जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न रातभर बसेका करिब ६० वर्षीय पुरुषको हत्या भएको आशंका गरिएको छ। छठ पर्वका लागि पोखरीमा घाट निर्माण गरी रुङ्न बसेका स्थानीय रामजतन यादव (म्यानेजर) सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
प्राप्त जानकारीअनुसार यादव आइतबार छठघाट बनाएपछि राति पोखरीमै एक्लै रेखदेख गर्न बसेका थिए। तर सोमबार बिहान करिब ६ बजे उनी पोखरीमा मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा त्रास र शोकको वातावरण सिर्जना भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी तथा प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार मृतकको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले प्रहार गरी काटिएको जस्तो गम्भीर चोट देखिएको छ। घटनास्थल नजिकै पोखरीको पानीमा परालको कुटी काट्न प्रयोग हुने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरेको थियो। त्यसपछि मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ।
प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिँदै घटनासँग सम्बन्धित आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अवस्था हेर्दा घटना शंकास्पद देखिएको र हत्या भएको आशंकासहित विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिएका छन्।
छठ पर्वको तयारीका क्रममा घाट निर्माण तथा रेखदेख गर्न बसेका व्यक्तिको यसरी ज्यान गएको घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। धार्मिक तथा सांस्कृतिक पर्वको तयारी भइरहेका बेला भएको यस घटनाले गाउँको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।
घटनाको वास्तविक कारण, संलग्न व्यक्तिको पहिचान तथा हत्याको पछाडिको रहस्य भने प्रहरी अनुसन्धानपछि मात्रै खुल्नेछ। प्रहरीले अनुसन्धान जारी रहेकाले थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।







