बारा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा–२ मा लगातार तीन पटक निर्वाचित हुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो वर्चश्व कायम गरेको छ । यस पटक भने यो निर्वाचन क्षेत्रमा जसपा नेपालको गढ भत्काउन नेपाली कांग्रेस, नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीले आ–आफ्नै अनुकूल हुने गरी रणनीति बनाएको देखिन्छ ।
२०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । २०७९ मा निर्वाचित भएलगत्तै यादव उपराष्ट्रपति बनेपछि यस क्षेत्रमा २०८० वैशाखमा भएको उपनिर्वाचनमा जसपा नेपालकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । त्यसैले पनि यो क्षेत्रमा जसपा नेपाल बलियो प्रतिस्पर्धी मानिएको हो ।
फागुन २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट जसपा नेपालका रामकिशोर यादव, नेपाली कांग्रेसका भैयाराम यादव, नेकपा एमालेका बलबिर चौधरी, नेपाली कम्युनिस्ट पार्टीका रमेश यादव, रास्वपाका चन्दन सिंह, जेनजी आन्दोलनपछि गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहा लगायत उम्मेदवार छन् ।
२०७४ र २०७९ को निर्वाचनमा जस्तो यसपटक मधेसवादी दलहरूप्रति मतदाता खासै उत्साहित छैनन् भने नेपाली कांग्रेसभित्र जिल्ला तहमा ठुलो अन्तरविरोध र कलह छ । कुनै संगठन नभएको रास्वपाका बारेमा भित्री मधेसका पुराना मतदाता बेखबर छन् ।
रास्वपाले बारा–२ मा ममता शर्माको टिकट खोसेर अन्तिम समयमा चन्दनकुमार सिंहलाई उम्मेदवार बनाएपछि रास्वपाभित्रको एउटा समूह असन्तुष्ट छ । ठुला र नयाँ दलभित्रको अन्तरकलहको फाइदा उठाउने दाउमा प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपाका उम्मेदवार देखिन्छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार कुशवाहा २०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित सदस्य हुन् । उनी ०८० वैशाखमा सम्पन्न उपनिर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवारसँगको प्रतिस्पर्धामा सम्मानजनक मत ल्याउन सफल भएका थिए । यता नेकपाका उम्मेदवार रमेश यादव राष्ट्रिय सभा सदस्य रहिसकेका छन् ।
- जनता लहडको पछि नलाग्ने जसपा नेपालको दाबी
जसपा नेपालका उम्मेदवार रामकिशोर यादवले राजनीतिमा नीति तथा सिद्धान्त मुख्य कुरा भएको बताए । उनले मधेसी, जनजाति, थारु, आदिवासी, दलित, मुस्लिमका मुद्दाहरू नै आफ्नो पार्टीको मुख्य एजेण्डा भएको प्रस्ट पारे ।

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवका दाजुसमेत रहेका रामकिशोर २०७० पछिका निर्वाचनमा उम्मेदवार रहँदै आएका छन् । उनले गजेन्द्रनारायण सिंहसँग नेपाल सद्भावना पार्टीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए ।
बारा–१ मा उनले २०७० को निर्वाचनमा फोरम गणतान्त्रिकबाट चुनाव लडेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका रामअयोध्या यादवसँग पराजित भएका थिए । २०७० पछि उनी जनता समाजवादी पार्टीमा प्रवेश गरे । २०७४ मा बारा–२ मा उम्मेदवार बन्ने तयारी गरेका उनलाई पार्टीले क्षेत्र नं ३ मा उम्मेदवार बनाउने भएसँगै विद्रोह गरेर राजपाबाट बारा क्षेत्र नं १ मा उम्मेदवार भएका थिए । सो क्षेत्रमा पनि उनी कांग्रेस उम्मेदवार उमाकान्त चौधरीसँग पराजित भए । रामकिशोर गत उपनिर्वाचनमा उपेन्द्र यादवलाई जिताउनेमध्येका मुख्य पात्र हुन् ।
बालेन शाह मधेस छिरेपछि मधेसवादी दलहरू त्रसित देखिएको भन्ने टिप्पणी गलत भएको बताउने रामकिशोर मधेसका जनता लहडको पछाडि नलाग्ने दाबी गर्छन् । ‘बालेन शाहले बेरोजगार मधेसीहरूलाई सफाइको नाममा लखेटेको हामीले हेरेका छौँ । उहाँले महानगरको बजेट खर्च गर्न सक्नुभएन,’ उनले भने, ‘उहाँ व्यक्तिगत रूपमा सेलिब्रेटी युवा हुनुहुन्छ, तर राजनीतिमा अनुभवी होइन ।’
- पार्टीभित्रकै कलहले कांग्रेसका उम्मेदवारलाई चुनौती
बारा–२ मा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादव पार्टीभित्रैबाट समस्यामा परेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले यस क्षेत्रका सबै पुराना नेताहरूलाई पाखा लगाएर गैरसरकारी संस्था चलाउँदै आएका यादवलाई टिकट दिएको छ । गगन थापा नेतृत्वले पुराना र निरन्तर पार्टीलाई योगदान पु¥याएका नेताहरूलाई पूरै पाखा लगाएको बताउँछन् बारा–२ का क्षेत्रीय सभापति रामप्रवेश यादव ।

