गोपाल झा ,महोत्तरी, असार १९गते
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या भएको प्रकरणमा दोषी ठहर भएका महोत्तरीका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरको आदेशपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ परेका कोइरीलाई शुक्रबार जिल्ला अदालत जलेश्वरमा उपस्थित गराएको थियो । अदालतले उच्च अदालत जनकपुरको फैसला अनुसार पाँच वर्ष कैद सजाय कार्यान्वयन गर्न कारागार पठाउने आदेश दिएपछि उनलाई जलेश्वर कारागार चलान गरिएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी पञ्चलाल गोलेका अनुसार अदालतको आदेश प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कोइरीलाई कैद भुक्तानका लागि कारागार पठाइएको हो ।
कोइरीलाई बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका–५ बाट पक्राउ गरिएको थियो । प्रहरीका अनुसार उनी गौशाला नगरपालिका–२, निगौल निवासी हुन् । उच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
२०७२ साल भदौ २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीको सदरमुकाम जलेश्वर क्षेत्रमा ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या घटनासँग सम्बन्धित हो ।
यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो । तर सो फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै कर्तव्य ज्यान मुद्दामा लक्ष्मी महतो कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
उच्च अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको र अदालतको आदेशपछि उनलाई जलेश्वर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार अदालतबाट भएको फैसला कार्यान्वयन गराउने अभियानअन्तर्गत अन्य फरार रहेका सजाय प्राप्त व्यक्तिहरूको खोजी र पक्राउलाई समेत तीव्रता दिइएको छ ।






