गोपाल झा
महोत्तरी , अषाढ ३ गते
ईस्लाम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आस्था एबं निष्ठाका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै हर्षेल्हास पुर्बक मनाईएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा आज बकर इद पर्व मनाउने धार्मिक विधि अनुसार ईश्लाम धर्माबलम्बीहरुले यो पर्ब मनाउने गर्छन् । तिन दिन सम्म मनाइने बकर इद पर्बको पहिलो दिन आज सोमबार मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद र इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
आज बिहानै पर्बको अवसरमा महोत्तरीको एकडारा सहितका मस्जिद, र ईदगहमा मुस्लिम धर्मावलम्बीहरुले नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेको छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको एकडारा गाँउपालीका वडा नं १ का पुर्ब वडाध्यक्ष रैहान रेजा अन्सारीले बताएका हुन् ।
उनले बकर इदको अवसरमा शुभकामना दिँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । यो पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने वहाँको बिश्वास रहेको छ ।
पुर्ब वडाध्यक्ष अन्सारी ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूणर् योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको जानकारी गराए ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालय अन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लीमहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्छन् ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, त्यस्तै अर्को भाग आफ्ना इस्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने ईश्लामिक धार्मिक मान्यता रहेको छ । यसैअनुसार सोमबार पहिलो दिनको बकर इद मनाइएको छ ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको छ । यस अवसरमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा समेत दिएको छ ।










































































































