महोत्तरी।
महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित जोरा थान नजिक निर्माणाधीन प्रवेशद्वार क्षेत्रमा आइतबार बेलुकी करिब ७:३० बजे गम्भीर दुर्घटना भएको छ। दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेको उपचार गौशालास्थित बीके अस्पतालमा भइरहेको बताइएको छ।
उक्त घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवले गाउँपालिका प्रमुख, वडा अध्यक्ष तथा निर्माण कार्यमा संलग्न ठेकेदारको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।

Oplus_19005440
डा. यादवका अनुसार निर्माणस्थलमा आवश्यक चेतावनीमूलक बोर्ड, सुरक्षा संकेत, रातो बत्ती तथा अन्य सतर्कताका उपायहरू व्यवस्था नगरिएको कारण सर्वसाधारण जोखिममा परेका हुन्।
उनले विकास निर्माणको कामको आफूहरू विरोधी नभएको स्पष्ट पार्दै विकासका नाममा नागरिकको जीवन जोखिममा पार्न नहुने बताएका छन्। निर्माण कार्य गर्दा सर्वसाधारणको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
डा. यादवले दुर्घटनाबाट घाइते भएका व्यक्तिको उपचारसहित घटनासँग सम्बन्धित सम्पूर्ण खर्च निर्माणको जिम्मा लिएका ठेकेदारले बेहोर्नुपर्ने मागसमेत गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
निर्माणस्थलमा आवश्यक सुरक्षा व्यवस्था किन मिलाइएन र सर्वसाधारणको सुरक्षाप्रति सम्बन्धित निकाय किन संवेदनशील भएनन् भन्ने प्रश्न अहिले स्थानीयस्तरमा उठिरहेको छ।
यता, घटनाबारे गाउँपालिका, वडा कार्यालय तथा ठेकेदार पक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।







