गोपाल झा , महोत्तरी माघ २७ गते
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर पुगेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश केन्द्रित चुनावी यात्रामा रहेका बालेन्द्र साह जनकपुरबाट जलेश्वर हुँदै सिधै एकडारा गाउँ आफ्नो पुर्ख्यौली घर पुगेर कुलदेबतालाई ढोगेका हुन् ।
यसअघि बालेन जनकपुरबाट धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम तय गरिएको थियो । तर, सुरक्षा कारण देखाउँदै अन्तिम समयमा रुट परिवर्तन गरिएको रास्वपाले जनाएको छ । रुट परिवर्तनपछि उनी जनकपुरबाट जलेश्वरको बाटो प्रयोग गर्दै सिधै एकडारा पुगेका थिए ।

महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि पुग्दा बालेनले गाडीमै बसेर पार्टीको चुनाव चिह्न ‘घन्टी’ बजाउँदै मतदातालाई अभिवादन समेत गरे । उक्त क्रममा उनले कुनै औपचारिक सम्बोधन भने गरेनन् । स्थानीय बासिन्दाले सडक छेउबाट हात हल्लाउँदै उनको भब्य स्वागत गरेका थिए ।
त्यसपछि बालेन आफ्नो पुर्ख्यौली घर पुगेका थिए । घरमा पुगेर उनले आफ्नो कुलदेउतालाई ढोग्दै परम्परागत संस्कार पूरा गरेका थिए । एकडारा गाउँपालिका कार्यालयसमेत रहेको उक्त घरका दुई वटा कोठा हाल बालेनकै परिवारले प्रयोग गर्दै आएको छ ।
रास्वपाका महोत्तरी जिल्ला सभापति शुभम् कुमार यादवका अनुसार बालेन सम्सीको बाटो हुँदै गौशाला पुगेका थिए । त्यहाँबाट तय रहेको कार्यक्रम आनुसार उनी आजै बर्दिवास पुगेका छन् । यादवका अनुसार धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर पुग्ने पूर्वनिर्धारित रुट सुरक्षाका कारणले रद्द गरिएको हो ।
यसै क्रममा बल्वा सरपल्लो पुग्ने कार्यक्रमसमेत स्थगित गरिएको छ । जलेश्वर आइपुग्दा बालेनले जलेश्वरनाथ महादेवको मन्दिरअगाडि गाडीबाटै ढोग गर्दै धार्मिक आस्थाप्रति सम्मान प्रकट गरेका थिए ।
रास्वपाले मधेश प्रदेशमा चुनावी गतिविधिलाई तीव्र बनाइरहेको बेला बालेन्द्रको महोत्तरी आगमनलाई पार्टीको चुनावी अभियानका रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ । विशेषगरी महोत्तरी क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार उज्ज्वल झाको पक्षमा जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो यात्रा केन्द्रित रहेको बताइएको छ









































































































