
२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।
स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्याउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।
स्थानीय रबिलाल चौधरीका अनुसार बेलुका हुनासाथ हात्तीको बथान गाउँ पस्ने गरेको छ । हात्तीको डरले गाउँलेहरू रातभर त्रासमा बिताउनुपरेको उनले बताए।
त्यस्तै, स्थानीय बहादुर चौधरीले हात्ती गाउँ प्रवेश गर्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताए । हात्तीबाट हुन सक्ने क्षति र आक्रमणको डरले गाउँलेहरू एक ठाउँमा भेला भएर रात काट्ने गरेको उनले जानकारी दिए । हात्ती गाउँ प्रवेश गरेकोबारे प्रहरीलाई खबर गर्दा पनि प्रहरी गाउँमा उपस्थित नभएको उनको गुनासो छ ।
यतिबेला धानबाली भित्र्याउने र नगदेबाली लगाउने समय भएकाले हात्तीबाट खेतीबालीमा थप क्षति हुने चिन्ता स्थानीयमा छ। बिहान बाक्लो हुस्सु लाग्ने भएकाले हात्तीको सम्भावित आक्रमणको जोखिमसमेत थप बढेको स्थानीयको भनाइ छ।
यसअघि गत आइतबार सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो। लगातार हात्तीको गतिविधि बढ्न थालेपछि श्रीपुरसहित आसपासका गाउँका बासिन्दासमेत त्रासमा छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का सम्भावित जोखिमलाई मध्य नजर गर्दै सो क्षेत्रमा इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली परिचालन गरेको बताए ।







