Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मधेशमा मध्य जेठसम्म जम्मा २० प्रतिशत बजेट खर्च

प्रतिक्षा खबर
२०८१ जेष्ठ १६, बुधबार १८:४२

१४ जेठ, जनकपुरधाम । चालु आर्थिक वर्ष २०८०/०८१ को डेढ महिना मात्र बाँकी रहँदा मधेश सरकारले कुल बजेटको २१ प्रतिशत मात्र खर्च गरेको छ । त्यसमा पनि अधिकांश हिस्सा चालु खर्चको छ ।
मधेश सरकारले चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएकामा १३ जेठसम्ममा ९ अर्ब १ करोड ४८ लाख १७ हजार ९६१ रुपैयाँ मात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कुल बजेटको २०.४३ प्रतिशत मात्र हो ।
चालुतर्फ (कर्मचारीको तलब भत्तालगायत अन्य साधारण खर्च) छुट्याइएको १८ अर्ब ५४ करोड ५८ हजारमध्ये १३ जेठसम्म ४ अर्ब ८८ करोड ५३ लाख ४१ हजार ८५३ रुपैयाँ ८३ पैसा खर्च भएको छ ।
पुजीगँत (विकास निर्माण) तर्फ २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार बजेट छुट्याएकामा ४ अर्ब १२ करोड ९४ लाख ७७ हजार १०७ रुपैयाँ ७८ पैसा खर्च भएको लेखा नियन्त्रण कार्यालय प्रमुख वीरेन्द्र मिश्रले जानकारी दिए ।
प्रदेशमा आर्थिक वर्षको अन्ततिर मात्र योजना कार्यान्वयन गर्ने प्रवृत्ति छ । साउन महिनामा नै बजेटको अख्तियारी पाइसकेपछि खरिद योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा त्यसो नगरी हेलचेक्र्याइँ हुने गरेको अर्थ मन्त्रालयका एक कर्मचारीको तर्क छ
‘साउनमा बजेट खर्चको अख्तियारी आउँछ । त्यसबेला नै खरिद योजनामा कुन योजना कहिले कार्यान्वयन गर्ने, कहिले टेन्डर वा सम्झौता गर्ने, मूल्यांकन, अवधिसहित तय गर्नुपर्छ । तर मधेशका मन्त्रालय र निकायहरुमा त्यो कुरा हुन्न’, ती कर्मचारी भन्छन्, ‘मंसिरपछि मात्र हतार हतारमा योजना कार्यान्वयन गर्ने प्रवृत्ति छ । योजनाबद्ध रुपमा काम नहुँदा बजेट खर्च चुनौतीपूर्ण बनेको हो ।
चालु आर्थिक वर्षमा मात्र होइन अघिल्ला वर्षहरूमा पनि मधेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँको बजेट ल्याएकामा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा खर्च भएको थियो । कुल बजेटको ४२.५८ प्रतिशत खर्च नभई फ्रिज भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा पनि मधेश सरकारले कुल बजेटको आधार रकम मात्र खर्च गरेको थियो । त्यस वर्ष ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार रुपैयाँको बजेट ल्याएकामा १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष ०७७/ ७८ मा ३४ अर्ब ७० करोड ४३ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएकामा ६५.५६ प्रतिशत बजेट खर्च भएको थियो ।
मुख्यमन्त्री सरोजकुमार यादवले चालु आर्थिक वर्षमा सरकार अस्थिर हुँदा बजेट खर्च अपेक्षा अनुसार हुन नसकेको स्वीकार गर्छन् ।
‘यो वर्ष सरकार अस्थिर रह्यो । पटक पटक विश्वासको मत लिनुपर्‍यो । त्यसकारण अपेक्षाकृत बजेट अहिलेसम्म खर्च हुन सकेन’, उनले भने ।
तर अहिले धेरै योजनाहरु कार्यान्वयनमा रहेको र त्यसको भुक्तानी बाँकी नै रहेकाले ठूलो मात्रामा बजेट खर्च हुने उनको विश्वास छ ।
मधेशका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र शिवाकोटीले बजेट निर्माणका क्रममा उद्देश्य स्पष्ट नराख्दा कार्यान्वयन कमजोर भएको बताए ।
बजेट माग गर्ने निकायमा जनशक्तिको अभाव र योजना नै अस्पष्ट भएका कारण बजेट कार्यान्वयन चुनौती बनेको शिवाकोटीको भनाइ छ ।
प्रदेश सरकारहरुको मुख्य आयस्रोत संघीय सरकारले दिने अनुदान रहेको र त्यस्तो रकम समयमा नै प्रदेशले पाउन नसक्दा बजेट कार्यान्वयन हुन नसकेको अर्थशास्त्री इन्दुशेखर मिश्रले बताए ।
‘प्रदेशहरुको आम्दानीको मुख्य स्रोत संघ सरकारबाट प्राप्त हुने अनुदानहरु हुन् । प्रदेशको आफ्नो राजस्वको स्रोत कम छ, समयमा प्रदेशहरुमा बजेट ट्रान्सफर नभएको कारणले बजेट कार्यान्वयन कमजोर देखिन्छ’, अर्थशास्त्री मिश्र भन्छन् ।
बजेट खर्च नहुनुको अर्को कारण अस्पष्ट नीति पनि भएको उनको भनाइ छ । ‘खर्च प्रणाली कमजोर छँदै छ । निश्चित र स्पष्ट नीतिको अभाव छ । राजनीतिक अस्थिरताले नीति योजना, कार्यक्रम कार्यान्वयन स्वभाविक रुपले फितलो हुन गयो नि !’ मिश्र भन्छन् ।
बजेट कार्यान्वयन र विकासको लक्ष्य हासिल गर्न ठूलो संरचनात्मक सुधार आवश्यक पर्ने उनको सुझाव छ ।
अर्थ मन्त्रालयका सचिव शिवाकोटी समयमा बजेट कार्यान्वयन गर्न विगतमा भएको कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउँछन् । तर, त्यसको लागि राजनीतिक नेतृत्व पनि तयार हुनुपर्ने उनको भनाइ छ ।
‘समयमा निर्णय नहुने र ढिलो खर्च हुने । यो दुईटा विषयले हामी कहिल्यै अगाडि बढ्न सक्दैनौं’, शिवाकोटी भन्छन् ‘विगतमा जे कमीकमजोरी देखियो त्यसलाई सुधार गर्न अर्को वर्षका सुधारका लागि हामी प्रयास गर्ने हो । राजनीतिक नेतृत्व पनि यसको लागि तयार हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर