Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
☰

उपप्रमुख वा उपाध्यक्षको अनुगमन प्रतिवेदनविना भुक्तानी गर्नै मिल्दैन भन्नु गलत हाे ,उपाध्यक्ष र उप प्रमुखहरुकाे हस्ताक्षर चाहिदैन भुक्तानीमा

प्रतिक्षा खबर
२०८० कार्तिक २४, शुक्रबार ०६:३४

निर्माणाधीन आयोजना अलपत्र पर्नु र सम्पन्न आयोजना पनि गुणस्तरहीन हुनु नेपालको हकमा सामान्यजस्तै हुन थालेको छ । यस्तो हुनुमा आयोजना व्यवस्थापनको एउटा महत्वपूर्ण पक्ष अनुगमन प्रणाली प्रभावकारी नहुनुलाई जिम्मेवार मानिन्छ । तीनै तहका सरकारले आयोजना तथा कार्यक्रमको अनुगमनलाई प्रभावकारी बनाउने कुरा बर्सेनि नीति तथा कार्यक्रममार्फत प्रस्तुत गरिरहेकै हुन्छन् ।
राष्ट्रिय योजना आयोगले अनुगमन तथा मूल्यांकनसम्बन्धी कार्यमा रहेका अस्पष्टता हटाउन तथा त्यसलाई व्यवस्थित बनाउन अनुगमन तथा मूल्यांकन दिग्दर्शन, २०७५ जारी गरेको छ भने भर्खर मात्र राष्ट्रिय सभाले अनुगमन तथा मूल्यांकन विधयेक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । त्यसो त स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१६) ले उपप्रमुख÷उपाध्यक्षलाई स्थानीय तहबाट सञ्चालित आयोजना वा कार्यक्रमको अनुगमन र सुपरीवेक्षण गरी कार्यपालिकामा प्रतिवेदन पेस गर्ने जिम्मेवारी सुम्पेको छ । तर, जिम्मेवारी कार्यान्वयका विधि र प्रक्रियाबारे रहेको अस्पष्टता र गलत प्रयोगका कारण समस्या सिर्जना हुनुका साथै अधिकार प्रयोगमा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने निकायबीच द्वन्द्व सिर्जना हुन थालेको छ ।
यसअघि कर्मचारीमा मात्र सीमित रहेको अनुगमनमा जनप्रतिनिधिलाई समेत जिम्मेवार बनाइएको छ । तर, यही कानुनी प्रावधानलाई टेकेर स्थानीय तहका उपाध्यक्ष/उपप्रमुखले आयोजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया पनि आफ्नो नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिन थालेका छन् । उनीहरूका अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीलाई जनप्रतिनिधिले नियन्त्रण र निगरानीमा राख्नुपर्छ ।
उपाध्यक्ष/उपप्रमुखको प्रतिवेदन र सिफारिसविना भुक्तानी गर्न नहुने उनीहरूको तर्क छ । यही आधारमा कतिपय स्थानीय तहमा अन्तिम भुक्तानीका लागि उपाध्यक्ष/उपप्रमुखको सिफारिसलाई अनिवार्य बनाइएको पनि छ । परिणामतः स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाको गलत प्रयोगले जनप्रतिनिधि र कर्मचारीको क्षेत्राधिकारमा द्वन्द्व उत्पन्न हुन थालेको छ । साथै, उपाध्यक्ष÷उपप्रमुख पनि त्यही कारण अख्तियारको फन्दामा पर्न थालेका छन् ।
यसरी हेर्दा आर्थिक कारोबार गर्ने कुनै अख्तियारी वा अधिकार नै नभएका स्थानीय तहका उपाध्यक्ष÷उपप्रमुख सोही कारण अख्तियारको फन्दामा पर्नु आश्चर्यको विषय हो । स्थानीय तहका उपप्रमुख/उपाध्यक्षले आफ्नो काम, कर्तव्य र अधिकार क्षेत्रभित्रका विषय एवं उल्लिखित शब्दको अर्थ र परिभाषाबारे जानकार हुन आवश्यक छ ।
