Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

फेसबुक पार्टी भनी उडाइएको अभियानले पाकिस्तानमा ल्याइरहेको हलचल

प्रतिक्षा खबर
२०८० माघ २६, शुक्रबार १८:३०

२६ माघ काठमाडौं । चुनाव अनेकन् सम्भावनाहरुको खेल हो भन्ने कथनलाई पाकिस्तानमा जारी मतगणनाले पुनर्पुष्टि गर्दैछ ।
लामो समय विदेश बसी फर्केका नवाज शरिफ अनि हाल जेलमा रहेका इमरान खानको व्यक्तित्व परीक्षण पनि यो चुनावमा भइरहेको छ ।
पाकिस्तानको निर्वाचनमा इमरान खानको दल तेहरिक ए इन्साफ (पीटीआई) ले सैन्य सत्ता समर्थित दल पाकिस्तान मुस्लिम लिग पीएमएल (एन) लाई कडा चुनौती दिइरहेको छ । जारी मत गणनामा उसले नवाज शरिफको दललाई कडा चुनौती दिइरहेको हो ।
सार्वजनिक परिणाम अनुसार पीएमएल (एन) ले ४३ सिट ल्याउँदा इमरान खानको पार्टी पीटीआई समर्थित उम्मेदवारले ५५ सिट ल्याएको अलजजिराले देखाएको छ ।
पीटीआईका अधिकांश नेता जेलभित्रै रहँदा यो परिणाम कसरी सम्भव भयो त ?
सैन्य सत्ताको दमनका बाबजुद पीटीआईले कसरी कडा चुनौती दिनसक्यो ?
पहिले चर्चा गरौं इमरान लगायत अधिकांश शीर्षस्थ नेता जेलभित्रै रहँदा पनि पार्टीका उम्मेदवारले उत्साहजनक परिणाम ल्याउन कसरी सके भन्नेबारे ।
पाकिस्तानमा मे ९ मा इमरान खानका समर्थकहरुले उनलाई प्रधानमन्त्रीबाट षड्यन्त्रपूर्वक हटाउँदै गिरफ्तार गरिएको भन्दै बृहत् प्रदर्शन गरेका थिए । त्यसबखत खानका समर्थकहरुले पहिलोपटक सैनिक हेडक्वाटरमा समेत आक्रमण गरेका थिए । त्यसपछि खान समर्थित ११ हजार कार्यकर्तालाई सैन्य सत्ताले गिरफ्तार गरेको थियो ।
त्यस पार्टीका प्रभावशाली नेताहरुलाई समेत गिरफ्तार गर्ने तयारी भएपछि धेरैले हिरासतबाट बच्नका निम्ति राजीनामा नै दिएका थिए । प्रधानमन्त्रीबाट हटाइएदेखि गिरफ्तार पर्दाका बखतसम्म खानले पाकिस्तानमा निर्वाचनको माग राख्दै आए ।
पाकिस्तानमा सन् २०२२ नोभेम्बरमै चुनावको तयारी भए पनि निर्वाचन आयोगले प्रक्रिया पूरा गर्न समय लाग्ने बताएपछि पटक पटक सरेको थियो । अन्तत: हिजो फेब्रुअरी ८ मा चुनाव भयो ।
फेब्रुअरी ८ को चुनाव पनि पीटीआईका निम्ति कम्ता सकसपूर्ण भएन । पीटीआईका प्रमुख गोहार खान हिरासतभित्रै थिए । उनलाई चुनावमा उठ्न समेत प्रतिबन्ध थियो । दल दर्ताको समय आउँदै गर्दा खानको दलको चुनाव चिन्ह ब्याट खोसियो । अर्कोतर्फ प्रभावशाली नेताहरु जेलमा रहेको र केहीले राजीनामा दिएका कारण परीक्षण नै नभएका धेरै उम्मेदवारलाई मैदानमा पठाउन पीटीआई विवश थियो ।
प्रारम्भिक मत परिणामले खानको दल पनि उत्साहित भएको छ । उसले हार स्वीकार गर्न नवाज शरिफलाई चुनौती दिएको छ । पीटीआईको आधिकारिक एक्स ह्याण्डलमा लेखिएको छ, ‘दिउँसै लुट मच्चाउने प्रवृत्तिलाई अब पाकिस्तानी जनताले स्वीकार गर्नेछैनन् । हार मान्दै पाकिस्तानी जनताले तिमीलाई स्वीकार नगर्नेमा विश्वास गर ।
चुनावी मैदानमा खडा गरिएका नयाँ अनुहार र खानले जेलभित्रैबाटै चलाएको चुनावी अभियान उनका लागि फाइदाजनक भएको विश्लेषक माइकल कल्गम्यानले बीबीसीसँग बताएका छन् । ‘अधिकांश नेतालाई जेलभित्रै राखिएको थियो । पीटीआईले हार्ने निश्चित रहेकाले मतदान गरेर नि के फाइदा पुग्ला त भन्ने मनसायमा थिए, तर खानको दलले नयाँ उम्मेदवार उठाएपछि र सामाजिक सञ्जालको उच्चतम उपयोग गरेपछि नतिजाले पीटीआई र त्यसका समर्थक उत्साहित छन् ।’
पीटीआईले सामाजिक सञ्जालको प्रयोग कसरी गरेको थियो ?
