महोत्तरी। महोत्तरीको सम्सी बजारमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना हुने भएको छ।
आज बिहान ११ बजे हुने उक्त कार्यक्रममा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ की सांसद तथा पूर्वमन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवका अनुसार कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँको संख्यामा नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गर्ने तयारी रहेको छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले पार्टीको नीति, सिद्धान्त र भावी राजनीतिक योजनाबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
महोत्तरी क्षेत्रमा आफ्नो संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ।
पार्टी प्रवेश कार्यक्रमले सम्सी तथा आसपासका क्षेत्रमा रास्वपाको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।







