सर्लाही, मंसिर १२ गते।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा कालो झण्डा देखाएर विरोध गरिएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंहलाई शनिबार साँझ सदरमुकाम मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।
सांसद सिंहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै आपत्ति जनाएका छन्।
प्रदर्शनकै क्रममा प्रहरीले कालो झण्डा देखाएको आरोपमा हिन्दु सम्राट सेनाका चार जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै संगठनले विरोध जनाएको छ।
यसैबीच, प्रदर्शनकारीहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सांसद सिंहको पुत्लासमेत दहन गरेका छन्।
हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवका अनुसार प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हो। उनले पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन्।
उता, रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार सांसद सिंहको पदयात्रा आइतबार बिहान ७ः३० बजेदेखि पुनः सुरु हुने कार्यक्रम छ। पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंह शनिबार राति सदरमुकाम मलंगवामै बस्ने कार्यक्रम रहेको छ।
सांसद सिंहको गृहजिल्लामै भएको विरोध प्रदर्शन, पुत्ला दहन र चार जना पक्राउ परेको घटनाले सर्लाहीको राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको छ।







