
धनगढी । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इन्जिनियर तथा अभियन्ता सागर ढकाल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भिड्न डडेलधुरा पुगे । उनले सम्मानजनक १३ हजार ४२ मत ल्याएपनि देउवालाई पराजित गर्न सकेनन् । फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ । गुल्मेली युवा सागर ढकाल अब फेरि देउवासँगै भिड्न डडेलधुरा जाने मनसायमा छन् ।
पाँच पटक प्रधानमन्त्री बनीसकेका देउवाको गृह जिल्लामा ढकालले चुनाव लड्ने घोषणा गरेपछि २०७९ सालमा देशभर चर्चा भएको थियो । सागरले चुनावका लागि जतिसक्यो त्यति गाउँ-गाउँ गए । डडेलधुराका युवापुस्ताले उनलाई मोटरसाइकलमा राखेर चुनावी प्रचारप्रसारमा सहयोग पनि गरिदिन्थे । अब देशको जिम्मेवारी युवापुस्तालाई दिनुपर्ने बाजे पुस्ताले अभिभावक भएर साथ दिनुपर्ने भन्ने ढकालले बताउँथे ।
‘अब बाजे पुस्ताले नाति पुस्तालाई अभिभावक भएर साथ दिनुपर्छ, हामीले देशको जिम्मेवारी लिनुपर्छ,’ ढकालले त्यसबेला भन्थे ।
अब ढकाल देउवालाई हराएरै छाड्ने हुटहुटी लिएर फेरि डडेलधुरा फर्किने तयारीमा छन् । अघिल्लो चुनावमा सुई चिह्न लिएर मैदानमा उत्रिएका सागरले यसपटक भने आफ्नो परिचय फेरेका छन् । स्वतन्त्र उम्मेदवारको रूपमा देउवालाई टक्कर दिएका उनी अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक बलसहित चुनावी मैदानमा उत्रिँदैछन् ।

पहिलो प्रयासमा नै सागरले डडेलधुरामा जोडदार उपस्थिति जनाएका थिए । कांग्रेसको गढ मानिने र वर्षौंदेखि शेरबहादुर देउवाले एकछत्र राज गर्दै आएको क्षेत्रमा बाहिरको जिल्लाबाट गएर चुनाव लड्नु सानो कुरा थिएन । उनको आँटलाई कतिले तारिफ गरे त कतिले मूर्खता पनि भने । कतिले उनलाई टुरिस्ट उम्मेदवार पनि भने ।
त्यसबेलाको नतिजा हेर्ने हो भने विजयी भएका शेरबहादुर देउवाले २५ हजार ५३४ मत ल्याएका थिए । सागर ढकालले भने १३ हजार ४२ मत प्राप्त गरे । देउवासँगको मतान्तर फराकिलो थियो । एक नवआगन्तुक युवाले प्रधानमन्त्रीकै क्षेत्रमा १३ हजार मत कटाउनुलाई कतिपयले भने यो सानाेतिनो कुरा नभएको बताए । त्यही १३ हजार मतको जगमा टेकेर सागरले यसपटक फेरि डडेलधुराका मतदाताको मन जित्ने योजना बुनेका छन् ।
रास्वपामा प्रवेश गरेसँगै उनको उम्मेदवारीबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो । ढकालले भने आफू डडेलधुराबाटै चुनाव लड्ने कुरामा द्विविधा नरहेको प्रष्ट पारेका छन् । यद्यपि पार्टीले आधिकारिक रूपमा उम्मेदवार छनोटको निर्णय गरिसकेको छैन ।
‘पार्टीबाट अफिसियल रूपमा निर्णय त कसैको पनि भइसकेको छैन । तर लगभग मेरो फाइनल हो,’ ढकाल भन्छन् ।
अघिल्लो पटक एक्लै प्रचारप्रसारमा हिँडेका ढकाल यसपटक टिमसहित मैदान उत्रिने तयारीमा छन् । यसका लागि पार्टीको सम्पर्क समिति र स्थानीय युवाहरूको नेटवर्कलाई सक्रिय बनाउने काम सुरु भइसकेको छ ।






































































































