Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित
☰

मधेश प्रदेश सभाको एक वर्षको काम बजेट पास

प्रतिक्षा खबर
२०८० पुष १५, आईतवार १९:५५

१५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्ष आज पूरा भएको छ । १५ पुस २०७९ मा दोस्रो कार्यकालका लागि चुनिएका मधेश प्रदेश सभाका १०४ सदस्य (पहिले १ र पछि २) गरी १०७ जनाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रदेश सभा सचिवालयका प्रवक्ता अरुणकुमार झाका अनुसार, एक वर्षमा पहिलो अधिवेशनमा ३६ वटा बैठक बसेको थियो । चालु दोस्रो अधिवेशनमा ११ वटा बैठक बसेर हाल बैठक स्थगित भएको छ ।
यो अवधिमा प्रदेश सभामा जम्मा ९ वटा विधेयक पेश भएका छन् । जसमध्ये मधेश प्रदेशको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८०, र मधेश प्रदेश विनियोजन विधेयक २०८० मात्रै पारित हुनसकेको प्रवक्ता झाले जानकारी दिए ।
आर्थिक र विनियोजन विधेयकलाई छुट्टै कानुनका रूपमा गणना गर्ने चलन छैन । यी दुई विधेयक वर्षेनि बजेट तथा राजस्व निर्धारण गर्नेसँग सम्बन्धित छन् ।
अर्को पास भएको विधेयक पनि केही ऐन संशोधन गर्न बनेको विधेयक पास भएको हो । त्यो पनि साविक प्रदेश नं. २ उल्लेख भएका ऐनहरूमा ‘मधेश प्रदेश’ उल्लेख गर्नका लागि पारित गरिएको हो । यसरी हेर्दा दोस्रो कार्यकालमा प्रदेशसभाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट मात्रै पास गरेको हो ।
यो अवधिमा प्रदेश सभामा टेबल भएका ६ वटा विधेयक प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बाल अधिकार ऐन २०७९ को पहिलो संशोधन विधेयक छन् ।
यस्तै मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास विधेयक २०८० र स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० छन् । यी विधेयकहरू छलफलकै क्रममा विचाराधीन छन् ।
सरकारले बिजनेस नदिंदा प्रदेशसभाले अपेक्षित काम गर्न नसकेको सभामुख रामचन्द्र मण्डलको भनाइ छ । ‘प्रदेश सभालाई बिजनेस चाहियो, बिजनेसको अभाव छ’, सभामुख मण्डलले अनलाइनखबरसँग भने ।
उनले विगतको जस्तो हतारमा कानुन बनाउन नचाहेकोले पनि विधेयकहरू छलफलको क्रममा रहेको बताए । ‘अधिल्लो कार्यकालको जस्तो हामी हतार–हतारमा कानुन बनाउन चाहँदैनौं । परिपक्व कानुन बनोस् भन्ने हाम्रो चाहना छ’, उनले भने ।
अपेक्षित काम नगरे पनि यो १२ महिनामा सभामुख, उपसभामुख, तिनका सचिवालय, सांसदहरू र तिनका स्वकीय सचिव, दलका नेता, प्रमुख सचेतक, तिनका सचिवालय, संसदीय समितिका सभापति, तिनका सचिवालय लगायतको तलब सुविधामा मात्रै करिब ८० करोड रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।
प्रदेश सभाको मात्र होइन, प्रदेशका सातवटै संसदीय समितिको भूमिका पनि कमजोर देखिएको छ । १ मंसिरमा मात्रै मधेश प्रदेश सभाका सातवटै संसदीय समितिका सभापति चयन भएका थिए । २ असारमा पाँचवटा र १४ मंसिरमा कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समिति सभापतिको चयन भएको थियो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने एकभन्दा बढी सांसद रहेका सातवटा दलले भागबन्डामा समिति सभापति लिएका छन् । पहिले गठन भएको समितिमा १२ वटासम्म बैठक बसेको छ, तर काम भने खासै प्रभावकारी देखएको छैन ।
प्रदेश मामिला समिति : भर्खरै नेतृत्व पाएको प्रदेश मामिला समितिको तीनवटा बैठक बसेको छ । बैठकहरूमा आगामी कामकारबाही, समिति सञ्चालन विषयमा कार्यविधि बनाउने छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ । स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० समितिमा छलफलको क्रममा छ ।
अर्थ तथा योजना समिति : अर्थ तथा योजना समितिको सबैभन्दा बढी बैठक बसेको छ । प्रदेशसभा सचिवालयले उपलब्ध गराएको जानकारी अनुसार समितिले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र एनजिओ तथा आईएनजिओका प्रतिनिधिहरूसँग सीआरएस (सामाजिक जवाफदेहिता) सम्बन्धमा छलफल गरेको हो ।
विकास समिति : विकास समितिका ९ वटा बैठक बसेका छन् । समितिमा मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० छलफलको क्रममा छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको अपुरो योजनाहरूका बारेमा मन्त्रालयबाट जानकारी माग गरेको छ भने केहीको अनुगमन गरेको सचिवालयले जनाएको छ ।
कृषि तथा भूमि व्यवस्थापन समिति : केही समय अघि मात्र नेतृत्व पाएको कृषि तथा भूमि व्यवस्थापन समितिको तीनवटा बैठक बसेका छन् । समितिले भूमि व्यवस्था तथा कृषि मन्त्रालय मातहतमा रहेको ज्ञानकेन्द्रहरू तथा पशु अस्पतालहरूका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
