जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर अन्य राजनीतिक दलमा प्रवेश गरेका १८ जना जनप्रतिनिधिको पद गुमेको छ।
गत स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका तर पछि पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूलाई पार्टीको निर्णयअनुसार पदमुक्त गरिएको हो।
निर्वाचन आयोगले २०८३ मंसिर २ गते निर्णय गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार उनीहरूको पद रिक्त भएको जनाएको छ। आयोगले मंसिर ३ गते सार्वजनिक सूचना जारी गरेको हो।पद रिक्त हुने १८ जनामध्ये मधेश प्रदेशका पाँच जना र कोशी प्रदेशका १३ जना रहेका छन्।
मधेश प्रदेशअन्तर्गत सिरहाका तीन र पर्साका दुई जना जनप्रतिनिधि छन्। त्यस्तै कोशी प्रदेशअन्तर्गत खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना रहेका छन्।
यस निर्णयसँगै पार्टी परिवर्तन गरेका जनप्रतिनिधिहरूको निर्वाचित पद समाप्त भएको छ। जसपा नेपालले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत दल त्याग गरेको भन्दै निर्वाचन आयोगमा जानकारी गराएपछि आयोगले कानुनी प्रक्रियाअनुसार पद रिक्त गरेको हो।







