साेनमा । महोत्तरीको सोनमा गाउँपालिकाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका तथा नगर प्रहरीहरूलाई गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले साइकल वितरण गर्नुभएको छ।
गाउँघरमा नागरिकलाई स्वास्थ्य सेवा पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा, समर्पण र योगदानको उच्च कदर गर्दै उनीहरूको कार्यसम्पादनलाई थप सहज बनाउन साइकल वितरण गरिएको हो। त्यसैगरी, गाउँपालिकाको शान्ति सुरक्षा, बजार व्यवस्थापन तथा दैनिक कार्यसम्पादनमा खटिँदै आएका नगर प्रहरीहरूको कामलाई थप सरल, छरितो र प्रभावकारी बनाउने उद्देश्यले साइकल उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

साइकल वितरणले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँघरका टाढाटाढासम्म पुगेर स्वास्थ्यसम्बन्धी सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। त्यस्तै, नगर प्रहरीहरूलाई पनि आफ्नो कार्यक्षेत्रमा आवतजावत गर्न तथा जिम्मेवारी निर्वाह गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अवसरमा गाउँपालिका अध्यक्ष यादवले महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीहरू स्थानीय सरकारका महत्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै उनीहरूको सेवा र जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्दै जाने बताउनुभएको छ।

स्थानीय तहले जनताको सेवामा प्रत्यक्ष रूपमा खटिने कर्मचारी तथा स्वयंसेवकहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदमका रूपमा हेरिएको छ। साइकल वितरणले सेवा प्रवाहमा सहजता ल्याउनुका साथै कर्मचारी तथा स्वयंसेविकाहरूको मनोबलसमेत बढाउने अपेक्षा गरिएको छ।







