महोत्तरी , गोपाल झा , कार्तीक ३० गते ।
लोकआस्थाको महापर्व छठको अवसरमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डल र सि.अ.न.मी. बबिता कुमारीले गाउँपालिकाका विभिन्न वडामा रहेका छठ घाटहरूको स्थलगत अवलोकन तथा अनुगमन गर्नुभएको छ ।
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न हजारौँ व्रतालु तथा श्रद्धालु भक्तजन विभिन्न पोखरी, नदी तथा जलाशयमा भेला भएका बेला स्वास्थ्य संयोजक मण्डल र सि.अ.न.मी. बबिता कुमारीले गाउँपालिकाका छवटै वडामा रहेका विभिन्न छठ घाट पुगेर पूजाको तयारी, घाट व्यवस्थापन तथा व्रतालुहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा उहाँहरूले छठ पूजाका लागि स्थानीयवासीले गरेको व्यवस्थापन, घाटको सरसफाइ, व्रतालु तथा श्रद्धालु भक्तजनको चहलपहल र सम्भावित स्वास्थ्य जोखिमका विषयमा जानकारी लिनुभएको थियो । साथै, विभिन्न घाटमा उपस्थित व्रतालु महिला तथा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो ।
चार दिनसम्म कठोर नियम, निष्ठा र उपवाससहित मनाइने छठ पर्वमा व्रतालुहरूले लामो समयसम्म निराहार तथा निर्जला व्रत बस्ने परम्परा रहेकाले स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्य संयोजक मण्डलले बताउनुभयो । उहाँले व्रतका क्रममा अत्यधिक कमजोरी, चक्कर लाग्ने, शरीरमा पानीको कमी हुने तथा रक्तचापसम्बन्धी समस्या देखिन सक्ने भएकाले आफ्नो शारीरिक अवस्थाप्रति सचेत रहनसबैमा आग्रह गर्नुभयो ।
विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती तथा नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरूले व्रत बस्नुअघि स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । व्रत समापनपछि पनि एकैपटक धेरै खाने वा अत्यधिक शारीरिक परिश्रम गर्नेभन्दा क्रमशः सामान्य खानपानमा फर्किनु उपयुक्त हुने उहाँले सुझाव दिनुभयो ।
त्यसैगरी, छठ घाटमा हुने अत्यधिक भीडभाड, पोखरी तथा जलाशयमा डुब्ने जोखिम, चिप्लो सतह र दूषित पानीबाट हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै घाटको सरसफाइ, सुरक्षित आवतजावत र आवश्यक सतर्कता अपनाउन उहाँहरूले स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
संयोजक मण्डलले छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई मिथिलाञ्चलसहित समग्र तराई–मधेशको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको महत्वपूर्ण प्रतीक रहेको बताउनुभयो । सूर्यदेव र प्रकृतिप्रति श्रद्धा प्रकट गर्दै मनाइने यस पर्वले समाजमा आपसी सद्भाव, भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने उहाँको भनाइ थियो ।
उहाँहरूले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्दै चार दिनसम्म कठोर उपवास बसेका सम्पूर्ण व्रतालुहरूको स्वास्थ्य राम्रो रहोस् भन्ने कामनासमेत गर्नुभयो ।
संयोजक महेन्द्र मण्डल र सि.अ.न.मी. बबितालेको यस स्थलगत अनुगमनले धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा समुदायको स्वास्थ्य अवस्था बुझ्ने, सम्भावित जोखिमप्रति सचेतना फैलाउने र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने प्रयासका रूपमा हेरिएको छ ।
छठ पर्वको धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै स्वस्थ, स्वच्छ र सुरक्षित वातावरणमा पर्व मनाउनु सबैको साझा जिम्मेवारी रहेको सन्देशसमेत यस अनुगमनले दिएको छ ।







