काठमाडौं । ‘हुंकार मधेश’ले संविधान संशोधन, स्वायत्त प्रदेश निर्माण, नेपाललाई हिन्दु राष्ट्र घोषणा तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत २३ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
हुंकार मधेशका केन्द्रीय सहजकर्ता रामकुमार कश्यपले प्रधानमन्त्रीलाई सम्बोधन गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा मधेशी, थारू, आदिवासी जनजाति, दलितलगायत उत्पीडित समुदायका अधिकार र माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।
मधेश आन्दोलनका क्रममा भएको राज्य दमनबारे गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने, अधिकारसम्पन्न स्वायत्त प्रदेश निर्माण गर्नुपर्ने तथा थरुहट–मधेशलाई एउटै प्रदेश कायम गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी नेपाललाई ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गर्न, नेपाल–भारतबीच विशेष सम्बन्ध स्थापित गर्न, चुरे संरक्षणका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न तथा हुलाकी राजमार्गलाई औद्योगिक करिडोरका रूपमा विकास गर्नुपर्ने माग पनि अघि सारिएको छ।
ज्ञापनपत्रमा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्ने, बेरोजगार युवालाई रोजगारी वा भरणपोषण भत्ता उपलब्ध गराउनुपर्ने, राज्यका निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने र अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने विषयसमेत समेटिएका छन्।
हुंकार मधेशले २३ बुँदे मागमार्फत मधेशसहित विभिन्न उत्पीडित समुदायका राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा हुंकार मधेशका केन्द्रीय अभियन्ताहरू रामकुमार कश्यप, केशवकुमार, कौशलेन्द्र कौशल, रत्नेश्वर सनातनी, कञ्चन कुमारी, रिना झा, आनन्दकुमार महतो र प्रकृति दुलाललगायतको सहभागिता रहेको थियो।







