Advertisement
ताजा खबर
मिथिलाञ्चलमा आस्था र परम्पराको संगम : अग्निपरीक्षासहित विधिवत् मनाइँदै मधुश्रावणी पर्व वर्षा, चुल्हो र हराउँदै गएको मानवता दुर्गा प्रसाईं पक्राउ जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच सहमति मधेशका विभिन्न जिल्लामा निकालियो सद्भाव र्‍याली धनुषामा सर्वपक्षीय बैठक सुरु बालबालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेश सरकारको अपिल ‎बरहथवामा प्रदर्शनमा संलग्न चार जना स्थानीयको सक्रियतामा प्रहरीको जिम्मा लगाइयो शम्सीमा विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग
मिथिलाञ्चलमा आस्था र परम्पराको संगम : अग्निपरीक्षासहित विधिवत् मनाइँदै मधुश्रावणी पर्व वर्षा, चुल्हो र हराउँदै गएको मानवता दुर्गा प्रसाईं पक्राउ जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच सहमति मधेशका विभिन्न जिल्लामा निकालियो सद्भाव र्‍याली धनुषामा सर्वपक्षीय बैठक सुरु बालबालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेश सरकारको अपिल ‎बरहथवामा प्रदर्शनमा संलग्न चार जना स्थानीयको सक्रियतामा प्रहरीको जिम्मा लगाइयो शम्सीमा विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग

वर्षा, चुल्हो र हराउँदै गएको मानवता

प्रतिक्षा खबर
२०८३ श्रावण १९, मंगलवार १४:४०

गोपाल झा , महोत्तरी , साउन १९ गते

 सम्पादकीय लेख

वर्षा सबैका लागी एउटै हुन्छ । एउटै आकाशबाट पानी पर्छ, तर त्यसको अनुभूति सबैका लागी समान हुँदैन । कसैका लागी वर्षा खुसी, रमाइलो र परिवारसँग बिताउने सुन्दर क्षण लिएर आउँछ भने कसैका लागि भोक, चिन्ता र पीडाको अर्को क्षण बनेर आउँछ ।

धनी र सुखी परिवारमा वर्षा पर्दा तातो चिया, पकौडा, मोबाईलमा सेल्फी, सामाजिक सञ्जालमा रमाइला तस्वीर र परिवारसँगको हाँसो गुञ्जिन्छ । तर त्यही वर्षा गरिबको झुपडीमा पर्दा सबैभन्दा ठूलो प्रश्न उठ्छ— “आज चुल्हो कसरी बल्ने छ “ भिजेको दाउरा, खाली भाँडा, र भोकले छटपटाएका बालबालिकाको अनुहारले उनीहरूको वास्तविकता बोलिरहेको हुन्छ ।

तस्बिरमा देखिएको परम्परागत चुल्हो केवल खाना पकाउने साधन होइन, यो हजारौं गरीब परिवारको संघर्ष, अभाव र आत्मनिर्भरताको प्रतीक हो । यही चुल्होमा आगो बल्यो भने घरमा खुसी आउँछ, आगो र निभ्यो भने भोकले परिवारलाई सताउन थाल्छ ।

आज समाजमा आर्थिक असमानता दिनप्रतिदिन गहिरिँदै गएको छ । एकातिर विलासी जीवनशैली छ भने अर्कोतिर दैनिक ज्याला मजदुरी गरेर साँझ बेलुकाको छाक टार्ने लाखौं परिवार छन् । वर्षा परेपछि मजदुर काममा जान सक्दैनन्, खेतमा काम रोकिन्छ, निर्माण कार्य ठप्प हुन्छ । त्यसपछि उनीहरूको आम्दानी शून्य हुन्छ । आम्दानी नभएपछि चुल्हो दबलने सपना पनि अधुरै रहन्छ ।

यही यथार्थलाई बुझ्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो । दुर्भाग्यवश, यस्ता समस्यामाथि छलफल गर्नुको सट्टा समाजमा जात, धर्म, भाषा, राजनीति र विभिन्न बहानामा द्वेष फैलाउने प्रयास बढ्दै गएको खुब देखिन्छ । केही व्यक्तिहरूको उक्साहटमा परेर आफ्नै समाजका मानिसहरू एकअर्काका शत्रु बन्ने अवस्था सिर्जना भइरहेको छ ।

तर प्रश्न उठ्छ झगडाले कसको भलो हुन्छ?

न त द्वेषले भोक मेटाउँछ, न त हिंसाले गरिबको चुल्हो बँल्न सक्छ । बरु समाजमा अशान्ति बढ्छ, विकास अवरुद्ध हुन्छ र सबैभन्दा ठूलो मार फेरि गरिब तथा कमजोर वर्गले नै बेहोर्नुपर्छ ।

हामीले सम्झनुपर्छ, समाजको वास्तविक शक्ति एकता, सद्भाव र सहकार्यमा हुन्छ । कुनै परिवार भोकै सुत्न नपरोस्, कुनै वृद्धले उपचार नपाएर पीडा भोग्न नपरोस्, कुनै बालबालिका अभावका कारण विद्यालय छोड्न बाध्य नहोस् भन्ने सोच नै सभ्य समाजको पहिचान र कर्तब्य हो ।

मानवता भनेको मात्र ठूलो भाषण गर्नु होइन, छिमेकीको दुःख बुझ्नु, भोकालाई एक छाक खानाको जोहो गर्दीनु , विपद्मा परेकालाई साथ दिनु र कठिन परिस्थितिमा एकअर्काको हात समात्नु हो । समाजमा यस्तै संस्कारको विकास हुन सके मात्रै देश र समाजमा वास्तविक समृद्धि सम्भव हुन्छ ।

वर्षा पर्दा चिया र पकौडाको स्वाद लिनु गलत होइन । तर त्यही बेला आफ्नो वरिपरि कतै कुनै परिवारको चुल्हो नबल्दा भोकै बस्न बाध्य त छैन भन्ने सोच्न सक्यौं भने त्यो नै साँचो मानवता हुनेछ ।

आजको आवश्यकता आरोप, आक्रोश र विभाजनको होइन; आवश्यकता त सहानुभूति, सहयोग र सामाजिक           उत्तरदायित्वको हो । किनकि अन्ततः हामी सबै एउटै समाजका सदस्य हौ ँ। समाज जल्यो भने कुनै घर सुरक्षित रहँदैन, तर समाज बाँच्यो भने सबैको भविष्य उज्यालो बन्न सक्छ ।

मानवता, सद्भाव र सहकार्यलाई जीवनको मूल मन्त्र बनाऔँ। किनकि झगडाले कसैको भलो गर्दैन, तर सहयोगले अनेकौं घरका चुल्हा बल्न सक्छन् ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर