रामगाेपालपुर । महोत्तरीको रामगोपालपुर बजारमा चाडपर्वको समयमा समेत उचित व्यवस्थापन हुन नसक्दा व्यापारी, उपभोक्ता तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। दशैँ, दीपावली तथा छठजस्ता प्रमुख चाडपर्वका बेला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढे पनि पार्किङ, व्यापारिक सामग्री व्यवस्थापन र सरसफाइमा सम्बन्धित निकायले पर्याप्त ध्यान दिन नसकेको स्थानीयको गुनासो छ।
बजार क्षेत्रमा पार्किङको उचित व्यवस्था नहुँदा सवारीसाधन राख्न समस्या भइरहेको छ भने सडक तथा सडकपेटीमै ठेला, पसल र व्यापारिक सामग्री राखेर बिक्री गर्नुपर्ने अवस्था छ। यसले पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ हुनुका साथै सवारीसाधनको आवागमनसमेत प्रभावित बनेको छ। बजारमा किनमेल गर्न आउने उपभोक्ताले सहज रूपमा सामान खरिद गर्नसमेत कठिनाइ भोग्नुपरेको छ।

oplus_144703488
केही महिनाअघि रामगोपालपुर नगरपालिकाले बजार सौन्दर्यीकरण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक अतिक्रमण गरी बनाइएका घरटहरा तथा सडकपेटीमा राखिएका व्यापारिक सामग्री हटाएको थियो। नगर प्रहरीको सहयोगमा सडक किनार खाली गराइएपछि बजार व्यवस्थित हुने अपेक्षा गरिएको थियो। तर, पछिल्लो समय पुनः सडक किनारमा ठेला तथा विभिन्न पसल राखेर व्यापार सञ्चालन गर्न थालिएपछि बजारको अवस्था फेरि अव्यवस्थित बन्दै गएको छ।स्थानीयका अनुसार बजार व्यवस्थापनका लागि गरिएको अतिक्रमण हटाउने अभियान दीर्घकालीन रूपमा प्रभावकारी हुन सकेको छैन। केही समय सडक खाली गराइए पनि नियमित अनुगमन र व्यवस्थापनको अभावमा पुनः सडक तथा पेटी अतिक्रमण हुने क्रम बढेको छ।
विशेषगरी चाडपर्वका बेला बजारमा किनमेल गर्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले सवारी पार्किङका लागि निश्चित स्थान तोक्नुपर्ने, ठेला तथा पसल सञ्चालनका लागि छुट्टै क्षेत्र निर्धारण गर्नुपर्ने र सडकपेटी पैदल यात्रुका लागि खाली राख्नुपर्ने स्थानीयको माग छ।
बजारबाट विभिन्न शीर्षकमा आम्दानी लिने सम्बन्धित निकायले बजार व्यवस्थापन, सरसफाइ र व्यवस्थित व्यापारिक वातावरण निर्माणमा पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने स्थानीयको भनाइ छ। बजार व्यवस्थापनको जिम्मेवारी कसले लिने र सडक अतिक्रमण नियन्त्रणमा कसले नियमित निगरानी गर्ने भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

oplus_144703488
चाडपर्वको समयमा मात्रै नभई वर्षभरि नै बजारलाई व्यवस्थित, सफा र सुरक्षित बनाउन दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको धारणा छ। बजार व्यवस्थापनका लागि नगरपालिका, नगर प्रहरी, व्यापारी तथा स्थानीयवासीबीच समन्वय गरी ठोस कार्ययोजना बनाउनुपर्ने देखिन्छ।
चाडपर्वमा बजारबाट राजस्व उठाउने मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने जिम्मेवारी पनि सम्बन्धित निकायले लिनुपर्ने स्थानीयको माग छ।







