जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले दाबी पेस गर्ने आज (शुक्रबार) अन्तिम दिन भए पनि सत्ता समीकरणमा सहमति जुट्न नसक्दा सरकार गठन प्रक्रिया लम्बिने संकेत देखिएको छ।
मधेश प्रदेशको ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा एमालेसँग सहकार्य गरेर सरकार गठन गर्न नसकिने अडान लिएपछि नयाँ सरकार गठनको प्रक्रिया थप अन्योलमा परेको हो।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन तयार नरहेको पार्टीका एक नेताले बताएका छन्। शुक्रबार साँझ जनकपुरधाम आइपुगेका अध्यक्ष यादवले आफ्नै पार्टीका प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरिरहेका छन्।
अध्यक्ष यादवसँग भेट गरेका जसपा नेपालका एक प्रदेशसभा सदस्यका अनुसार एमालेसँग सहकार्य नगर्ने विषयमा अध्यक्षको स्पष्ट धारणा रहेको छ। एमालेले दल विभाजन गराएको, लुम्बिनी प्रदेशमा आफ्ना सांसद तानेर सरकार गठन गरेको तथा मधेश प्रदेशमा पनि त्यस्तै राजनीतिक परिस्थिति सिर्जना गर्न खोजेको आरोप लगाउँदै यादव एमालेसँग असन्तुष्ट रहेको ती सांसदको भनाइ छ।
‘एमालेसँग सरकारमा नजाने अध्यक्षजीको स्पष्ट अडान छ। अब अर्को कुन राजनीतिक विकल्पमा जाने भन्ने विषयमा छलफल भइरहेको छ,’ ती सांसदले बताए।
जसपा नेपालको उक्त अडानपछि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि वैकल्पिक राजनीतिक समीकरण खोज्नुपर्ने अवस्था देखिएको छ। प्रदेशसभामा रहेका अन्य दल तथा सांसदहरूको समर्थन जुटाउने विषयमा पनि राजनीतिक दलहरूबीच छलफल तीव्र हुने देखिन्छ।
यसअघि मुख्यमन्त्रीले राजीनामा दिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो। तर दलहरूबीच नेतृत्व र सत्ता साझेदारीका विषयमा सहमति जुट्न नसक्दा प्रदेशको राजनीतिक अवस्था थप पेचिलो बन्दै गएको छ।
अब जसपा नेपालले कुन दलसँग सहकार्य गर्छ र मधेश प्रदेशमा नयाँ सरकारको नेतृत्व कसले लिन्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।







