कमलेश कुमार यादव,साेनमा । सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा विद्युत् पोलमा जडान गरिएको तार चोरी हुने घटना बढ्दै गएको छ। एक महिनासमेत नबित्दै पुनः पाँचवटा विद्युत् पोलको तार चोरी भएपछि स्थानीयवासीमा चिन्ता र आक्रोश बढेको छ।
स्थानीयका अनुसार खैरबनीस्थित नजिकैको चौरी क्षेत्रमा यसअघि पनि विद्युत् तार चोरी भएको थियो। पछिल्लो पटक भने सशस्त्र प्रहरी बल (APF) क्याम्पबाट करिब २०० मिटर पश्चिमतर्फ रहेका पाँचवटा पोलको तार चोरी भएको बताइएको छ।
उक्त क्षेत्रमा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको क्याम्प तथा ट्राफिक प्रहरीसमेत तैनाथ छन्। सुरक्षा निकायको बाक्लो उपस्थिति हुँदाहुँदै पनि पटक–पटक विद्युत् तार चोरीका घटना हुनु र चोरीमा संलग्न व्यक्तिहरू पहिचान हुन नसक्नुले स्थानीयवासीले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन थालेका छन्।
विद्युत् तार चोरीका कारण किसान तथा सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन्। सिँचाइ तथा दैनिक कामकाजमा समस्या उत्पन्न हुनुका साथै किसानलाई थप आर्थिक भार र सास्ती व्यहोर्नुपरेको स्थानीयको गुनासो छ।
स्थानीयवासीले खैरबनी क्षेत्रबाट रातिको समयमा ठूलो परिमाणमा सामान ओसारपसार तथा तस्करी हुने गरेको आरोपसमेत लगाएका छन्। दिनहुँ लाखौँ रुपैयाँ बराबरको सामान ओसारपसार हुने गरेको दाबी गर्दै उनीहरूले यस विषयमा प्रहरी प्रशासनको निगरानी र भूमिकामाथि समेत प्रश्न उठाएका छन्। यद्यपि, प्रहरी प्रशासनको मिलेमतोमा तस्करी हुने गरेको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
गाउँको सुरक्षा कि अन्य गतिविधिमा मात्रै ध्यान?
गाउँको सुरक्षा र अपराध नियन्त्रणका लागि विभिन्न सुरक्षा निकाय परिचालित भए पनि खैरबनीमा चोरी तथा अन्य अवाञ्छित गतिविधि दोहोरिनुले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
स्थानीयवासीले विद्युत् तार चोरीमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कारबाही गर्न, चोरी भएका तार बरामद गर्न तथा रातिको समयमा हुने अवैध ओसारपसारमाथि प्रभावकारी निगरानी बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
सुरक्षा निकायको उपस्थिति केवल कागजमा सीमित नभई नागरिकको सुरक्षा, किसानको सम्पत्तिको संरक्षण र शान्तिसुरक्षा कायम गर्न व्यवहारमै प्रभावकारी हुनुपर्ने स्थानीयको माग छ।
अब सम्बन्धित प्रहरी प्रशासन र विद्युत् प्राधिकरणले यस विषयमा कस्तो कदम चाल्छन् भन्ने प्रश्न खैरबनीवासीले उठाइरहेका छन्।







