महोत्तरीमा तस्करीको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको पिकअप फेरि चाइनिज स्याउ तस्करीमै प्रयोग भएको खुलासा भएपछि भन्सार, तस्कर र बिचौलियाबीचको सम्भावित सेटिङमाथि थप प्रश्न उठेको छ।
मलिवाडा भिठामोड भन्सार कार्यालयले केही दिनअघि मुद्दा नै नचलाइ फिर्ता गरेको प्र–१–०४–००१ च ०४१४ नम्बरको पिकअप फेरि चाइनिज स्याउ लोड गरी भारत प्रवेश गरिरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। भारतको सिरसिया डिमाही पिलर नम्बर ३१० मा सिमा सुरक्षा बल ५१ बटालियनले उक्त तस्करीका समान र गाडी सहित पक्राउ गरेको छ ।

यसअघि सशस्त्र प्रहरी बल महोत्तरीले गत १९ गते राति इटहर्बाकट्टी नाकाबाट तीन वटा पिकअप नियन्त्रणमा लिएको थियो। ती गाडीमा करिब ६ हजार किलो चाइनिज स्याउ रहेको र सामानको मूल्य ४१ लाख ७० हजार ५ सय रुपैयाँ बराबर रहेको प्रहरी प्रतिवेदनमा उल्लेख थियो। प्रारम्भिक अनुसन्धानमा सामान भन्सार छल्दै भारततर्फ लैजान खोजिएको देखिएको थियो भने प्रहरी पुगेपछि चालकहरू गाडी छोडेर फरार भएका थिए।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुझाएको सामानमा भन्सार कार्यालयले लिलामी सूचना समेत निकालेको थियो। तर, सोही दिन केही घण्टामै मुद्दा नचलाउने निर्णय गर्दै सामान र गाडी फिर्ता गरिएको थियो।
स्थानीयका अनुसार सुरुदेखि नै केही बिचौलियाको सक्रियतामा भन्सार कार्यालयबाट गाडी छुटाइएको चर्चा थियो। अहिले सोही गाडी फेरि तस्करीमा समातिएपछि भन्सार कर्मचारी, तस्कर र बिचौलियाबीच मिलेमतो रहेको आशंका थप बलियो बनेको छ।
स्थानीय नागरिक तथा राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।