राष्ट्रिय सभाबाट पारित अनुगमन तथा मूल्यांकन विधेयक र राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको अनुगमन तथा मूल्यांकन दिग्दर्शन, २०७५ ले अनुगमन र मूल्यांकनलाई फरक–फरक विषयका रूपमा परिभाषा गरेको छ । जसअनुसार योजना कार्यान्वयनमा स्रोत तथा साधनको प्रवाह उचित ढंगले भए/नभएको तथा अपेक्षित नतिजा हासिल भए÷नभएको सम्बन्धमा निगरानी, निरीक्षण, अवलोकन, सूचना संकलन, विश्लेषण तथा सुधार कार्यलाई अनुगमन भनी परिभाषित गरेको छ । त्यसैगरी, मूल्यांकन भन्नाले योजना सुरु गर्नुअघि, बीच र अन्त्यमा उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले गरिएको अध्ययन भनी परिभाषित गरेको छ । मूल्यांकनले कार्यक्रम वा आयोजनाको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता, दिगोपना र प्रभावलगायत विषयको अध्ययन गर्छ । जहाँ अनुगमनले कार्यान्वयनको चरणमा भएका प्रगति, गुणस्तर, समस्या तथा चुनौतीबारे अध्ययन गर्छ ।
जिम्मेवारी कार्यान्वयनका विधि र प्रक्रियाबारे रहेको अस्पष्टता र गलत प्रयोगका कारण समस्या सिर्जना हुनुका साथै अधिकार प्रयोगमा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने निकायबीच द्वन्द्व सिर्जना हुन थालेको छ
अनुगमन आयोजना वा कार्यक्रम कार्यान्वयनको अवधिभर गरिने योजनाको एक प्रक्रिया हो । अनुगमनले आयोजना कार्यान्वयनको चरणमा लक्ष्यअनुसार काम भए÷नभएको, गुणस्तर रहे/नरहेको तथा कार्यान्वयनको चरणमा आइपरेका समस्या तथा चुनौती के–के छन् भन्नेबारे जानकारी दिन्छ । आयोजना वा कार्यक्रम नीति नियमअनुसार सञ्चालन भइरहेका छन् वा छैनन् ? गुणस्तर कायम गरिएको छ वा छैन ? आयोजना वा कार्यक्रम कार्यान्वयनको अवस्था के छ ?
कार्यान्वयनको चरणमा कुनै समस्या तथा चुनौती आइपरेका छन् वा छैनन् ? भन्नेबारे निर्णयकर्ता वा व्यवस्थापनलाई सही सूचना वा जानकारी दिनु हो । साथै, आयोजना वा कार्यक्रम कार्यान्वयनका क्रममा देखा परेका जोखिम कम गर्न, स्रोतको सही व्यवस्थापन गर्न, पारदर्शिता र जवाफदेहिता कायम गर्न, समस्या तथा चुनौती पहिचान गरी निराकरण गर्न, योजना कार्यान्वयनलाई निरन्तर सुधार गर्न र तथ्यांक वा प्रमाणका आधारमा योजना वा कार्यक्रमबारे आवश्यक निर्णय लिने कार्यमा अनुगमनले सहयोग गर्ने हो । अनुगमन गर्नु भनेको मूल्यांकन गर्नु वा भुक्तानीका लागि निरीक्षण गर्नु होइन ।
उपप्रमुख वा उपाध्यक्षको अनुगमन प्रतिवेदनविना भुक्तानी गर्नै मिल्दैन भन्नु गलत अवधारणा र गलत अभ्यास मात्र होइन, कानुनको गलत व्याख्या र गलत प्रयोगसमेत हो । त्यसैले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(ख) ५ अनुसार ‘योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने’ भन्नुको अर्थ उपाध्यक्ष वा उपप्रमुखले विभिन्न विधि प्रयोग गरी अनुगमन तथा सुपरीवेक्षण गर्ने र सोको प्रतिवेदन कार्यपालिका बैठकमा पेस गर्ने भन्ने हो । यसरी पेस भएको प्रतिवेदनउपर कार्यपालिकामा छलफल हुन्छ ।