पीटीआईका समर्थकहरु युवा नै थिए । ३१ प्रतिशत नागरिकको हातमा स्मार्ट फोन रहेकाले सामाजिक सञ्जालबाटै पार्टीको चुनावी प्रचार गर्ने निधोमा पीटीआई पुग्यो । पीटीआई स्वयंको सामाजिक सञ्जालमा मजबुत उपस्थिति छ । पीपीपी, पीएमएल एनको तुलनामा पीटीआईलाई पछ्याउनेहरु लाखौंले बढी छन् । तीन प्रमुख दलमध्ये एक्स, इन्स्टा र टिकटकमा एकाउन्ट भएका खान मात्रै एक पात्र हुन् । त्यसैले खानको दललाई सैन्य सत्ताले फेसबुक पार्टी भन्दै उडाएको थियो ।
चुनाव चिन्ह सैन्य सत्ताले खोसेपछि हरेक निर्वाचन क्षेत्रमा पीटीआई समर्थित उम्मेदवार र त्यसको चुनाव चिह्न पहिचानका लागि वेबसाइट नै तयार गरिएको थियो । त्यस्तै मतदातालाई आकर्षित गर्नका निम्ति चुनावी गीत र टिकटकमा चुनावी चिह्नका प्रहारका साथै मतदाता शिक्षा पनि पीटीआईले डिजिटल माध्यमबाटै सञ्चालन गर्‍यो ।
एआईको प्रयोगमार्फत डिसेम्बरमा चुनावी र्‍यालीका निम्ति समेत खानको सम्बोधन आएको थियो । राजनीतिक विश्लेषक सलिम मन्सुरले भनेका छन्, ‘सामाजिक सञ्जालको तागतलाई नजरअन्दाज गर्दै सैन्य सत्ताले खानको दललाई फेसबुक पार्टी भन्यो । फेसबुक र सामाजिक सञ्जालकै अभियानबाट उसले मतदातालाई रिझायो ।’
दमनको आक्रोश सैन्य सत्तातर्फ
मतदाताहरुले सैन्य दमनको आक्रोश सैन्य सत्तातर्फ नै पोखेको विश्लेषण पनि भइरहेको छ । अर्कोतर्फ सैन्य सत्ता समर्थित उम्मेदवार नवाज शरिफले मतदाताका एजेण्डा बेवास्ता गर्दा र विलासी चुनावी प्रचार शैली पछ्याउनाले पनि यस्तो नतिजा आएको पीएमएल एनकै समर्थकहरुले द डनसँग बताएका छन् ।
आफ्नो मतको सम्मान सरिफले नगरेकोमा धेरै मतदाता उनीसँग आक्रोशित रहेको पनि पाइएको छ । ‘हामीले उनको कार्यकालबाट पाकिस्तानको आर्थिक सुधार चाहेका थियौं तर हाम्रो मतको समेत सम्मान नगरी उनी स्वनिर्वासनमा गए । चुनावी प्रचारमा आउँदा हेलिकप्टरमा आउँछन्’ एक समर्थकको भनाइ उद्धृत गर्दै द डनले लेखेको छ ।
सैन्य सत्ताले दर्जनौं मुद्दा लगाएर खानलाई जेल चलान गरेको थियो । पीटीआईका उम्मेदवारहरुमाथि समेत उम्मेदवारीका क्रममा धरपकड भएका थिए ।
‘सैन्य सत्ताले हाम्रो पार्टीलाई टुक्रा टुक्रा बनाउन खोजिरहेको छ तर यो नै हामी बलियो छौं र फेरि उदाउन सक्छौं भनेर देखाउने बेला हो’ जेलभित्रबाटै खानको समर्थकहरुलाई सन्देश थियो ।
लोकप्रिय नेतालाई प्रतिशोधपूर्ण ढंगबाट जेल चलान गर्ने र समर्थकहरुलाई समेत धरपकड र दमन गर्ने सैन्य सत्ताको कदमको जवाफ मतदान मार्फत जनताले दिएको रुपमा पनि प्रारम्भिक परिणामलाई अर्थ्याइएको छ ।
यसले के संकेत गर्छ ?
निर्वाचन परिणामले खानप्रति मतदाताको भरोसा नटुटेको संकेत गर्छ । खानमाथि दर्जनौं अनियमितताका उजुरी प्रतिशोधपूर्ण रहेकोमा मतदाता विश्वस्त रहेको परिणामले देखाएको छ । मिश्रित मतपरिणामले कसैको पनि एकल बहुमत नआउने संकेत देखाएको विश्लेषकहरुले बताएका छन् ।
यसले गर्दा पाकिस्तान अघि रहेका तमाम आर्थिक चुनौती सामनाका लागि कठिनाइ हुने राजनीतिक विश्लेषक अब्बास नसिरले अलजजिरा समक्ष बताएका छन् । ‘यो निर्वाचन परिणामले गठबन्धन सरकार बन्ने देखाएको छ । सैन्य समर्थन प्राप्त गर्नेले सरकारको नेतृत्व गर्ने देखिन्छ । यस्तो अवस्थामा गहिरो आर्थिक संकटको चुस्त व्यवस्थापनमा असर पुग्नेनै छ’ अलजजिरासँग उनले भनेका छन् ।
पाकिस्तानमा हाल निर्वाचन परिणाम सुनाउनका लागि निकै ढिलाइ भइरहेको छ । यसले मतदाताहरुमा आक्रोश समेत उब्जिएको छ । कतिपय ठाउँमा प्रदर्शन हुँदा खान समर्थकहरु गिरफ्तारमा परेका छन् ।
पीटीआईका उम्मेदवारलाई पराजित गर्नका निम्ति सैन्य सत्ताबाट अझै जालझेल भइरहेको आरोप समर्थकहरुले लगाएका छन् । निर्वाचन परिणामले गठबन्धन सरकार बन्ने देखाए पनि सरकारको नेतृत्व गर्दै कसले आर्थिक समस्याबाट पार लगाउला पाकिस्तानी जनता प्रतीक्षामा छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर