काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले लुम्बिनी प्रदेशका तीन जना प्रदेश सभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ।
पार्टीको स्पष्ट निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासे र बाँकेका भण्डारी लाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
केन्द्रीय कार्यालयबाट मंगलबार महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्रमार्फत सांसदहरूलाई स्पष्टीकरण मागिएको हो। पार्टीले भदौ १ गते पत्रमार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो। तर निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै सात दिनभित्र स्पष्टीकरण पेस गर्न जानकारी गराइएको थियो।
यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाएको र उठाइएका प्रश्नहरूको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको पार्टीको ठहर रहेको छ। त्यसैले पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टी निर्णय प्रतिकूल हुने गरी सदस्यले कार्य गर्न मिल्ने/नमिल्नेबारे स्पष्ट धारणा र उक्त कार्यलाई पार्टी विधानअनुसार कसरी लिनुपर्ने हो सोबारे २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा स्पष्टीकरण पेस गर्न भनिएको छ।
तोकिएको समयभित्र पुनः स्पष्टीकरण पेस नगरेमा वा पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयबमोजिम आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी पत्रमा दिइएको छ। साथै, पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको व्यहोरासमेत स्मरण गराइएको छ।