कार्यपालिकाले अनुगमन गरिएको कार्यक्रम वा आयोजनाको प्रगति अवस्था, समस्या, चुनौती तथा सिफारिसबारे जानकारी लिन्छ । त्यसको अध्ययन गरेर कसैलाई सचेत गराउनुपर्ने भएमा सचेत गराउँछ । काम रोक्नैपर्ने अवस्था भएमा रोक्न आदेश दिन्छ । कामको गति बढाउनुपर्ने भएमा बढाउन आदेश दिन्छ । अनुगमन प्रतिवेदनमा प्रस्तुत सुझावबारे थप अध्ययन गर्न आवश्यक भएमा सो सम्बन्धमा थप निर्णय गर्ने र समस्या तथा चुनौती निराकरणका लागि आवश्यक निर्णय गर्छ ।
उपाध्यक्ष तथा उपप्रमुखले अनुगमनका क्रममा जे देखिन्छ, सरोकारवालासँगको छलफलबाट जे जानकारीमा आउँछ, त्यही उल्लेख गरी सुझावसहित कार्यपालिकामा पेस गर्ने हो, न कि भुक्तानीका लागि सिफारिस गर्ने । त्यसैले उपाध्यक्ष वा उपप्रमुखले हामीले हस्ताक्षर नगरेसम्म कुनै पनि योजना वा आयोजनाको भुक्तानी हुँदैन भन्ने भ्रम पाल्नु अज्ञानता हो । किनकि, कानुनतः भुक्तानीका लागि सिफारिस गर्ने अधिकार सम्बन्धित प्राविधिक कर्मचारीको हो । निर्माण व्यवसायी, परामर्शदाता तथा उपभोक्ता समितिमार्फत भएका काम लागत अनुमानअनुसार नभएमा, तोकिएअनुसार कामको गुणस्तर नभएमा, फर्जी बिल भरपाई पेस गरेमा, कानुनतः भुक्तानी रोक्ने अधिकार सम्बन्धित कर्मचारी, लेखाउत्तरदायी कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतमा मात्र हुन्छ । किनभने, खर्च गर्ने, लेखा राख्ने, प्राविधिक मूल्यांकन गर्ने, भुक्तानी दिने र फरफारक गर्ने पनि कर्मचारीले नै हो ।
दफा १६ मा अनुगमन र सुपरीवेक्षण उल्लेख भएकै भरमा जनप्रतिनिधिले अन्तिम भुक्तानीमा आफ्नो भूमिका खोज्नु अनुगमन र मूल्यांकनसम्बन्धी ज्ञानको अभावले पनि हुन सक्छ । तर, कर्मचारीले पनि कानुनी व्यवस्थाबारे सचेत गराउन छाडेर अन्तिम भुक्तानीका लागि तयार गरिने कागजातमा उपाध्यक्ष वा उपप्रमुखको हस्ताक्षर गराउनु कानुनको गलत व्याख्या र प्रयोगलाई बढावा दिनु हो । यदि यो प्रक्रिया समयमै रोक्न सकिएन भने प्रमुख प्रशासकीय अधिकृत, लेखा कर्मचारी र सम्बन्धित कर्मचारीसँगै जनप्रतिनिधिलाई पनि अख्तियारले तानिरहने देखिन्छ र भविष्यमा यो दर अझै बढ्ने निश्चित छ । तसर्थ, कानुनअनुसार आफ्नो काम, कर्तव्य र अधिकारलाई राम्रोसँग बुझेर काम गर्दा मात्र पनि जनप्रतिनिधि अहिले आइपरेका र भविष्यमा आइपर्न सक्ने समस्याबाट मुक्त हुन सक्ने देखिन्छ ।
जनप्रतिनिधिबाट निरन्तर उठ्दै गरेको एउटा प्रश्न के हो भने के आफ्नो पालिकाभित्र भएका योजना वा कार्यक्रमको गुणस्तर कार्यान्वयन भएन भने त्यसलाई रोक्ने अधिकार जनप्रतिनिधिलाई छैन र ? अवश्य छ । अहिलेको अनुगमनसम्बन्धी कानुनी व्यवस्थाअनुसार पनि काम गुणस्तरीय भइरहेको छैन भने अनुगमन प्रतिवेदनमा काम रोक्ने सुझाव दिन सकिन्छ र कार्यापालिकामार्फत सोसम्बन्धी निर्णय गर्न सकिन्छ । तर, विद्यमान कानुनले भुक्तानीका लागि निर्णय गर्ने वा सिफारिस गर्ने अधिकार भने नदिएको स्पष्ट छ ।
