मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते
मकवानपुर। मकवानपुरको भैँसे नजिकै सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।
रौतहटको चपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान भैँसे नजिकै सुन्दरीमाई मोडबाट करिब सात मिटर तल खोलामा खसेर दुर्घटनामा परेको हो।

प्राप्त जानकारीअनुसार सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको घटनास्थलमै वा उपचारका क्रममा मृत्यु भएको भन्ने विवरण भने खुल्न बाँकी छ। घाइते सातै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी दिनुभएको छ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।







