्वासमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न अहिले रामगोपालपुरको राजनीतिक बहसको विषय बनेको छ।
अब राष्ट्रिय स्वतन्त्र पार्टीमा उनको राजनीतिक यात्रा कति लामो र प्रभावकारी हुन्छ भन्ने कुरा भने आगामी दिनले नै देखाउनेछ।







