साेनमा ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ८ मा पूर्ववडा अध्यक्ष राजदेव यादवको चर्चा पुनः चुलिन थालेको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीयस्तरमा उनको राजनीतिक भूमिका र विगतको कार्यकालबारे विभिन्न टोल तथा बस्तीमा चर्चा हुन थालेको हो।
राजदेव यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए। तत्कालीन समयमा नेकपा (माओवादी) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले विभिन्न राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै राम्रो मतान्तरसहित वडा अध्यक्षमा विजय हासिल गरेका थिए। जनयुद्धकालमा लामो समय बिताएका यादव स्थानीयस्तरमा परिचित नेताका रूपमा स्थापित छन्।
वडा अध्यक्षका रूपमा कार्यकाल सम्हाल्दा उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा योगदान पुर्याएको उनका समर्थकहरूको दाबी छ। स्थानीय जनताको व्यक्तिगत समस्या होस् वा सामाजिक तथा सामुदायिक काम, उनी सक्रिय रहने गरेको स्थानीयवासीहरू बताउँछन्।
पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका यादवले दोस्रो स्थानीय तह निर्वाचनअघि झिनो मतान्तरले पराजय व्यहोरेका थिए। त्यसपछि उनी जनता समाजवादी पार्टीबाट समेत अलग भएका छन्।
हाल वडा नं. ८ मा वर्तमान कार्यकालको विकास निर्माण तथा सेवा प्रवाहबारे स्थानीयस्तरमा विभिन्न बहस हुन थालेका छन्। केही स्थानीयवासीले विगतको कार्यकालसँग अहिलेको अवस्थालाई तुलना गर्दै विकास निर्माणका कामबारे प्रश्न उठाउन थालेका छन्।
यही पृष्ठभूमिमा पूर्ववडा अध्यक्ष यादवलाई पुनः सम्झिनेहरूको संख्या बढेको उनका समर्थकहरूको भनाइ छ। आगामी निर्वाचनमा उनलाई पुनः वडा अध्यक्षका रूपमा देख्न चाहने चर्चा विभिन्न टोल तथा बस्तीमा हुन थालेको उनीहरूको दाबी छ।
यद्यपि, आगामी निर्वाचनमा यादवको राजनीतिक निर्णय र उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। वडा नं. ८ को आगामी राजनीतिक समीकरणमा उनको भूमिका कस्तो रहनेछ भन्ने विषय भने चासोको विषय बनेको छ।