यस्तै कृषि क्षेत्रमा अनुदानको राहत वितरणमा वास्तविक कृषकले नपाउने सम्बन्धी गुनासो आएकाले त्यसको समाधान गर्न सम्बन्धित मन्त्रालयबाट राहत वितरण सम्बन्धी योजनाको विषयमा जानकारी माग गरिएको हो ।
सार्वजनिक तथा लेखा समिति : सार्वजनिक तथा लेखा समितिको जम्मा ११ वटा बैठक बसेका छन् । जसमा महालेखा परीक्षकको प्रतिवेदनका आधारमा औंल्याइएको गत आर्थिक वर्ष २०७९/८० को बेरुजु फस्र्योटको विषयमा छलफल हुनुका साथै, यस विषयमा मन्त्रालयका सचिवहरूसँग छलफल भएको समितिको सचिवालयले जनाएको छ ।
महिला बालबालिका तथा सामाजिक न्याय समिति : महिला बालबालिका तथा सामाजिक न्याय समितिका ११ वटा बैठक बसेका छन् । प्रदेशसभा सचिवालयका अनुसार यो समितिमा प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ छलफलको अन्तिम चरणमा छ । यस्तै प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पनि छलफलको क्रममा छ । त्यस्तै सर्लाही र रौतहटमा अनुगमनको काम पनि यो समितिले गरेको सचिवालयले जनाएको छ ।
प्राकृतिक स्रोत तथा वातावरण समिति : प्राकृतिक स्रोत तथा वातावरण समितिका ११ वटा बैठक बसेका छन् । यो समितिमा विशेषगरी नदीनाला दोहनको बारेमा छलफल र अनुगमनको काम भएको छ भने नियन्त्रण गर्न वन मन्त्रालयलाई सुझाव सहित निर्देशन दिएको छ ।
संसदीय छानबिन समितिले पाँच महिनामा पनि प्रतिवेदन बुझाएन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार २६ असार २०८० मा मधेश प्रदेशसभाले उपसभामुख बबिताकुमारी यादवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । मधेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटा दलका एक–एक जना सांसद मिलाएर विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो ।
पछि उपसभामुखले राजीनामा दिएपछि लोसपाका सांसद उपेन्द्र महतोलाई समितिको सभापति बनाइएको थियो । काम थालेको दुई महिना भित्र प्रतिवेदन बुझाउनुपर्नेमा समितिले अझैसम्म प्रतिवेदन बुझाएको छैन ।
अर्थमन्त्री सञ्जयकुमार यादवले ठूलो रकम अनियमित तरिकाले रकमान्तर गरेको छानबिन समितिले ठहर गरेकोले प्रतिवेदन बुझाउन ढिलाइ गरिरहेको बताए । समितिमा सदस्य रहेका प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले आफू मात्र प्रतिपक्षी र सबै सत्तापक्षीय सदस्य रहेकाले अर्थमन्त्रीलाई बचाउन प्रतिवेदन बुझाउन ढिलाइ भइरहेको दाबी गरे ।
प्रदेश सभामा एक वर्षमा भएका कामप्रति सत्ता गठबन्धन सहित प्रमुख प्रतिपक्षी दल समेत सन्तुष्ट छैन । सरकारले बिजनेस दिन असफल भएको हुँदा सभाको एक वर्षको भूमिका सन्तोषजनक नभएको सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह बताउँछन् ।
‘सरकार बिजनेसै दिन असफल रह्यो । त्यसैले सदनको काम सन्तोषजनक भएन’ नेता साहले भने ‘ऐन–कानुन बनाउने विषयमा सरकार गम्भीरतापूर्वक लाग्नुप¥यो ।’ मुख्यमन्त्रीले सत्ता गठबन्धनको बैठक समेत नडाक्दा आफूहरूले राय–सल्लाह समेत दिन नपाएको उनको गुनासो छ ।
सत्ता गठबन्धनको जस्तै असन्तुष्टि व्यक्त गर्छन् प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव । ‘सरकारको लिडरसिप नै कमजोर छ । हामी प्रमुख प्रतिपक्ष दल भएर पनि दुईपटक दलको तर्फबाट मुख्यमन्त्रीलाई सभा सञ्चालनको लागि ध्यानाकर्षण गरायौं । तर, सरकारले बिजनेस दिनै सकिरहेको छैन’ विपक्षी दलका नेता यादव भन्छन्, ‘मधेश सरकार नै संघीयताप्रति उदासीनता देखिएको छ । कानुन बनाउने विषयमा ध्यान छैन ।
पर्याप्त बिजनेस दिन नसकेको विषयमा सरकारभित्र पनि समीक्षा हुने गरेको छ । मधेश सरकारका प्रवक्ता समेत रहेका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिम सरकारले चाहे जस्तो काम गर्न नसक्नुमा कर्मचारीहरू प्रति दोष देखाउँछन् ।
‘कर्मचारीले नै साथ दिंदैन । सदन राम्ररी नचल्नुमा हाम्रो पनि केही प्राविधिक कारणहरू थियो’ उनले भने, ‘प्राविधिक कारण मुख्यमन्त्रीले दूर गर्नुभयो । अब सदन सञ्चालन हुन्छ । विधेयकहरू बनिसकेका छन् । अब द्रुत गतिमा प्रदेश सभा चल्छ ।
प्रभावकारी रूपमा सदन सञ्चालन गर्नेतर्फ जोडबल आफूले गरिरहेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘बिजनेस दिने काम सरकारको हो । हामी प्रश्नोत्तर कार्यक्रम गरेर, ध्यानाकर्षण गराएर सदन सञ्चालनको काम प्रभावकारी बनाउन खोजिरहेका छौं’, सभामुख मण्डलले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर