जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी स्टेडियम आसपास रहेको आफ्नो साढे पाँच कठ्ठा जग्गा धितोमा राखेर लिएको ३० लाख रुपैयाँ ऋणको विवादले एक परिवार विगत १० वर्षदेखि पीडा भोग्नुपरेको भन्दै न्यायका लागि सरकारसँग गुहार मागिरहेको छ।
पीडित पक्षका अनुसार २०७४ सालमा रजौल–१४ निवासी उनीहरूले सोही ठाउँकी सुनिता देवी साहसँग व्यापार गर्ने प्रयोजनका लागि ३० लाख रुपैयाँ ऋण लिएका थिए। त्यसबापत आफ्नो साढे पाँच कठ्ठा जग्गा धितोमा राखी कागजसमेत बनाइएको थियो। उक्त रकम तीन रुपैयाँ ब्याजदरमा लिइएको पीडित पक्षको भनाइ छ।
तर, ऋण लिएको एक वर्षपछि नै सुनिता देवी साहले धितोमा राखिएको उक्त जग्गा जनकपुरधाम निवासी तथा शाह ज्वेलर्सका सञ्चालक शिवशंकर शाहलाई बिक्री गरेको पीडित पक्षको आरोप छ। ऋणको साँवा तथा ब्याजसहित सम्पूर्ण रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता लिन खोज्दा सुनिता देवी साहले आफूलाई नभई शिवशंकर शाहसँग कुरा गर्न भन्दै जिम्मेवारी पन्छाउँदै आएको पीडित पक्ष बताउँछ।
यता, शिवशंकर शाहसँग जग्गा फिर्ताको माग गर्दा दुई–चार लाख रुपैयाँ लिएर मुद्दा टुङ्ग्याउन दबाब दिने गरेको तथा ‘जति शक्ति लगाए पनि तिम्रो केही चल्दैन, मुद्दा लाग्नेवाला छैन’ भन्दै फर्काउने गरेको पीडित पक्षको आरोप छ।
पीडित परिवारका अनुसार हाल उक्त जग्गाको बजार मूल्य करिब ८ करोड रुपैयाँ पुगेको छ। करोडौँ मूल्य पर्ने आफ्नो जग्गाको सट्टा दुई–चार लाख रुपैयाँ लिएर विवाद टुङ्ग्याउन गरिएको प्रस्तावले आफूहरू थप पीडित बनेको उनीहरूको भनाइ छ। यस घटनामा सुनिता देवी साह र शिवशंकर शाहबीच मिलेमतो तथा योजनाबद्ध रूपमा आफूहरूको जग्गा हडप्ने खेल भएको पीडित पक्षले गम्भीर आरोपसमेत लगाएको छ।
जग्गा फिर्ताका लागि पटक–पटक आग्रह गर्दा शिवशंकर शाहले कहिले आफ्नो छोराको क्यान्सरको उपचार भइरहेको भन्दै समय माग्ने गरेको र कहिले छोरासँग कुरा गर्न पठाउने गरेको पीडित पक्षको भनाइ छ। छोराले भने बुवासँग कुरा गर्न भन्दै जिम्मेवारी एकअर्कामाथि पन्छाउँदै आएको उनीहरू बताउँछन्।
यस विषयमा धनुषा जिल्ला अदालत र उच्च अदालतसम्म मुद्दा पुगे पनि आर्थिक चलखेल तथा पैसा खुवाएर विपक्षी पक्षले फैसला आफ्नो पक्षमा पारेको पीडित परिवारको आरोप छ। आर्थिक अवस्था कमजोर भएकै कारण सर्वोच्च अदालतसम्म पुगेर न्याय खोज्ने सामर्थ्य नरहेको भन्दै उनीहरूले दुःख व्यक्त गरेका छन्।
‘पैसा हुनेहरूले पैसा खुवाएर मुद्दा जित्छन्, गरिबको पीडा र आवाज कसैले सुन्दैनन्,’ पीडित पक्षले दुःखेसो पोख्दै भनेका छन्। न्याय नपाउँदा परिवारका सदस्यहरू लामो समयदेखि मानसिक तनाव र गहिरो पीडामा बाँच्न बाध्य भएको उनीहरूको भनाइ छ।
पीडित पक्षले करिब पाँच–छ वर्षअघि यही जग्गा विवाद र न्याय नपाएको पीडाका कारण जनकपुरधामको मिल्स एरियामा शरीरमा पेट्रोल छर्केर आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन्। त्यतिबेला साथीभाइले समयमै बचाएका कारण आफू बाँचेको उनीहरूले बताएका छन्। विगत एक दशकदेखि जग्गा विवादमा न्यायको प्रतीक्षामा रहेको परिवारले अब राज्यका सम्बन्धित निकायसँग निष्पक्ष छानबिन गरी आफ्नो सम्पत्ति फिर्ता दिलाउन र न्याय सुनिश्चित गर्न माग गरेको छ। न्याय नपाए सडकमा उत्रिएर कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत पीडित पक्षले दिएको छ।







