गोपाल झा ,महोत्तरी, असार २१ गते
महोत्तरी जिल्लाको बलवा नगरपालिका औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका नागरिकमध्ये ९६.४३ प्रतिशतले साक्षरताको मापदण्ड पूरा गरेपछि आइतबार आयोजित विशेष समारोहबीच नगरपालिकालाई साक्षर घोषणा गरिएको छ ।
नगरपालिकाको तथ्यांकअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कुल २८ हजार ११९ जनामध्ये २७ हजार ११५ जना साक्षर बनेका छन् । निर्धारीत मापदण्ड अनुसार ९५ प्रतिशतभन्दा बढी साक्षरता हासिल गरेपछि बलवा नगरपालिकाले साक्षर नगरपालिकाको मान्यता प्राप्त गरेको हो ।
रतौली युवा क्लब, सेभ द चिल्ड्रेन तथा आसमान नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको साक्षरता अभियानलाई सफल बनाउन नगरपालिकाले विशेष रणनीतिका साथ काम गरेको थियो । अभियान सफल बनाउन नगरभित्र रहेका २४ वटा विद्यालयका शिक्षक तथा माध्यमिक तहका विद्यार्थीहरूलाई समुदायस्तरमा परिचालन गरिएको थियो । उनीहरूले घरदैलोमा पुगेर निरक्षर नागरिकलाई पढ्न, लेख्न तथा आधारभूत गणना सम्बन्धी सीप सिकाएका थिए ।
अभियान सुरु हुनुअघि नगरपालिकाले सबै वडामा निरक्षर नागरिकहरूको विस्तृत तथ्यांक संकलन गरी सोही आधारमा सिकाइ कार्यक्रम सञ्चालन गरेको जनाईएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरताका १२ सूचकमध्ये कम्तीमा ६ वटा सूचक पूरा गर्नुपर्ने मापदण्डअनुसार शिक्षकहरूको प्रत्यक्ष निगरानी र निर्देशनमा विद्यार्थीहरूले समुदायमा पुगेर सिकाइ अभियान सञ्चालन गरेका थिए । त्यसपछि गरिएको मूल्यांकनमा आवश्यक मापदण्ड पूरा भएपछि क्रमशः सबै वडालाई साक्षर घोषणा गरिएको छ ।
नगरप्रमुख रामविजय महतोको अध्यक्षता तथा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य श्रीमती सुरीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा घोषणा–पत्र वाचन गर्दै प्रमुख अतिथि साहले बलवा नगरपालिकालाई औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै नगरपालिकाको प्रशंसा गरेकी छिन् । उनले साक्षर घोषणा अन्तिम उपलब्धि नभई गुणस्तरीय शिक्षातर्फको नयाँ यात्रा भएको उल्लेख गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर सुधार, विद्यालयको शैक्षिक वातावरण सुदृढीकरण तथा शिक्षामा थप लगानी गर्न आग्रह गरेकी छिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, , सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षा संयोजक राजकिशोर झाले गरेका थिए । उद्घोषणाका क्रममा उनले बलवा नगरपालिकालाई साक्षर घोषणा गर्न सञ्चालन गरिएको अभियानका सम्पूर्ण गतिविधिबारे विस्तृत जानकारी गराएका थिए । उनले नगरपालिकाभित्र रहेका २४ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूसँग नियमित समन्वय र सहकार्य गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए ।
झाका अनुसार प्रत्येक विद्यालयलाई आफ्नो सेवा क्षेत्रभित्र रहेका निरक्षर नागरिकको पहिचान, उनीहरूको नियमित सिकाइ, प्रगतिको अनुगमन तथा मूल्यांकनको जिम्मेवारी दिइएको थियो । शिक्षक, विद्यार्थी, वडा कार्यालय, जनप्रतिनिधि तथा समुदायबीच निरन्तर समन्वय र सहकार्य भएकै कारण अभियान सफल भएको उनले बताए । उनले विद्यार्थीहरूको सक्रिय सहभागिता, शिक्षकहरूको समर्पण र स्थानीय समुदायको सकारात्मक सहयोगले बलवा नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य निर्धारित समयमै पूरा गर्न सम्भव भएको उल्लेख गरेका हुन् ।
कार्यक्रममा वक्ताहरूले शिक्षा शाखा प्रमुख राज किशोर झाले अभियानको योजना निर्माण, विद्यालयसँगको समन्वय, अनुगमन तथा व्यवस्थापनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए ।
साक्षर घोषणा पश्चात् पनि नगरपालिकाले निरन्तर सिकाइ, डिजिटल साक्षरता, पुस्तकालय विकास, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा जीवन उपयोगी शैक्षीका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । स्थानीय सरकार, विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यले शिक्षा क्षेत्रमा बलवा नगरपालिकाले एउटा उदाहरणीय उपलब्धि हासिल गरेको सहभागीहरूले बताएका छन् ।






