बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित करिब ६.२ अर्ब अमेरिकी डलर (नेपाली रुपैयाँमा करिब ९ खर्ब ४२ अर्ब) बराबरको सम्पत्ति बंगलादेश सरकारले जफत गरेको जनाएको छ। नयाँ सरकारले भ्रष्टाचार र अवैध सम्पत्ति आर्जनविरुद्धको अभियानलाई तीव्र बनाउँदै यो कदम चालेको हो।
गत फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनपछि सत्तामा आएको तारिक रहमान नेतृत्वको सरकारले हसिनासँग सम्बन्धित सम्पत्ति नियन्त्रणमा लिएको जनाएको छ। सरकारी निकायका अनुसार हसिनाले आफ्नो करिब १५ वर्ष लामो शासनकालमा अवैध माध्यमबाट ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको आरोप छ। सोही आरोपका आधारमा अनुसन्धान अघि बढाउँदै सम्पत्ति जफत गरिएको बताइएको छ।
बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) ले सार्वजनिक गरेको विवरणअनुसार हसिनाको देशभित्र रहेको करिब ५७० अर्ब टका बराबरको सम्पत्ति तथा विदेशमा रहेको १९० अर्ब टका बराबरको सम्पत्ति जफत गरिएको हो। जफत गरिएका सम्पत्तिमा बैंक खातामा रहेको रकम, विभिन्न कम्पनीमा गरिएको लगानी, अचल सम्पत्ति, व्यावसायिक प्रतिष्ठान तथा अन्य आर्थिक सम्पत्ति समावेश रहेको जनाइएको छ।
सरकारले हसिनाको सम्पत्तिको स्रोतबारे विस्तृत अनुसन्धान जारी रहेको पनि जनाएको छ। अवैध रूपमा आर्जन गरिएको ठहर भएका सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याइने प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूको भनाइ छ।
शेख हसिना गत वर्ष देशव्यापी राजनीतिक आन्दोलनपछि सत्ताच्युत भएकी थिइन्। आन्दोलन चर्किएपछि उनले बंगलादेश छोडेकी थिइन् र त्यसयता विदेशमै बस्दै आएकी छन्। पछिल्ला केही दिनअघि उनले यही वर्षको अन्त्यसम्म बंगलादेश फर्किने घोषणा गरेकी थिइन्। उनको उक्त घोषणाको केही दिनमै सरकारले विशाल परिमाणको सम्पत्ति जफत गरेको समाचार सार्वजनिक भएपछि बंगलादेशको राजनीतिक वृत्तमा यसको व्यापक चर्चा सुरु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हसिनाविरुद्ध भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा शक्ति दुरुपयोगसँग सम्बन्धित विभिन्न अनुसन्धान पनि अघि बढिरहेका छन्। सरकारले पूर्वशासकहरूमाथि आर्थिक अनियमितताको छानबिनलाई प्राथमिकतामा राखेको जनाएको छ।
विश्लेषकहरूले यो कदमलाई बंगलादेशको पछिल्लो राजनीतिक परिवर्तनसँग जोडेर हेरेका छन्। नयाँ सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएको दाबी गर्दै पूर्वशासनकालमा भएका आर्थिक गतिविधिको विस्तृत समीक्षा गरिरहेको छ।
यद्यपि, शेख हसिनाको पक्षबाट भने सम्पत्ति जफत गर्ने निर्णयबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उनका समर्थकहरूले भने सरकारको कदम राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाउँदै आएका छन्। उता सरकारले भने सबै प्रक्रिया कानुनी आधारमा अघि बढाइएको र अनुसन्धानको निष्कर्षका आधारमा मात्रै सम्पत्ति जफत गरिएको स्पष्ट पारेको छ।
हसिनाको सम्भावित स्वदेश फिर्ती, उनीमाथिका कानुनी प्रक्रिया र जफत गरिएका सम्पत्तिको अन्तिम अवस्थाले आगामी दिनमा बंगलादेशको राजनीतिक तथा कानुनी वातावरणलाई थप प्रभावित पार्ने अपेक्षा गरिएको छ।







