
काठमाडौँ । ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडाँैमा आयोजित एक कार्यक्रममा भनिन्, ‘म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रममा नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् ।
उनले नेकपा एमालेलाई अनुरोध गर्दै थप भनिन्, ‘मैले भन्न खाजेको के हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाटै राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।
झट्ट सुन्दा यो अभिव्यक्ति कुनै नौलो र ठुलो कुरा होइन । तर व्यक्ति विशेषका हकमा भने यस्तो अभिव्यक्ति अलि नसुहाउँदो सुनिन्छ । भण्डारीको यो अभिव्यक्तिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने उनलाई देशको भन्दा पनि नेकपा एमालेको बढी चिन्ता रहेको देखिन्छ ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको पनि बताइन् । उनको यो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली वा अरु सक्रिय राजनीतिमा रहेका कुनै नेताको भन्दा फरक छैन ।
त्यतिमात्रै होइन, भण्डारीले सोही कार्यक्रममा जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको भन्दै जबजको सिद्धान्तलाई मान्नेहरूले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।
यसबाट भण्डारीको राजनीतिप्रतिको चाहना कति छ भन्ने पनि प्रस्टै हुन्छ । राष्ट्रपति देशको अभिभावक हो । यस्तो पदमा रहिसकेको व्यक्तिको सामाजिक गतिविधि साझा र सबैले मान्ने खालको हुनुपर्छ भन्ने आम बुझाइ छ । त्यस्तो पदमा बसिसकेर बाहिरिएको व्यक्तिले कुनै एक पार्टी विशेषको चिन्ता गर्न नसुहाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
कार्यकर्ताकै हैसियत देखाउनुभयो : विजयकान्त कर्ण
पूर्वराजदूत विजयकान्त कर्णले पनि पूर्वराष्ट्रपति भण्डारीले त्यसरी कुनै एक पार्टीको चिन्ता गर्नु शोभनीय नभएको बताए ।
‘कुन मानिस कुन पदका लागि उपयुक्त हुन्छ भन्ने कुरामा पनि यो भर गर्छ । पहिलो त विद्यादेवी भण्डारी राष्ट्रपतिका लागि उपयुक्त पात्र नै हुनुहुन्थेन । उहाँमा त्यस्तो कुनै क्षमता थिएन’, कर्णले भने, ‘किनभने राष्ट्रपति पदमा रहँदा पनि उहाँले पार्टी नै छाड्नुभएन । राष्ट्रपति हुँदा पनि उहाँले कार्यकर्ताकै हैसियत देखाउनुभएकाले अहिले एमालेको चिन्ता गर्नु अस्वाभाविक होइन ।’
त्यसो त कर्णले भण्डारी राष्ट्रपति भएकै बेलामा पनि विवादरहित बन्न नसकेको बताए । कर्णले त्यसबेलाको घटना स्मरण गर्दै भने, ‘त्यसबेला पनि उहाँ पार्टीको झगडा मिलाउने, नेताहरू भेट्ने, आफ्ना मानिसलाई मन्त्री बनाउने काम गर्नुहुन्थ्यो ।
राष्ट्रपति हुँदा भण्डारीले एमालेको पार्टी सदस्यबाट राजीनामा दिएँ भनेर ढाँटेको समेत कर्णको आरोप छ । ‘अहिले केही महिनाअघि मात्र उहाँको एमालेमा पार्टी सदस्यता नवीकरण भयो । रिजाइन गरेको त रिन्यु हुँदैन । कसरी भयो त ?’, कर्णको प्रश्न छ । यी विभिन्न कारणले भण्डारीमा अझै पनि राजनीति गर्ने चाहना रहेको बुझ्न सकिने कर्णको भनाइ छ ।
‘राष्ट्रपति हुँदा पनि उहाँले विदेश नीतिमा हस्तक्षेप गर्नुभयो । त्यसबेला प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले हुँदैन भन्दाभन्दै चीनमा भएको ग्लोबल सुरक्षासम्बन्धी कार्यक्रममा उहाँले भाग लिनुभयो’, कर्णले भने ।
त्यस्तै भण्डारीले दुई–दुई पटक संसद विघटन गरेर असंवैधानिक काम गरेको कर्णले बताए । ‘संवैधानिक रूपमा भन्ने हो भने त उहाँमाथि त्यसबेला महाअभियोग लाग्नुपर्ने थियो । संविधानले अधिकार नै नदिएको काम उहाँले गर्नुभएको छ’, उनले भने । अरु पार्टीले बहुमत सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीका लागि शीतलनिवास जाँदा ६ घण्टासम्म भेट नदिएर ओलीलाई नै तत्कालीन राष्ट्रपति भण्डारीले प्रधानमन्त्री बनाएको उनको आरोप छ ।
