गोपाल झा ,महोत्तरी , साउन २ गते ।
महोत्तरीको एकडारा गाउँपालिकाले सेवाग्राहीको सहज पहुँचलाई प्राथमिकता दिँदै वडा नं. १ स्थित एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सञ्चालन हुँदै आएको नियमित राष्ट्रिय खोप कार्यक्रमलाई थप विस्तार गरेको छ । यसअघि वडाका दुई स्थानबाट सञ्चालन हुँदै आएको खोप सेवा अब चारवटा पायक पर्ने स्थानबाट उपलब्ध गराइने भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेन्द्र मण्डलका अनुसार एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा अबदेखि प्रत्येक महिनाको २ गतेदेखि ५ गतेसम्म वडा नं. १ अन्तर्गतका विभिन्न चार स्थानमा खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन हुनेछ । यसअघि सीमित स्थानबाट सेवा दिँदा केही सेवाग्राहीलाई पहुँचमा कठिनाइ हुने महसुस भएपछि सेवा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाका अनुसार नियमित खोप कार्यक्रमअन्तर्गत जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोपहरू निःशुल्क उपलब्ध गराइनेछ । कार्यक्रममा BCG, ROTA, FIPV, PCV, MR, JE, TCV तथा TD लगायतका नियमित खोपहरू लगाइने व्यवस्था गरिएको छ।
प्रमुख मण्डलका अनुसार हाल वडा नं. १ मा जन्मदेखि २३ महिनासम्मका करिब डेढ सय बालबालिका रहेका छन् । उनीहरू सबैलाई नियमित खोपको पहुँच सुनिश्चित गर्ने उद्देश्यले एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोप केन्द्रको संख्या बढाइएको हो ।
उहाँले आफ्ना बालबालिकाको उमेरअनुसार खोप छुट्न नदिन सबै अभिभावकलाई तोकिएको मितिमा नजिकको खोप केन्द्रमा उपस्थित गराई नियमित खोप लगाउन आग्रह गर्नुभएको छ । नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने भएकाले कुनै पनि खोप छुटाउन नहुने स्वास्थ्य शाखाको आग्रह छ ।
गाउँपालिकाले एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सेवा विस्तारसँगै वडा नं. १ का सबै टोलका नागरिकलाई सहज रूपमा खोप सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । स्थानीय तहको यस पहलले बालबालिकाको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्नुका साथै राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







