
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड(सेन्टकम) ले स्ट्रेट अफ होर्मुजमा इरानले जहाजहरूलाई धम्की दिने क्षमता कमजोर पारेको दाबी गरेको छ । अमेरिकाको पछिल्लो आक्रमणपछि होर्मुज क्षेत्रमा प्रयोग हुने शक्ति कमजोर पारेको सेन्टकमको दाबी छ ।
सेन्टकमका कमान्डर ब्राड कुपरले सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश सार्वजनिक गरेर यसै हप्ता गरिएको आक्रमणमा इरानका क्रुज मिसाइल र अन्य हतियार भण्डारण गर्ने भूमिगत संरचना नष्ट पारेको बताएका छन् ।
उनका अनुसार उक्त आक्रमणमा हतियार भण्डारणस्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्न प्रयोग हुने गुप्तचर सहयोगी केन्द्रहरू तथा मिसाइल रडार प्रणालीसमेत ध्वस्त पारिएको छ ।
‘जसको परिणामस्वरूप होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्याउने इरानको क्षमता कमजोर भएको छ,’ कुपरले भनेका छन्, ‘र, हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ ।
भिडिओ सन्देशमै कुपरले हालसम्म अमेरिकाले ८ हजार भन्दा बढी इरानी सैन्य ठिकानाहरूमा आक्रमण गरिसकेको बताउँदै जसमा १३० वटा इरानी समुद्री जहाज पनि परेको बताएका छन् । –बीबीसीबाट








































































































