Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

पत्रकारितामै खर्चिएको जीवन

प्रतिक्षा खबर
२०८३ श्रावण १०, आईतवार २२:५८

गोपाल झा महोत्तरी , साउन १० गते

मैले आफ्नो जीवन नै पत्रकारिताको नाममा खर्च गरिदिएँ“

कहिलेकाहीँ रातको गहिरो सन्नाटामा आफ्नै जीवनतर्फ फर्केर हेर्दा मनले एउटा प्रश्न गर्छ — आखिर मैले के पाएँ ?

रातको अन्तिम प्रहरमा, जब सम्पूर्ण संसार निदाइसकेको हुन्छ र वरिपरि गहिरो सन्नाटा छाइरहेको हुन्छ, म आफैँसँग एउटा प्रश्न गर्छु— आखिर मैले यी दुई दशकमा के कमाएँ ?

उत्तर खोज्न खोज्दा स्मृतिका पानाहरू एकपछि अर्को खुल्न थाल्छन् । हजारौँ समाचार, सयौँ घटनास्थल, अनगिन्ती पीडितका अनुहार, आँसुले भरिएका आँखाहरू, दुर्घटनाका दृश्य, आन्दोलनका नाराहरू, अस्पतालका आपत्कालीन कक्षहरू, बाढीले बगाएका घरहरू, आगलागीले खरानी भएका सपना, न्याय खोज्दै अदालत धाएका नागरिक, भ्रष्टाचारविरुद्ध उठेका आवाजहरू, निर्वाचनका मैदान, गाउँदेखि राजधानीसम्मका यात्रा… यी सबै मेरो जीवनका अध्याय बनेका छन् ।

यी दुई दशकमा मैले अरूका कथा लेखेँ । अरूका आँसु शब्दमा उतारेँ । अरूका अन्यायलाई देशभर सुनाएँ । कुनै आमाको रुवाइ समाचार बन्यो, कुनै किसानको दुःख शीर्षक बन्यो, कुनै विद्यार्थीको संघर्ष मुख्य समाचार बन्यो, कुनै विपद्मा परेकाको गुहार सम्पूर्ण समाजसम्म पुग्यो । म निरन्तर दौडिरहेँ—समयसँग, घटनासँग, सत्यसँग ।

तर आज, जब आफ्नै जीवनतर्फ फर्केर हेर्छु, महसुस हुन्छ—सबैका कथा लेख्ने क्रममा आफ्नै कथा भने अधुरै रहेछ ।

शुरुको दिनमा पत्रकारिता मेरो लागि जागिर थिएन, यो एउटा प्रतिबद्धता थियो । एउटा विश्वास थियो कि सत्य लेख्दा समाज परिवर्तन हुन्छ । कलम चलाउँदा न्यायको पक्ष बलियो हुन्छ । एउटा समाचारले कुनै पीडितले न्याय पाउन सक्छ , कुनै गलत निर्णय सच्याउन सक्छ , कुनै भ्रष्टाचार उजागर गर्न सक्छ । यही विश्वासले मलाई वर्षौँसम्म थकान बिर्साएर काम गर्न प्रेरित गर्‍यो ।

तर यथार्थले सधैँ आदर्शको साथ दिँदैन रहेछ । पत्रकारिताले मलाई धेरै कुरा सिकायो, तर यसले धेरै कुरा मबाट खोस्यो पनि । अरूको घरमा पुगेर उनीहरूको पीडा सुन्दै गर्दा आफ्नै घरको पीडा देख्न सकिनँ । समाजका समस्याहरू लेख्दै गर्दा आफ्नै परिवारका आवश्यकताहरू पछाडि पर्दै गए । घरमा छोराछोरीले समय खोजे, जीवनसाथीले साथ खोजिन्, बुबाआमाले सँगै बस्ने चाहना राख्नुभयो, तर म सधैँ “ब्रेकिङ न्यूज“ को पछि दौडिरहे ।

कुनै चाडपर्वमा परिवारसँग बस्न सकिनँ । कुनै जन्मदिन छुट्यो । कुनै पारिवारिक जमघटमा सहभागी हुन सकिनँ । किनकि त्यही दिन कतै दुर्घटना भएको थियो, कतै आन्दोलन थियो, कतै राजनीतिक हलचल थियो । मेरो समय सधैँ समाजको थियो, तर आफ्ना लागि समय कहिल्यै भएन ।

आज आफ्ना सन्तानको भविष्य सम्झँदा मन भारी हुन्छ । उनीहरूलाई राम्रो शिक्षा, सुरक्षित भविष्य र समय दिनुपर्ने जिम्मेवारी मेरो पनि थियो । तर धेरैपटक पत्रकारिताले ती सबैभन्दा माथी स्थान लियो । अहिले उनीहरूको अनुहार हेर्दा मनले सोध्छ—के मैले सही निर्णय गरेँ ?   आर्थिक पक्ष झन् पीडादायी छ ।

समाजले पत्रकारलाई लोकतन्त्रको चौथो अङ्ग भन्छ । सम्मानका भाषण धेरै सुनिन्छन् । तर व्यवहारमा कति पत्रकारले समयमा पारिश्रमिक पाउँछन ? कति पत्रकारले सामाजिक सुरक्षा पाएका छन ? कति पत्रकारको घर आर्थिक रूपमा सुरक्षित छ ?

