गोपाल झा , महोत्तरी असोज २३ गते
महोत्तरीको एकडारा गाउँपालिका–१ का गाउँब्लकवासीले जग्गा नापी भएको करिब ११ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा लालपुर्जा प्राप्त गरेका छन्।
नापी कार्यालय महोत्तरी, जलेश्वरको १ नम्बर नापी टोलीद्वारा गाउँ ब्लक क्षेत्रको नापजाँच तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शुक्रबार आयोजित कार्यक्रममा स्थानीय २५० परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको हो । वर्षौँदेखि जग्गाको स्वामित्वको आधिकारिक प्रमाणबाट वञ्चित स्थानीयवासीले लालपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् ।
शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच महोत्तरी क्षेत्र नं. ३ का संघीय सांसद उज्ज्वलकुमार झाले स्थानीय जग्गाधनीहरूलाई लालपुर्जा वितरण गरेका हुन्।
लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयवासीले लालपुर्जा पाएसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित गर्ने बाटो खुलेको छ। २०७२ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा करिब ५०० वटा जग्गाधनी दर्ता कायम भएकोमा पहिलो चरणमा २५० वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको जनाइएको छ।
तत्कालीन एकडारा बेला गाउँ विकास समितिका वडा नं. १, २, ३, ४ र ६ हाल एकडारा गाउँपालिका वडा नं. १ अन्तर्गत पर्ने क्षेत्रमा एकसरो नापी भएको लामो समयपछि लालपुर्जा वितरण गरिएको हो। जग्गाधनी प्रमाणपुर्जा प्राप्त नहुँदा स्वामित्वसम्बन्धी प्रमाणको अभाव झेल्दै आएका स्थानीयवासीका लागि यो वितरण महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
लालपुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी क्षेत्र नम्बर ३ का सांसद उज्ज्वलकुमार झाले नागरिकको जग्गामाथिको कानुनी अधिकार सुनिश्चित गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताए । जग्गासम्बन्धी समस्या समाधान गर्नुका साथै नागरिकलाई सरकारी सेवा तथा सुविधामा सहज पहुँच उपलब्ध गराउनु स्थानीय विकास र सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ थियो ।
उहाँले सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहलपछि लालपुर्जा वितरण सम्भव भएको उल्लेख गर्दै उहाँले बाँकी रहेका योग्य नागरिकलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराइने बताउनुभयो ।
सांसद झाले भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न यसै वर्ष विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिए। सुकुम्बासी समस्याको छिटो समाधान गर्नुपर्नेमा जोड दिँदै उनले प्रत्येक पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख जिल्ला अधिकारी र नापी कार्यालयसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरे। जनताका हरेक समस्या समाधान गर्न सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले जग्गासम्बन्धी विवाद तथा स्वामित्वको समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालमा जग्गा नापजाँचको प्रारम्भिक चरणमा बस्ती क्षेत्रलाई ‘गाउँ ब्लक’का रूपमा छाडिएकाले धेरै नागरिक लालपुर्जाबाट वञ्चित हुनुपरेको बताउनुभयो । अहिले राज्यले गाउँ ब्लक क्षेत्रको नापजाँच तथा लालपुर्जा वितरणलाई अभियानका रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले बाँकी रहेका नागरिकलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराइने जानकारी दिनुभयो ।
उहाँले लालपुर्जा प्राप्तिसँगै नागरिकले आफ्नो सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्न पाउने, बैंकिङ कारोबार गर्न सक्ने तथा सम्पत्तिको औपचारिक उपयोग गर्न सक्ने अवस्था सिर्जना भएको बताउनुभयो । जनप्रतिनिधि, नापी, मालपोत तथा प्रशासनबीचको समन्वयले अभियानलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।
एकडारा गाँउपालिकाका अध्यक्ष दिपनारायन मण्डलले लालपुर्जा प्राप्त गर्ने परिवारलाई बधाई दिँदै छुटेका नागरिकलाई धैर्य रहन आग्रह गर्नुभयो । कानुनी प्रक्रिया पूरा भएपछि योग्य सबै नागरिकले लालपुर्जा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले लालपुर्जालाई सम्पत्तिको महत्वपूर्ण कानुनी प्रमाणका रूपमा सुरक्षित राख्न आग्रह गर्दे जग्गाको स्वामित्वसम्बन्धी समस्या लामो समयसम्म रहँदा नागरिकले विभिन्न कठिनाइ भोग्नुपर्ने भएकाले यस्ता समस्या समाधानलाई आफु प्राथमिकतामा राखेको जानकारी दिएका थिए ।
नापी शाखा महोत्तरीका प्रमुख राजुकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गाको नापजाँच, अभिलेख व्यवस्थापन तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण प्रक्रियाको महत्वबारे चर्चा गरिएको थियो ।
नापी शाखा प्रमुख द्विवेदीले आवश्यक प्रक्रिया पूरा गरेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिँदै अझै लालपुर्जा प्राप्त गर्न बाँकी रहेका वास्तविक हकभोगवालालाई सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिएर नापी कार्यालयमा पेस गर्न आग्रह गरे।
उनका अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरी आफ्नो जग्गाको स्वामित्व कायम गर्ने कार्य अघि बढाउन सकिनेछ । वास्तविक रूपमा जग्गा भोगचलन गर्दै आएका व्यक्तिहरूले पनि आवश्यक प्रमाणसहित सम्बन्धित निकायमा सम्पर्क गरी आफ्नो जग्गाको स्वामित्व स्थापित गर्नुपर्ने उनले बताए ।
लालपुर्जा बितरण कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मनोज मण्डलले लालपुर्जा प्राप्त गर्न बाँकी रहेका जग्गाधनीको समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए ।
आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेस गरेमा वास्तविक जग्गाधनीको पहिचान गरी नियमानुसार सिफारिस गर्ने तथा लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गरिने उनले स्पष्ट पारे ।
वडाध्यक्ष मण्डलले लालपुर्जा नपाएका स्थानीयवासीलाई आवश्यक कागजात वडा कार्यालयमा पेस गर्न आग्रह गर्दै वास्तविक हकभोगवालाले आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा वडा कार्यालय सधैँ सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सखिचन्द यादवले गाउँपालिकाभित्र रहेका विद्यालय, मदरसा लगायतका सार्वजनिक संस्थाको जग्गाको स्वामित्वसम्बन्धी समस्या पनि समाधान गर्नुपर्ने विषय उठाएका हुन् ॥
उनले वर्षौँअघि दानस्वरूप प्राप्त गरेका विद्यालय, मदरसा तथा अन्य सार्वजनिक संस्थाका जग्गाको समेत लालपुर्जा नरहेको जानकारी गराउँदै त्यस्ता संस्थाको जग्गाको स्वामित्व अभिलेख कायम गरी आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा उपलब्ध गराउन नापी शाखालाई आग्रह गरे ।
सार्वजनिक प्रयोजनका लागि दान दिइएका जग्गाको स्वामित्वसम्बन्धी अभिलेख व्यवस्थित हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता संस्थाको जग्गासम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । लालपुर्जा वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूलाई सम्मान गर्दै आयोजकले कार्यक्रमप्रति योगदान, सहभागिता तथा स्थानीयवासीको जग्गासम्बन्धी समस्या समाधानका लागि भइरहेको पहलप्रति आभार व्यक्त गरेको थियो । कार्यक्रममा महोत्तरीका विभिन्न सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
एकडारा गाउँपालिका–१ मा नापी भएको करिब ११ वर्षपछि गाउँब्लकवासीले लालपुर्जा प्राप्त गर्न थालेसँगै लामो समयदेखि कायम रहेको जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
पहिलो चरणमा २५० वटा लालपुर्जा वितरण गरिएको यस प्रक्रियाअन्तर्गत बाँकी जग्गाधनीले पनि आवश्यक कागजात र प्रक्रिया पूरा गरी लालपुर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ । वास्तविक हकभोगवालाको पहिचान, जग्गाको अभिलेख व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै बाँकी समस्या समाधान गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
लालपुर्जा वितरणले स्थानीयवासीको जग्गामाथिको कानुनी अधिकार स्थापित गर्न सहयोग पुर्याउनुका साथै जग्गासम्बन्धी प्रशासनिक प्रक्रिया सहज बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।







