
जनकपुरधाम, वैशाख २१ । मधेश आन्दोलनका शहीद परिवारहरु मधेश सरकार विरुद्ध आन्दोलित भएका छन । शहीद परिवारलाई रोजगारी सहितको मांग गर्दै उनिहरुले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्ना दिएका छन ।
विगतको सरकारले एक शहीद परिवार, एक रोजगार कार्यक्रममार्फत शहीद परिवारका व्यक्तिलाई रोजगारी दिएपनि जनमत नेतृत्वको वर्तमान सरकारले हटाउने प्रक्रिया अगाडि बढाएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।
मधेसी शहीद प्रतिष्ठानको रिक्त पदमा सदस्य नियुक्त गर्नुपर्ने, हरेक शहीद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर धर्ना दिएको बाराका शहीद परिवारका अवधेशप्रसाद पट्टेलले बताए । उनले गत फागुनमै प्रतिष्ठानमा दुई सदस्य पद रिक्त भएपनि प्रदेश सरकारले हालसम्म सदस्य नियुक्त गर्न चासो नै नदेखाएको आरोप समेत लगाएका छन ।
उनले सदस्य पदको नियुक्तिका लागि निवेदन दिएर मुख्यमन्त्री र मन्त्रीसँग भेटघाट गर्दा एक हप्ताको समय मागेकोमा अहिलेसम्म यसका कुनै चासो नलिएको उनले बताए ।







