Advertisement
ताजा खबर
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मानवीय कमजोरीले हुन्छन् ८८.३५ प्रतिशत सवारी दुर्घटना

प्रतिक्षा खबर
२०८० माघ ९, मंगलवार १६:०५

अच्युत पुरी अच्युत पुरी
९ माघ, काठमाडौं । नेपालमा हुने सवारी दुर्घटनामध्ये ८८.३५ प्रतिशत मानवीय कारण हुने गरेको पाइएको छ ।
तत्कालीन भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ११ माघ २०७९ मा गठन गरेको यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले सोमबार आफ्नो प्रतिवेदन यातायात व्यवस्था विभागमा बुझाएको छ ।
पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको उक्त कार्यदलको प्रतिवेदनअनुसार नेपालमा ८८.३५ प्रतिशत दुर्घटना मानवीय कारण हुने गरेका छन् ।
यसबाहेक सवारीसाधन, यात्रु, सडक अवस्था र मौसम अवस्थाले समेत दुर्घटना हुने कार्यदलको प्रतिवेदनमा औंल्याइएको छ । यसबीच नेपालमा सवारी दुर्घटनाको पछिल्लो पाँच वर्षको तथ्यांक नियालेर अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
मानवीय कारणमा चालकको ज्ञान, सीप र क्षमता, मानसिक अवस्था र पैदल यात्रुको अवस्थाले समेत दुर्घटना निम्त्याउने गरेको देखिएको छ ।
यान्त्रिक कारणमा सवारीसाधनको अवस्था, भारवहन क्षमता र सवारी गतिलाई मुख्य कारण मानिएको छ । सडक अवस्थामा भौतिक अवस्था, सडक संकेत तथा बार, सडकको अन्य प्रयोग, चौपायाका कारणसमेत दुर्घटना हुने गरेको कार्यदलको निष्कर्ष छ ।
मौसममा प्रकाश, वर्षा, कुहिरोजस्ता कारणसमेत दुर्घटना हुने कार्यदलको प्रतिवेदनमा छ । दुर्घटना न्यूनीकरणमा ट्राफिक अनुशासन कमी, नियमन अभाव आवश्यक हुने भन्दै यसमा कमी देखिएको प्रतिवेदनको निष्कर्ष छ । कार्यदलले विभागमा बुझाएको यो प्रतिवेदन मन्त्रालयमा बुझाइने छ ।
लापरवाह चालक/कमजोर नियमन
प्रतिवेदनअनुसार सवारी दुर्घटनामा चालकको अवस्थाले ठूलो भूमिका खेल्छ । चालकको शारीरिक र मानसिक अवस्था, ट्राफिक नियम पालना गर्ने प्रवृत्ति र सवारी चालकको दक्षता र सीपले दुर्घटना बढाउन वा न्यूनीकरणमा भूमिका खेल्ने गर्छ ।
थकित, कमजोर वा शारीरिक कमी/कमजोरी, मानसिक थकान, छिट्टै आवेशमा आउने प्रवृत्ति, मादक पदार्थ सेवन वा लागु औषध प्रयोगले समेत दुर्घटना निम्त्याइरहेको प्रतिवेदनमा छ ।
अर्कातर्फ, नियमन गराउने जिम्मेवार निकाय ट्राफिक प्रहरीको भूमिका र सक्रियतामा समेत कार्यदलले प्रश्न उठाएको छ । ‘सोहीकारण चालकको सडक अनुशासन सवारी दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित हुन्छ,’ प्रतिवेदनमा छ ।
सवारीसाधनको यान्त्रिक जाँच घरेलु तरिकाले
नेपालमा सवारीसाधनको यान्त्रिक जाँच घरेलु तरिकाले गर्दा सवारीसाधनको स्वास्थ्य सटिक नहुने कार्यदलको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
सार्वजनिक सवारीसाधनको बडी बनाउने काम छुट्टै र घरेलुरूपमा हुने र यसले सवारीसाधनको फ्रेमअनुसार प्राविधिक जाँच गरी सन्तुलन मिलाएर बडी निर्माण नहुँदा सवारी दुर्घटना बढ्न सक्ने प्रतिवेदनमा छ ।
सवारीसाधनको ब्रेक, हर्न, इन्जिन, बत्ती चुस्त राख्न नसक्दा सवारीसाधन चालकको नियन्त्रणमा नहुने र यसले दुर्घटना निम्त्याउने प्रतिवेदनले जनाएको छ ।
