राजगढ (सप्तरी), २५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले देशमै पहिचानको आधारमा आठ जिल्लाको मधेश प्रदेश बनेको भन्दै २२ जिल्लाको मधेश बनाउनका लागि आफुहरुको सङ्घर्ष जारी रहेको बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४, बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अनेकौ चुनौतिका बावजुद पनि आठ जिल्लाको मधेश प्रदेश बनाउन सफल भएको बताउँदै सप्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने ‘देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र हो, अब २२ जिल्लाको मधेश निर्माण गर्नका लागि जसपा नेपाल बलियो शक्ति भएर उदाउनु जरुरी छ ।’
सिमान्तकृत, वहिष्कृत, शोषित, अपमानित एवम् पछाडि पारिएका समुदायको अधिकार, पहिचान, शासन सत्ता, शक्ति, श्रोत साधनमा अवसर न्याय र समानताका लागि नै मधेश जनविद्रोह भएको अध्यक्ष यादवले बताए । राज्यका अ¨हरुमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको बताउँदै उनले भने ‘नेपालको जस्तो महिलाको भागिदारी चीन, अमेरिका, जापान, बेलायतमा समेत छैन, यी सबै परिवर्तन जनविद्रोहबाटै सम्भव भएको हो ।’
सङ्घीयता विरोधी शक्तिहरुले मधेशी, महिला, दलित, जनजाती, आदिवासी, जनजाती, थारु लगायत पछाडि पारिएका समुदायले प्राप्त गरेको अवसर र प्रतिनिधित्व खोस्नका लागि उद्धत रहेको जसपा अध्यक्ष यादवले आरोप लगाए । प्रदेशलाई अधिकारै नदिएर काम गर्न नसकेको, खर्चिलो भयो जस्ता गलत भाष्य निर्माण भइरहेकोले त्यस्ता भ्रमहरुमा नपर्न उनले जनसमुदायसँग आग्रह गरे । मधेशी जनताले कठोर लडाइ लडेर नै देशमा ठूलो परिवर्तन ल्याएको चर्चा गर्दै उनले भने ‘कांग्रेस कम्युनिस्टले मधेशी लगायत शोषित उत्पीडित जनताको हक अधिकार, पहिचान र सम्मान नदिँदा हामीले मधेश विद्रोहबाट परिवर्तन ल्याउन बाध्य पार्यौँ, प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि सङ्घर्ष गर्न आमजनताले प्रतिनिधिसभामा मजबुत शक्ति बनाएर पठाउनु आवश्यक छ ।’
चुनावी छलफल तथा भेंटघाटका क्रममा जसपा नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्यद्वय अमरनाथ मण्डल, चन्देश्वर सदा, समानुपातिक उम्मेदवार, संगिता मण्डल, चुल्हाइ मण्डल, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र यादव, कमलदेव यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डल, शान्ता मेहता, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष महेश कुमार यादव लगायतले आआफ्ना धारणा राखे ।
आइतबारै राजगढ गाउँपालिकाको विभिन्न वडाका टोलहरुमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादव लगायतका नेताहरु सहभागी भएका छन् ।









































































