‘जब राष्ट्रपतिको कार्यकाल सकियो, उहाँ राजनीतिमा लाग्छु भन्न थाल्नुभयो । कानुनी रूपमा उहाँलाई राजनीति गर्न कुनै अप्ठ्यारो नहोला तर त्यस्तो महत्त्वपूर्ण पदमा बसिसकेको मानिसमा नैतिक जिम्मेवारीको कुरा पनि हुन्छ’, पूर्वराजदूत कर्णले भने ।
उनले देशको साझा भइसकेको व्यक्ति त्यसमाथि पनि पूर्वराष्ट्रपतिले पाउने सुविधा सरकारबाट लिइरहेको अवस्थामा कुनै पार्टीको पक्षमा बोल्ने वा पक्षपोषण गर्नु उचित नभएको बताए । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वतन्त्र नै बसिरहेको उदाहरण दिँदै कर्णले भण्डारीलाई राजनीति गर्ने मन भए पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सवै सुविधा त्याग्नुपर्ने प्रस्ट पारे ।
‘विद्या भण्डारीलाई राजनीति नै गर्न मन भए राज्यले दिएका सवै सुविधा छाडेर लाग्दा हुन्छ । यसरी डबल स्टाण्डको भूमिका खेल्नु राम्रो होइन’, कर्णले भने ।
पद अनुसारको कद होइन : विश्लेषक श्रेष्ठ
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पूर्वराष्ट्रपति भनेको देशकै साझा र सबैले मान्ने व्यक्ति हुने भएकाले त्यसरी कुनै एक पार्टी विशेषको चिन्ता र पक्षपोषण गर्न उचित नहुने बताउँछन् ।
‘राष्ट्रपति हुनका लागि पार्टीका सबै पद त्याग गरेको हुन्छ । व्यक्ति स्वतन्त्र भइसकेपछि मात्र राष्ट्रपति हुन पाउँछ’, विश्लेषक श्रेष्ठले भने, ‘राष्ट्रपति पद छाडिसकेपछि समेत आस्था जहाँसुकै भए पनि त्यो मर्म र मान्यता पालना गर्न सक्नुपर्छ ।’

श्रेष्ठले मानिसको आस्था र भोट खसाल्ने अधिकारमा स्वतन्त्रता हुने भए पनि सबैले मानेकाले पद अनुसारको कद जोगाउन सक्नुपर्ने बताए ।
‘कुनै एउटा पार्टीको चिन्ता लिएर हिँड्नु पूर्वराष्ट्रपति भण्डारीको कद होइन । उहाँ हिँड्नुभयो । त्यो पद अनुसारको कद भएन’, श्रेष्ठले भने, ‘यदि उहाँले चिन्ता नै गर्नुपर्ने भए देशको चिन्ता गर्नुपर्दथ्यो ।’
देशमा यावत् समस्या रहेको भन्दै श्रेष्ठले बरु ती समस्या समाधानका लागि पूर्वराष्ट्रपतिले सल्लाह र सुझाव दिनसक्नुपर्ने बताए । ‘अमेरिकाजस्तो भए कुनै पार्टी विशेषको चिन्ता वा पक्ष लिँदा केही फरक पर्दैन’, उनले रातोपाटीसँग भने, ‘तर नेपालमा अमेरिकाको जस्तो प्रबन्ध छैन । उहाँ त स्वतन्त्र नै बस्नु राम्रो हुन्छ । किनभने देशलाई केही त्यस्ता मानिस चाहिन्छन्, जो सबैले मान्ने र सबैका साझा हुन्छन् । जसले देशलाई सङ्कट पर्दा पनि उचित पहलकदमी लिन सकोस् ।’
के–के छन् पूर्वराष्ट्रपतिका सुविधा ?
२०७९ मा भएको निर्वाचनपछि सोही सालको फागुन २९ गते भण्डारीको कार्यकाल सकिएको हो । हाल उनी बुढानीलकण्ठस्थित भंगालमा बस्दै आएकी छन् । यतिसम्म कि, भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने घरको भाडासमेत सरकारले तिर्ने गरेको छ । जसको मासिक भाडा एक लाख रुपैयाँ रहेको बताइन्छ ।
त्यसबाहेक भण्डारी र उनका सचिवालयका कर्मचारीको खातामा मासिक रूपमा भत्ता तथा तलब जाने गरेको छ ।
भण्डारीले पनि मासिक ५० हजार भत्ता पाउँछिन् । सरकारी सुविधाको गाडी नलिए पनि मासिक दुई सय सात लिटर इन्धन, उपसचिवस्तरका एक स्वकीय सचिव, एक कार्यालय सहयोगी र एक चालकको सुविधा उपलब्ध गराएको छ । त्यसबाहेक पत्रपत्रिका खर्च मासिक तीन हजार र टेलिफोन खर्च मासिक एक हजार सुविधा पनि भण्डारीले लिने गरेकी छन् । भण्डारीको सुरक्षामा २० सुरक्षाकर्मी खटिएका छन् ।