उपाध्यक्ष वा उपप्रमुखको कार्यजिम्मेवारी पर्याप्त भएन भन्ने सुनिन्छ । तर काम, कार्यबोझ कम भयो भन्दैमा कानुनी व्यवस्थाबाहिर गएर काम गर्ने अधिकार कसैलाई पनि हुँदैन । त्यसैले उनीहरूको तर्क स्विकार्न सकिँदैन । उनीहरूको कार्यबोझ कम भयो भन्नुमा कानुनमा भएका व्यवस्थाबारे पूर्ण जानकारी नहुनु पनि हुन सक्छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ ले उपाध्यक्ष वा उपप्रमुखका लागि आठवटा काम, कर्तव्य र अधिकार तोकेको छ ।
जसअनुसार न्यायिक समितिको संयोजकका रूपमा काम गर्ने, गैरसरकारी संस्थाका कार्यको समन्वय गर्ने, उपभोक्ताहित संरक्षणसम्बन्धी कार्यको समन्वय गर्ने र योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्नेलगायत रहेका छन् । साथै, कार्यपालिका सदस्य र गाउँ तथा नगरसभा सदस्यका रूपमा गर्नुपर्ने कार्य त नियमित रूपमा रहेकै हुन्छन् । सोही ऐनको दफा ४७ को उपदफा १ र २ मा गरी २४ वटा क्षेत्रमा विवाद निरूपण गर्ने न्यायिक अधिकार दिएको देखिन्छ । त्यसैगरी, दफा ६५ मा स्थानीय राजस्व परामर्श समितिको संयोजक भई काम गर्ने जिम्मेवारी प्रदान गरेको देखिन्छ । सो समितिलाई विभिन्न ६ वटा काम, कर्तव्य र अधिकार प्रत्यायोजित गरेको पाइन्छ ।
अहिलेको अवस्थामा स्थानीय सरकारको आन्तरिक आयलाई लिएर संघीयताकै स्थायित्वमा प्रश्न उठ्न थालिसकेको अवस्थामा स्थानीय सरकारको आन्तरिक आय वृद्धि गर्ने प्रमुख स्रोत राजस्वको प्रभावकारी परिचालनको जिम्मेवारी पाउनु आफैँमा न्यायिक निरूपण र अनुगमनभन्दा कम महत्वपूर्ण होइन । त्यसैगरी, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, स्रोत अनुमान तथा बजेट निर्धारण गर्ने र बजेट प्रस्तुत गर्नेलगायत कानुनले तोकेका काम गर्दा नै स्थानीय सरकारका उपप्रमुख र उपाध्यक्षलाई पर्याप्त कार्यबोझ देखिन्छ ।
कार्यबोझका कारण मूल्यांकनसम्बन्धी कार्य गरेको भन्ने तर्क कुनै पनि हिसाबले पुष्टि नहुने मात्र होइन, अनुगमन र मूल्यांकनसम्बन्धी ज्ञानको कमीसमेत भएको ठहरिन्छ । उपाध्यक्ष वा उपप्रमुखहरूको अनुगमन र मूल्यांकनसम्बन्धी क्षमता अभिवृद्धि गर्न आवश्यक देखिन्छ । यदि अहिलेको अवस्थालाई नै निरन्तरता दिने हो भने अनुगमनका लागि पाएको जिम्मेवारी जानेर वा नजानेर मूल्यांकनको काममा प्रयोग हुन जान्छ ।
जुन कानुनको गलत प्रयोग मात्र होइन, गलत व्याख्यासमेत हुन जान्छ । कानुनको गलत प्रयोग गरी अधिकारको दुरुपयोगले स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबीच कार्यक्षेत्रको विवाद उत्पन्न हुने तथा उपाध्यक्ष र उपप्रमुखलाई तोकिएका अन्य काम, कर्तव्य पूरा नहुने हुँदा स्थानीय सरकारको कार्यदक्षता र कार्यक्षमतामा समेत प्रश्न उठ्न सक्छ । त्यसैले अनुगमन तथा मूल्यांकनसम्बन्धी व्यवस्थाको बुझाइमा एकरूपता ल्याउन कर्मचारी र जनप्रतिनिधिको सोसम्बन्धी क्षमता विकासमा तीनै तहका सरकार लाग्नुपर्ने देखिन्छ ।नाया पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर