१८ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा सरकार निर्माणका सबै सम्भावना खुला भएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् । ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’ यादवले भनेका छन् । उनले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा निर्णय भने गरिसकेका छैन ।
मधेश प्रदेशसभामा निर्वाचित जसपा नेता रामाशिष साहले सत्ता गठबन्धनसंग सहकार्य हुन सक्ने बताए । यद्यपि केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने निर्णय अन्तिम हुने उनको भनाइ छ ।
तर एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए । ‘हुन त काँग्रेसको व्यबहारले एमालेसँग जसपा बाध्य भएर चुनावी गठबन्धन गर्यो । जुन अप्राकृतिक थियो । त्यो भुलवश नै भएको हाम्रो बुझाइ छ’, उनले भने, ‘अब नयाँ शिराबाट संघीयता पक्षधरसंग गठबन्धन गरेर अघि बढ्नुपर्छ ।
मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा जसपालाई सरकारको नेतृत्व गर्ने म्याण्डेट नभएको भन्दै सरकारको एउटा पार्ट मात्र हुन सक्ने बताए । यद्यपि प्रतिपक्षमा बस्ने वा सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।
मधेश प्रदेश सभा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्यीय हुन्छ । मधेश प्रदेशमा सत्ता गठबन्धन नेतृत्वको सरकार धन्ने सम्भावना बढेको छ । प्रत्यक्ष ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जसपाले ९ सिट जितेको छ । समानुपातिक मत परिणामले पनि एमाले पहिलो दल र कांग्रेस दोस्रो बन्ने निश्चित जस्तै छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७, जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४-४ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेका छन् । यसमा समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदको संख्या जोड्न बाँकी छ । तर समानुपातिकबाट निर्वाचित हुनेको संख्या जोड्दा पनि कुनै दलको बहुमत पुग्दैन । सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले-जसपाको पनि बहुमत पुग्दैन । त्यस कारण कम्तीमा तीन ठूला दल वा स्वतन्त्र सांसदहरु एक ठाउँमा नउभिएसम्म सरकार बन्ने सम्भावना कम छ ।
मधेश प्रदेशमा ठूलो दल बनेको एमाले र दोस्रो दल कांग्रेस सरकार नेतृत्वको दावी गर्दै कसरत गरिरहेका छन् । तर, जसपाले एमालेसँग सहकार्य अन्त्यको घोषणाले उसको नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर बनेको छ ।
एमाले नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले एमालेले ठूलो दलको हैसियतमा सरकार बनाउने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताए । ‘समानुपातिक नतिजाको अन्तिम परिणामको पर्खाइमा हामी छौं । यद्यपी ठूलो दलको हैसियतमा पार्टी भित्र मधेश प्रदेश सरकारको नेतृत्वको विषयमा छलफल सुरु भएको छ । कुन कुन दलसंग सहकार्य समन्वय गरेर अगाडी बढ्ने आन्तरिक गृहकार्य पनि हुँदैछ’ मण्डलले भने ।
नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वको लागि गृहकार्य गर्दैछ । कांग्रेस मधेश प्रदेश सरकारको नेतृत्व गर्न आन्तरिक गृहकार्य गरिरहेको सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्ण यादवले बताए ।
२०७४ मा मधेश प्रदेशमा मधेशकेन्द्रित दल तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को स्पष्ट बहुमत थियो ।







