महाेत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीका दोस्रो पुस्ताका नेताहरू मधेस प्रदेशका आठवटै जिल्लामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम लिएर मधेस यात्रामा निस्कने भएका छन्।
राप्रपा सांसद कुश्बु ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार पार्टीको नयाँ सोच, ऊर्जा र राजनीतिक दृष्टिकोणसहित नेताहरूले मधेसका विभिन्न जिल्लामा स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकसँग भेटघाट र छलफल गर्नेछन्।
यात्राको मुख्य उद्देश्य पार्टीको भावी राजनीतिक दिशा तय गर्ने, संगठनलाई थप सुदृढ बनाउने तथा नयाँ राजनीतिक सम्भावनाबारे विचार आदानप्रदान गर्ने रहेको सांसद ओलीले बताएकी छन्।
उनले नेपालको समकालीन राजनीति विश्वास र नेतृत्वको संकटबाट गुज्रिरहेको उल्लेख गर्दै विभिन्न राजनीतिक दल तथा नेतृत्वप्रति नागरिकको भरोसा कमजोर हुँदै गएको बताएकी छन्। यस्तो अवस्थामा विश्वासयोग्य राजनीतिक शक्ति र सुदृढ संस्थागत राजनीतिक संस्कार निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ।
राप्रपाले हिन्दुराष्ट्रको पुनर्स्थापना, राष्ट्रिय पहिचानको संरक्षण, सुशासन, आर्थिक विकास र राजनीतिक स्थिरतालाई आफ्नो राजनीतिक अभियानको मुख्य आधार बनाएको उनले उल्लेख गरेकी छन्।
मधेस यात्राअन्तर्गत मंसिर १ गते सप्तरी र सिरहा, मंसिर २ गते धनुषा र महोत्तरी, मंसिर ३ गते सर्लाही र रौतहट तथा मंसिर ४ गते बारा र पर्सामा कार्यक्रम सञ्चालन गरिनेछ।
आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना हुँदैछ। महाधिवेशनको पूर्वतयारी तथा संगठनात्मक गतिविधिलाई तीव्रता दिने उद्देश्यले मधेस यात्रा गर्न लागिएको हो।
यसैबीच, पार्टीबाहिर रहेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई समेत भेटघाट र अन्तरक्रियामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ। नयाँ पुस्ताको नेतृत्वमा पार्टीको नयाँ राजनीतिक अध्याय निर्माण गर्ने अभियानमा मधेसका नागरिकलाई सहभागी हुन सांसद ओलीले आग्रह गरेकी छन्।