सडक निर्माण बेथितिले निम्त्याइरहेको छ दुर्घटना
सडक अवस्था र सडक निर्माणमा प्रयोग भएका प्रविधिले समेत दुर्घटना बढाउन र घटाउन भूमिका खेल्ने प्रतिवेदनको निष्कर्ष छ ।
सडकमा मोडहरूको अवस्था, चौडाइ, नियमित मर्मत नहुने प्रवृत्ति, तिखो चढाइ र भिरालो अवस्था, बढी दुर्घटनाग्रस्त क्षेत्रमा न्यूनीकरणका उपाय अवलम्बन नगर्दासमेत दुर्घटना दोहोरिएको पाइएको छ ।
पैदल यात्रु र सडक प्रयोगकर्ताका कारण बढ्दो जोखिम
पैदल यात्रुमैत्री संरचना नबन्नु र पैदल यात्रुले समेत ट्राफिक नियम परिपालनामा लापरबाही गर्दा दुर्घटना निम्तिने गर्छ । अर्कातर्फ, सडकलाई व्यक्तिगत र सामाजिक गतिविधिमा प्रयोग गर्दासमेत दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ ।
सडकमा चौपाया छाड्ने, टाँगा, घोडादेखि रिक्सा, साइकल, ठेलागाडासमेत तीव्र गतिमा कुद्ने सवारीसाधनसँगै चलाउँदा त्यसले सडक अनुशासन जटिल बनाइरहेको कार्यदलको निष्कर्ष छ ।
कस्तो हुन्छ मौसमको भूमिका ?
सानो इलाकाभित्र भौगोलिक विषमता नेपालको विशेषता हो । यही विशेषता सडक प्रयोगकर्ताका दृष्टिकोणबाट भने चूनौतीपूर्ण देखिएको छ । कुहिरो, बादल, पानी, बाढी–पहिरोजस्ता प्राकृतिक कारणसमेत सडकमा दुर्घटना निम्त्याएको पाइएको छ ।
खासगरी पहाडी भेगको कच्ची सडकमा पानी, बाढी, पहिरोले सवारीसाधनको गति र सन्तुलनलाई असर गर्दा दुर्घटना निम्तिने गरेको छ ।
कमजोर नियमले दुर्घटना गराउने प्रोत्साहित भए ?
चालकको क्षमता, सवारीसाधन अवस्था र ट्राफिक नियम परिपालना नहुँदा दुर्घटना बढिरहेको निष्कर्ष अध्ययनको छ ।
सवारी चालक इजाजत प्रणालीमा देखिएको अनियमितता र स्तरीयता अभावले सक्षम तथा दक्ष चालक उत्पादन हुन नसक्नु र दुर्घटनाका लागि सवारी चालकलाई जिम्मेवार बनाउन नसक्दा दुर्घटना दोहोरिरहने प्रवृत्ति देखिएको छ ।
जति ट्राफिक नियम उल्लंघन गरेर दुर्घटना गराए पनि सवारी चलाउन पाइने अधिकार नखोसिने व्यवस्थाले चालकलाई उत्तरदायी गराउन नसकिएको प्रतिवेदनमा छ ।
अर्कातर्फ, पाँच वर्षमा गरिने सवारी चालक अनुमतिपत्र नवीकरणको स्वास्थ्य परीक्षण औपचारिकतामा मात्र सीमित हुँदा त्यसले मनोवैज्ञानिक अवस्था र लागु औषध प्रयोग–गर्ने नगर्ने अध्ययन हुन सकेको छैन ।
ठूला सवारीसाधन इजाजत लिन सवारीसाधनमा सहायकका रूपमा काम गर्ने अवस्थाले रोजगारीका ठूला अवसर हुँदा पनि शिक्षित जमात सवारी चालकका रूपमा आकर्षित हुन नसक्नुलाई समेत चुनौतीका रूपमा लिइएको छ ।
बाटो इजाजत दिने प्रणाली, सडक पूर्वाधार बनाउँदा बस्ती निषेध नगर्ने परिपाटीसमेत दुर्घटना न्यूनीकरणको चुनौती मानिएको छ । स्थानीयस्तरमा बिनाइन्जिनियरिङ ज्ञान डोजरका भरमा बाटो बनाउने र सवारीसाधन चलाउने प्रवृत्तिले समेत दुर्घटनाको जोखिम निम्तिएको पाइएको छ ।
लोकमार्गहरूमा सडक पूर्वाधार हिस्साका रूपमा विश्रामस्थल नबनाइनु, इन्धन डिपो र व्यवस्थित रेस्टुरेन्ट अभावमा सवारीसाधन जथाभावी रोक्ने र यसले समेत दुर्घटना निम्तिने गरेको अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर