रेडियो स्वागतम
महेन्द्रनगर, असोज २७ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं.५ शान्तिपुरमा आजदेखि तीन दिने कुस्ती प्रतियोगिता शुरु भएको छ । शान्तिपुरस्थित दुर्गा मन्दिर नजिक सो कुस्ती प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन आज एक समारोहका बीच प्रमुख अतिथि प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले गरेका छन् । बटेश्वर गाउँपालिका वडा नं.५ शान्तिपुरका वडाअध्यक्ष शिवकरण यादवको अध्यक्षता तथा भौतिक पूर्वाधार मन्त्री यादवको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा बटेश्वर गाउँपालिकाका प्रमुख डम्बर बहादुर राउत, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारको विशेष उपस्थिति रहेको थियो । यस्तै सो उद्घाटन कार्यक्रममा लोसपाका युवा नेता अजय कुमार राउत, श्याम महतो लगायत स्थानीय खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
सो कुस्ती प्रतियोगितामा विभिन्न जिल्लाका करिव ७० जना कुस्तीका खेलाडी (पहलवान) हरु सहभागिता रहेको आयोजक दुर्गा मेला समितिले जनाएको छ । सो प्रतियोगिता बटेश्वर गाउँपालिका वडा नं. ५ को सहयोगमा संचालन गरिएको बताइएको छ । खेलमा कुस्तीका नामी पहलमान श्याम यादवले खेलाई रहेका छन् ।










































































































