संघीयता र गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ: डा. सुरेन्द्र यादव


जनकपुरधाम  १०  चैत  ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरी क्षेत्र नं. ४ को क्षेत्रीय बैठक सम्पन्न भएको छ। रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमीक हस्पिटल, पर्सा देवाडको सभाहलमा आयोजित बैठकमा प्रमुख अतिथि जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादवले संघीयता र गणतन्त्रको रक्षा गर्न सबैलाई एकजुट हुनुपर्ने उहाँले बताए ।

डा. यादवले देशले ठूलो संघर्षपछि संघीयता र गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै यी उपलब्धिहरूलाई गुम्न नदिन पार्टीका नेता तथा कार्यकर्ताहरू सचेत हुनुपर्ने बताए। “हामीले अहिले लोभ-लालचमा नपरी संघीयता र गणतन्त्रलाई जोगाउनु पर्छ। यसका लागि सचेत संघर्ष आवश्यक छ,” उनले भने ।

उनले पछिल्लो समय संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै दल, नागरिक समाज र लोकतन्त्रप्रेमीहरू एकजुट भएर लड्नुपर्ने बताए। “संघीयता केवल सत्तासमीकरणको विषय होइन, यो स्थानीय तहसम्म जनताको अधिकार प्रत्याभूत गर्ने साधन हो। यसलाई कमजोर पार्ने कुनै पनि प्रयासको हामीले कडा विरोध गर्नुपर्छ,” उनले थपे ।

डा. यादवले अहिलेको सरकार र सत्ताधारी दलहरूले संघीय संरचनालाई सुदृढ पार्नुपर्नेमा त्यसलाई व्यवस्थित गर्न नसकेको आरोप लगाए। उनले संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई अझै सक्षम बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, “संघीय शासन व्यवस्थालाई बलियो बनाउनका लागि स्थानीय सरकारहरूलाई अधिकार सम्पन्न बनाउनु आवश्यक छ। तर, अहिले सरकारले संघीयताको भावना अनुरूप काम गरिरहेको छैन।”

उनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि कानुनी शासनलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए। डा. यादवले जसपाले सामाजिक न्याय, समावेशिता, समानुपातिक प्रतिनिधित्व र जनताको अधिकारलाई संस्थागत गर्ने दिशामा निरन्तर संघर्ष गरिरहेको बताए। “हाम्रो पार्टी मात्र होइन, सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूले अहिले एकजुट भएर संविधान, संघीयता र गणतन्त्रलाई बचाउन पहल गर्नुपर्छ,” उनले भने।

डा. यादवले पार्टी एकता, संगठन सुदृढीकरण र अनुशासनको आवश्यकता पनि औंल्याए। उनले जसपा नेपाललाई बलियो बनाउँदै स्थानीयस्तरमा पार्टीको प्रभाव विस्तार गर्न कार्यकर्ताहरूलाई सक्रिय रूपमा लाग्न आग्रह गरे। “राजनीतिक स्थायित्व कायम गर्न हाम्रो पार्टीको भूमिका अझ बढी जिम्मेवार हुनुपर्छ। संगठन सुदृढीकरण, कार्यकर्ताहरूको सक्रियता र नीति निर्माणमा स्पष्टता आवश्यक छ,” उनले भने।

बैठकमा संघीयता, लोकतन्त्र, पार्टी संगठन, आसन्न पालिका र वडा अधिवेशनका कार्यसूचीहरूबारे गम्भीर छलफल भएको थियो। उपस्थित नेताहरूले जनताको बीचमा गएर संघीयता, लोकतन्त्र र संविधानको बचाउनका लागि व्यापक जनमत निर्माण गर्ने निर्णय गरेका छन्।

बैठकमा केन्द्रीय सदस्य सरोज सिंह कुशवाहा, दिपक झा, प्रदेश कार्यसमिति सदस्य नरेश यादव, जिल्ला कार्यकारिणी सदस्य रबिन्द्र महतो, खेलकुद विभाग प्रमुख रोशन सिंह राणा, जिल्ला सचिव महेश कुमार यादव, क्षेत्र नं. ४ (क) अध्यक्ष अशोक कुमार यादव, मनरा शिस्वा नगरपालिका नगर संयोजक महेन्द्र यादव, रामगोपालपुर नगरपालिका नगर संयोजक सुरेश कुमार यादव, नगर सह-संयोजक विजय कुमार यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले संघीयता, गणतन्त्र र लोकतन्त्रलाई बचाउन दृढ अडान लिनुपर्ने, संगठन सुदृढीकरणलाई प्राथमिकता दिने, आसन्न पालिका र वडा अधिवेशनलाई सफल बनाउन सक्रियरूपमा लाग्ने लगायतका निर्णयहरू पारित गरेको छ। जसपा नेपालले संघीयता र गणतन्त्रलाई सुदृढ बनाउने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post