‘आजको दिनसम्म पनि हाम्रो सभापति शेरबहादुर देउवा नै हो । उहाँको निर्देशन विपरीत हामी जान सक्दैनौँ,’ यादवले भने, ‘विशेष महाधिवेशनलाई हामी मान्दैनौँ । पार्टीमा ४०औँ वर्ष योगदान गरेर अवसर नपाएका नेता, कार्यकर्तालाई पाखा लगाएर गगन थापाले टिकट दिएको व्यक्तिलाई हामी उम्मेदवार मान्दैनौँ ।’
बारा जिल्लामा ६० देखि ७० प्रतिशत कांग्रेस नेता–कार्यकर्ता शेरबहादुर देउवा समूहका रहेको क्षेत्रीय सभापति यादवको दाबी छ । आफूहरू अदालतको आदेश पर्खेर बसेको यादव बताउँछन् ।
यता बारा–२ का प्रभावशाली नेता राधेचन्द्र यादव पनि भैयारामको साथमा छैनन् । राधेचन्द्र २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ४ कार्यकाल बारा जिल्लाका सभापति भइसकेका व्यक्ति हुन् ।
पार्टीभित्रबाट ठुलो असहयोग भएपछि कांग्रेस उम्मेदवार भैयारामको चुनावी कार्यक्रममा समेत उत्साह देखिँदैन ।
कांग्रेस उम्मेदवार भैयाराम भने कार्यकर्ताहरू उत्साहित भएर क्रियाशील भएको दाबी गर्छन् । ‘मैले बारा–२ मा २७ वर्षदेखि सामाजिक अभियन्ताको रूपमा काम गरेको छु, समाजलाई बुझेको छु,’ उनले भने, ‘गरिब, दलित सबैको मर्म र भावनालाई बुझेको छु । यसपटक नेपाली कांग्रेस पहिलो दल हुनेछ र गगन थापाको नेतृत्वमा सरकार बन्दैछ । यसका लागि सबै कांग्रेस कार्यकर्ता जुर्मुराएर लागेका छन् ।’
- जेनजी आन्दोलनको भावनालाई सम्मान गर्न वैकल्पिक शक्ति बनायौँ : कुशवाहा
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै आफूहरूले वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा सहभागी भएको दाबी गरेका छन् ।

माओवादी पार्टीभित्र सामाजिक न्यायका लागि बोलिरहँदा आफूहरूको आवाजलाई कुण्ठित गरेर राख्ने काम भएकाले पार्टीमा विद्रोह गर्नुपरेको उनले सुनाए । जनता आधारभूत सुविधाबाट वञ्चित रहेको गुनासो गर्दै उनले जनतालाई सहज सेवा प्रवाह र देशमा सुशासन कायम गर्नु नै आफ्नो मुख्य एजेण्डा रहने प्रस्ट पारे ।
उनले रास्वपासँग कुनै सिद्धान्त, विचार र दर्शन नरहेको प्रस्ट पारे । ‘यो हावाको लहरजस्तै आएको पार्टी हो,’ उनले भने, ‘एमाले, माओवादी लगायतका पार्टीमा त मेरो पनि योगदान र लगानी छ । कम्युनिस्ट आन्दोलनमा मेरो धेरै लगानी छ । यद्यपि एमाले र माओवादीमा मैले आत्मसम्मान पाइनँ ।’
आफूले राजनीतिक जीवनमा विभिन्न राजनीतिक दलमा रहेर गरेका योगदानलाई जनताले राम्रोसँग बुझेको कुशवाहाको दाबी छ । सोही आधारमा पनि विभिन्न दलका कार्यकर्ताले आफूलाई रुचाएको उनले बताए । ‘यहाँका मतदाताले जनपक्षीय उम्मेदवार चाहेका थिए,’ उनले भने, ‘जनताको त्यो चाहना अनुसार मैले आफूलाई सही ठाउँमा पाएको छु ।’
- चुनाव जितेर जानेले केही गर्न नसकेको एमालेको आरोप
नेकपा एमाले उम्मेदवार बलबिर चौधरीले यसअघि निर्वाचित भएर गएका सांसदहरूले बारा–२ मा कुनै काम नगरेको आरोप लगाए । उनले बारा–२ मा पुल, सडक, सिँचाइ, मलखाद, बजारीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्यको ठुलो समस्या भएको जिकिर गर्दै ती समस्या समाधानका लागि यसपटक जनताले आफूलाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनपछि जनताको मनोबल कमजोर भएकाले त्यसलाई उकास्न आफूले उम्मेदवारी दिएको चौधरीको भनाइ छ । उनले बारा क्षेत्र नं २ मा धार्मिक पर्यटनको सम्भावना भएकाले यसलाई प्रभावकारी बनाउने बताए । यस क्षेत्रमा विश्वप्रसिद्ध गढीमाई मन्दिर छ ।
२०७९ को निर्वाचनमा बारा–२ मा नेकपा एमालेले करिव ९ हजार २०४ मत ल्याएको थियो ।
- हाम्रो चुनावी एजेण्डा परिवर्तन हो : रास्वपा उम्मेदवार सिंह
रास्वपा उम्मेदवार चन्दनकुमार सिंह जनताले परिवर्तन खोजेको जिकिर गर्दै सोही भावना अनुसार मधेसवादी दल त्यागेर आफूले रास्वपाबाट उम्मेदवारी दिएको बताउँछन् ।
सिंहले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो मुख्य प्रतिस्पर्धा जसपासँग भएको टिप्पणी गरे । ‘यहाँ प्रतिस्पर्धा सबै दलहरू बिच छ । म कति अगाडि छु भन्ने कुरा मतदानका क्रममा जनताले बताउने कुरा हो,’ उनले भने, ‘हाम्रो चुनावी एजेण्डा भनेको परिवर्तन हो । पुरानो दललाई भोट दिएर हामी थाकिसकेका छौँ भन्ने जनताको पीडा छ ।’

सिंह २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट देवताल गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए । ५ वर्ष पालिकाको नेतृत्वपछि बिचमा मौन बसेका सिंह अहिले रास्वपाबाट बारा–२ मा उम्मेदवार छन् । रास्वपाबाट ममता शर्माको टिकट निश्चित भइसकेको बारा–२ मा अन्तिम समयमा सिंहले टिकट पाएका हुन् ।
२०७९ को निर्वाचनमा बारा–२ मा रास्वपाले समानुपातिक मत २ हजार ८ सय प्राप्त गरेको थियो । ०७९ मा यो क्षेत्रमा नेपाल प्रहरी संगठनमा पूर्वडीआईजीसमेत रहेका रमेश खरेल उम्मेदवार थिए ।
बारा–२ यादवहरूको बाहुल्य क्षेत्र हो । हालसम्म यहाँ रास्वपाको खासै चर्चा देखिँदैन, तर सिंह पालिका प्रमुख भइसकेकाले पार्टीगत र केही व्यक्तिगत मत ल्याउने अन्य दलको टिप्पणी छ ।
- कमजोर संगठनका बाबजुद व्यक्तिगत प्रभावले भोट तान्ने प्रयासमा नेकपाका उम्मेदवार
बारा–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बलियो संगठन नभए पनि उम्मेदवार रमेश यादवको आफ्नै प्रभाव देखिन्छ । यादव समुदायमा आफ्नो प्रभाव राम्रो भएको उनको दाबी छ । महिन्द्र राय यादव नेत्तृवको नेपाल समाजवादी पार्टीका महामन्त्रीका रूपमा काम गरेका उनी पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् ।

‘मैले बारा–२ मा २५ करोड लागतको सिँचाइ आयोजना निर्माण गरेको छु । यहाँका जनताको भावना मैले बुझेको छु,’ उनले भने, ‘चुनावी प्रतिस्पर्धामा म सबैभन्दा अगाडि छु, पछाडि को–को छन् भन्ने उनीहरूलाई नै थाहा होला ।’
उम्मेदवार यादवले आफ्नो चुनावी एजेण्डा संविधान र संघीयताको रक्षा गरेर सुशासन कायम गर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताए ।
बारा–२ को भूगोल
बारा–२ को प्रदेशसभा तर्फ ‘१’ र ‘२’ दुवैमा जसपा नेपालकै निर्वाचित जनप्रतिनिधि (शारदा शंकरप्रसाद कलवार र बच्चा राउत) छन् । बारा–२ मा १ लाख १३ हजार मतदाता छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत ५ वटा स्थानीय तह र ४४ वटा वडा पर्दछन् । जसमा देवताल, पचरौता, करैयामाई गाउँपालिका, गढीमाई र कोल्हवी नगरपालिकाको वडा नं ८ पर्दछ ।

करैयामाई र देवताल गाउँपालिकामा जसपाको नेतृत्व छ । गढीमाई र कोल्हवी नगरपालिकामा कांग्रेस र पचरौतामा एमालेको नेतृत्व छ ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार बारा–२ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ जसपा नेपालले १३ हजार २५६ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले ११ हजार १९७, नेकपा एमालेले ९ हजार २०४ र जनमत पार्टीले ७ हजार ३९७ मत प्राप्त गरेका थिए ।
२०८० वैशाख १० गते भएको उपनिर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव र सीके राउत नेतृत्वको जनमत पार्टीको उम्मेदवार शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा थिए । त्यतिबेला गठबन्धनका उम्मेदवार यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गरेका थिए । उनै कुशवाहा अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार छन् ।सभार राताेपाटी








































































