सत्य के हो भने, धेरै पत्रकारहरू आफ्नै पसिनाको मूल्य माग्न बाध्य छन् । महिनौँसम्म तलब कुर्नुपर्छ । कामको समय निश्चित हुँदैन । बिदा हुँदैन । रात–दिनको कुनै सीमा हुँदैन । तर अधिकार माग्दा कहिलेकाहीँ आफूलाई दोस्रो दर्जाको कर्मचारीसरह व्यवहार गरिएको अनुभूति हुन्छ । समाचार बनाउने मान्छे आफैँ समाचारभन्दा बाहिर रहन्छ ।  अरूको पीडा सबैले देख्छन्, पत्रकारको पीडा कसैले देख्दैन ।

पत्रकारलाई लाग्छ, ऊ बलियो हुनुपर्छ । ऊ रुनु हुँदैन । ऊ भावुक हुनु हुँदैन । तर सत्य के हो भने पत्रकार पनि आखिर मानिस नै हो । उसको पनि मन हुन्छ । परिवार हुन्छ । सपना हुन्छ । थकान हुन्छ ।

मैले धेरै रात निदाउन सकिनँ । तनावले निद्रा हरायो । धेरै बिहान मुस्कुराउँदै आफ्‌नो कर्मस्थल पुगेँ, जबकि अघिल्लो रातभरि चिन्ताले आँखामा निद्रा परेको थिएन । धेरैपटक सबैलाई “म ठीक छु“ भनेँ, तर त्यो केवल एउटा अभिनय थियो । भित्रभित्रै भने म प्रत्येक दिन अलि अलि टुक्रिँदै गएको थिएँ ।

मानसिक तनाव, आर्थिक अभाव, सामाजिक दबाब र पेशागत असुरक्षाबीच पनि कलम चलाइरहे । किनकि मलाई लाग्थ्यो—यदि मैले पनि सत्य नलेख्ने हो भने कसले लेख्छ ?

आज पत्रकारिताको स्वरूप पनि बदलिएको छ । सूचना दिनेभन्दा पहिले प्रतिस्पर्धा छ । सत्यभन्दा पहिले “भाइरल“ हुने दबाब छ । तथ्यभन्दा पहिले गति खोजिन्छ । सामाजिक सञ्जालको भीडमा जिम्मेवार पत्रकारिता झन् कठिन बन्दै गएको छ । यस्तो अवस्थामा इमानदारी जोगाउनु आफैँमा ठूलो संघर्ष भएको छ ।

तर यी सबै संघर्षका बीच पनि एउटा कुरा कहिल्यै मरेन त्यो हो मेरो कलम । धेरैपटक मनले भन्यो—“अब पुग्यो, यो पेशा छोड ।“ तर अर्को मनले भन्यो —“तिम्रो परिचय यही हो ।

पत्रकारिता मेरो लागि केवल आयआर्जनको माध्यम होइन । यो मेरो आत्मा हो । मेरो स्वाभिमान हो । समाजप्रतिको मेरो जिम्मेवारी हो । यही कारणले हजारौँ निराशा, अपमान, अभाव र संघर्षका बीच पनि आजसम्म हातबाट कलम झरेको छैन ।

तर एउटा यथार्थ स्वीकार्नैपर्छ—यो परिचय जोगाउने क्रममा मैले धेरै कुरा गुमाइसकेको छु । समय गुमाएँ । परिवारसँग बिताउनुपर्ने क्षणहरू गुमाएँ । आर्थिक अवसरहरू गुमाएँ । मानसिक शान्ति गुमाएँ । कहिलेकाहीँ आफ्नै मुस्कान पनि गुमाए छु ।

आज यो लेख कसैसँग गुनासो गर्न लेखिएको होइन । कसैबाट सहानुभूति माग्न पनि होइन । यो एउटा आत्मस्वीकार हो । एउटा पत्रकारको मनभित्र वर्षौँदेखि थुप्रिएको मौन चित्कार हो । एउटा यस्तो चित्कार, जुन समाचारको आवाजमा सधैँ दबिँदै आएको छ ।

यदि समाजले पत्रकारलाई केवल समाचार लेख्ने मानिसका रूपमा होइन, भावना भएको एउटा साधारण मानिसका रूपमा पनि हेर्न सिक्यो भने सायद धेरै पत्रकारहरू भित्रभित्रै यसरी नटुक्रिने थिए ।

पत्रकार पनि थाक्छ । पत्रकार पनि रुन्छ । पत्रकार पनि चिन्तित हुन्छ । पत्रकार पनि आफ्ना छोराछोरीको भविष्यका लागि रातभरि जागा बस्छ । पत्रकार पनि सम्मान सँग बाँच्न चाहन्छ । र सबैभन्दा ठूलो कुरा—पत्रकार पनि आफ्नो पसिनाको उचित मूल्य खोजिरहेको एउटा श्रमिक नै हो ।

सायद कुनै दिन कसैले पत्रकारलाई पनि सोध्नेछ— “तपाईंले जीवनभर अरूका आवाज बन्नुभयो… आज तपाईंको आवाज कसले सुन्ने ?

त्यो दिन मात्र यो पेशाको वास्तविक सम्मान हुनेछ । र त्यस दिन सायद कुनै थाकेको पत्रकारले पहिलोपटक महसुस गर्नेछ—उसको जीवन व्यर्थ गएको थिएन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर