Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

प्रतिक्षा खबर
२०८३ भाद्र १३, शनिबार ०८:०१

१३ भदौ, महोत्तरी । मधेशको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु हुने झुला पर्व साउन पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो ।

साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्वमा परम्पराअनुसार विष्णु–लक्ष्मीका प्रतिमा झुलाइन्छ । पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ ।

भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनामा आधारित यो पर्व मिथिलाका मठमन्दिरमा सामूहिकरूपमा मनाइन्छ । विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा अर्थात् एक प्रकारको कलात्मक पिङ) मा राखेर हल्लाउनु यस पर्वको मुख्य विधि हो । श्रद्धालुले झुलाको डोरी समाएर झुला गीत गाउँदै देवदेवीका प्रतिमा हल्लाउने गर्छन् ।

साउन पूर्णिमाको मध्यरात कटेपछि देवदेवीलाई झुलाइने झुलाको डोरी छिनाएर १३ दिने पर्व सम्पन्न गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले जानकारी दिए । उनका अनुसार यो पर्व वैष्णव परम्पराका मठमन्दिरमा मनाइने मिथिलाको पुरानो परम्परा हो ।

मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर तथा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघरको झुला उत्सव प्रसिद्ध छ । यस अवसरमा पायक पर्ने मुख्य मठ तथा मन्दिरमा वरपरका अन्य मठमन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा ल्याएर सामूहिकरूपमा उत्सव मनाउने चलन छ । महोत्तरीमा विभिन्न स्थानका मन्दिरमा रहेका राम–सीता तथा राधा–कृष्णका प्रतिमा मुख्य मठ तथा मन्दिरमा ल्याएर पर्व मनाइन्छ ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिरको झुलाघरमा विशेषरूपमा झुलनोत्सव मनाउने परम्परा रहेको छ । झुलनोत्सवकै लागि निर्माण गरिएको झुलाघरमा लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाउने गरिन्छ । मटिहानीमा नेपाल र भारतका गरी दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएको महन्थ वैष्णवले बताउनुभयो । पर्वभरि साधुसन्त तथा श्रद्धालु केन्द्रमा जम्मा भएर उत्सवमा सहभागी हुने गर्छन् ।

मल्हार र कजरी गीतका लयमा गाउँदै, नाच्दै मनाइने झुलनोत्सव मिथिलाको विशिष्ट लोकपरम्परा भएको मिथिला लोकपरम्पराका जानकार बताउँछन् । मिथिलामा यो उत्सवको परम्परा विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गर्नुभएको विश्वास गरिँदै आएको जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

साउन शुक्लपक्ष मिथिलामा मुख्य बाली धान रोपाइँ सकिएपछिको समय हो । यस समयमा किसानले मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । धानको रोपो हरियो भएर लहलहाएको दृश्यले किसानलाई आफ्नो मेहनतप्रति खुसी बनाउने भएकाले पनि यो समय उत्सव र उल्लासको समय मानिन्छ । यही समयमा आफ्ना इष्टदेव राम, कृष्ण, सीता र राधासँग खेलेको अनुभूति सँगाल्न मैथिल समुदायले झुला पर्व मनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्णले बताए ।

मिथिलामा यो पर्व रामको जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनको परम्पराबाट प्रभावित भएर भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँलाई प्रसन्न राख्ने मैथिल परम्पराअनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन श्रीराम र सीतालाई झुलाउने परम्परा चलेको प्राचार्य कर्णले बताए ।

जनकपुरमा राम–सीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिएको हिरा, रत्न तथा मणिमाणिक्यको थुप्रो लागेर पहाडजस्तै बनेको स्थानलाई अहिले मणिपर्वत भनिने गरेको जनविश्वास छ । जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेर झुला पर्व सुरु गर्ने मिथिला परम्परा रहेको छ ।

झुला पर्वमा जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको मटिहानीस्थित झुलाघरमा विशेष उत्सव आयोजना गरिन्छ । पर्वभरि साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको सहभागिताले मठमन्दिर क्षेत्रमा उल्लास छाउने गर्छ । यो पर्व मिथिलाको मौलिक लोकपरम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको विशिष्ट पर्वका रूपमा रहँदै आएको जलेश्वर–५ पतैली निवासी तथा याज्ञवल्क्य विद्यापिठ, मटिहानीका अवकाशप्राप्त नेपाली साहित्यका सहप्राध्यापक ध्रुव रायले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर