महोत्तरी,गोपाल झा , बैसाख ९ गते
महोत्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद उज्ज्वल झाले सीमावर्ती क्षेत्रमा सर्वसाधारणले भोगिरहेका दैनिक समस्याप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनले सर्वसाधारणले आफ्नो प्रयोगका लागि भारतीय बजारबाट ल्याउने सामान्य सामग्रीमा समेत कडाइ गरिएको नियमलाई व्यवहारिक बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
जिल्लाको सीमावर्ती क्षेत्र भिठामोड र मटिहानीमा गरिएको स्थलगत अनुगमन तथा स्थानीयसँगको प्रत्यक्ष भेटघाटका क्रममा सर्वसाधारणले विभिन्न समस्या तथा गुनासो सुनाएका थिए । स्थानीयले विशेषगरी भारतीय बजारबाट घर खर्चकोलागी समेत एक सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री ल्याउँदा भन्सार तिर्नुपर्ने नियमका कारण दैनिक जीवनमा अनावश्यक झन्झट खेप्नुपरेको बताएका छन् ।
अनुगमन टोलीमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख चन्दन झा, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्ट लगायत भिठामोड–मटिहानी भन्सार कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
स्थानीय बासिन्दाहरूले सीमामा अनावश्यक जाँच, प्रक्रिया ढिलाइ तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार आवश्यक रहेको औँल्याएका छन् । उनीहरूले राज्यले जनताको दैनिक जीवन सहज हुने गरी नीति तथा कार्यान्वयनमा सुधार गर्नुपर्ने आग्रह गरेका छन् ।
सांसद झाले अनुगमनका क्रममा उठेका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै यी समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने आश्वासन दिएका छन् । उनले स्थानीय जनताको अपेक्षाअनुसार सेवा प्रवाहमा सुधार ल्याउन आफू निरन्तर सक्रिय रहने बिश्वास ब्यक्त गरेका छन् ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि सहज र व्यवहारिक व्यवस्था लागू गर्न आवश्यक रहेको भन्दै सांसद झाले सरकार तथा सम्बन्धित निकायबीच समन्वय बढाएर प्रभावकारी समाधान निकाल्ने कुरामा जोड दिएका छन् ।






