२०७७ मंसीर २६, परासी । प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी पार्टीका चर्चित वाम योद्धा नेता तथा शिक्षक स्व. श्री रामवृक्ष यादवको नाम वाम र कम्युनिस्ट आन्दोलनका कुनै पनि नेता र कार्यकर्ताले मन मस्तिष्कबाट निकाल्न नसक्ने ठोकुवा नगर्न सकिन्न ।
सशस्त्र त्यस बेलाको माओवादी जनयुद्धको गुरु मानिएका स्व. कमरेड रामवृक्ष यादवले देश र जनताकै मुक्तिका लागि आफूले आफ्नो प्राण न्यौछावर गर्नुका साथ साथै घर परिवार र बच्चा बच्ची समेतको लालन पालनमा दिनु पर्ने ध्यान नदिई पार्टी र पार्टी नेतृत्वको आज्ञा पालन गर्ने सिलसिलामै शहादत दिएर आजका नेता र नेतृत्व जन्माएका कुरालाई नकार्न सकिदैंन ।
स्व. कमरेड यादवको तन,मन, श्रम, पसीना र बलिदानीले सुसज्जित माओवादी पार्टी र नेता सरकारी पनि भए, तर सरकारमा पुर्याइदिन जीवन दान दिएका स्व. रामवृक्ष यादव सरकारी शहीद हुन सकेनन् । लाज पचाउन हिम्मत गर्न नसकी र स्व. रामवृक्ष यादवसंग जोडिएका मधेशी भोट लिन बाध्यतावश पार्टीले उनलाई शहीद मानी महोत्तरीको बर्दिवास ११, खयरमाराको एउटा शिक्षालयमा सीमित गरी उनकै नाममा नामाकरण गर्ने सो शिक्षालयको प्राङ्गण समेतबाट उनको सालिक भत्काई उनको स्थानमा स्व. निर्मल लामाको मूर्ति स्थापना गरी स्व. लामाकै नाममा सो शिक्षालयको नामाकरण समेत गर्ने सरकारी मन्त्री गिरिराजमणि पोखरेलको योजना र निर्देशन हुनुले देश र जनताको लागि लडी मर्ने मधेशी लडाकू शहीद समेतलाई उसको आफ्नै भूमिमा पनि शालिकको रुपमा समेत नेपाली शासकहरुद्वारा स्थान नदिईने कुरा प्रमाणित भएको छ ।
खयरमाराको उक्त शिक्षालयको प्राङ्गणको शहीद स्मारकबाट स्व. शहीद यादवको मूर्ति तोड्नु त शहीद रामवृक्षप्रतिको अन्याय छंदैछ, उनको मूर्ति कुनै मन्त्रीको निर्देशनमा त्यहांबाट हटाई अन्यत्र सारिनु मधेश र मधेशी समाज, समुदाय, रंग र अनुहारसमेतको लागि चुनौतीको विषय बन्न गएको कुरा मधेशीले बुझ्नु पर्ने भएको छ ।
स्व. रामवृक्ष यादवले शहादत दिएकै पार्टी र नेता सरकारमा रहेका बेला उनलाई देशकै शहीद घोषणा गरी खयरमाराको सो शिक्षालयमा स्थापना गरिएको उनको शालिकलाई राष्ट्रिय मर्यादाका साथ सोही शिक्षालयमा यथावत राखी उनको नाममा थप शैक्षिक, सामाजिक र विकासका कार्यहरु गर्न नेपाल सरकार, शिक्षा मन्त्री, संसद, सांसद र पार्टी समेतलाई आग्रह गर्दछौं ।
सो अनुसार नभई अन्यथा भए/गरिए स्व. यादवलाई कुनै पार्टी वा परिवारको शहीद नमानी देश र जनताको सपूत र शहीदको रुपमा सम्मान गरी भविष्यमा यस घटना समेतलाई मुद्दा बनाई खस कम्युनिस्ट पार्टी, उसको नश्लीय चरित्र र मधेश विरोधी मानसिकताको पर्दाफाश गर्दै स्वाधीन मधेश जन-अभियानले मधेशी जनतालाई नेपाल सरकारको विभेदप्रति सचेत रहन आग्रह गर्दै सरकार समेतको नश्लीय प्रकृति, प्रवृति र चरित्र उदाङ्गो पार्ने कुरा समेतको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गर्दछ ।
कैलाश महतो
संयोजक,
स्वाधीन मधेश जन-अभियान
सम्पर्क नं. ९८४७०३८३२२
mahatok0909@gmail








































































































