शैलेन्द्र महतो शैलेन्द्र महतो
२८ फागुन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ५९ वर्षीया कौशल्या देवी साह अस्वस्थ भएपछि फागुन १५ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भइन् ।
अस्पतालमा उनको रगतमा चिनीको मात्रा लगायत तीनवटा परीक्षण गरियो । ल्याब रिपोर्टमा चिनीको मात्रा ४२२.५ देखियो । ग्लुकोज बढेर अवस्था गम्भीर भएको भन्दै परिवारजन अताल्लिए । काठमाडौं लैजानेसम्मको तयारी भयो । तर अस्पतालकै एक चिकित्सिकले ल्याब रिपोर्टमाथि शंका गरेर बाहिरको ल्याबमा पुनः परीक्षण गराउन सुझाव दिए । बाहिरको ल्याबमा स्याम्पल परीक्षण गराउँदा रिपोर्टमा ग्लुकोजको मात्रा ११८.७ आयो, जुन सामान्य थियो ।
‘आमा ग्यास्टिकको बिरामी हुनुहुन्थ्यो । सुगर धेरै बढेको ल्याब रिपोर्ट आएपछि काठमाडौं लैजाने तयारी थाल्यौं’ कौशल्याकी छोरा रमाशंकरले भने, ‘एकजना चिकित्सककै सल्लाहमा बाहिरको ल्याबमा परीक्षण गराउँदा रिपोर्ट सामान्य आयो । त्यसपछि बल्ल दिमाग अलि शान्त भयो ।
सुगर जाँच गर्दा प्रादेशिक अस्पताल र निजी प्रयोगशालामा देखिएको फरक फरक रिपोर्ट ।
महोत्तरीकी २८ वर्षीया बसिरा खातुनले गर्भको नियमित जाँच प्रादेशिक अस्पतालमै गराउँदै आएकी छन् । गत माघ १२ गते चिकित्सकको सल्लाह अनुसार उनले रक्त समूह परीक्षण गराइन् । ल्याब रिपोर्टमा ‘ओ’ पोजेटिभ आयो । उनीसँगै उनको जाँच गर्दै आएका चिकित्सक पनि झस्किए । किन भने प्रादेशिक अस्पतालमै गत ११ असोजमा गराएको परीक्षणमा रक्त समूह ‘बी’ पोजेटिभ देखिएको थियो ।
चिकित्सकलाई नै रिपोर्ट गलत लागेपछि बाहिरको ल्याबमा परीक्षण गर्न सुझाव दिए । बाहिरको ल्याबमा परीक्षण गराउँदा रक्त समूह ‘बी’ पोजेटिभ देखियो । अर्थात् प्रादेशिक अस्पतालको पछिल्लो बसिराको ल्याब रिपोर्ट गलत सावित भयो ।
प्रादेशिक अस्पतालले नै ब्लडग्रुपबारे दिएको फरक फरक रिपोर्ट
‘गर्भाअवस्था महिलाको संवेदनशील अवस्था हो । रगतको जुनसुकै बेला अभाव भएर चढाउनुपर्ने हुन सक्छ । यसरी ल्याबको गलत रिपोर्टले ज्यानै जान सक्ने सम्भावना हुन्छ’, एक चिकित्सकले भने, ‘यो ल्याबको चरम लापरवाही हो ।
फागुन १९ गते हामी प्रादेशिक अस्पतालको प्रयोगशालामा पुग्दा बिरामीले दिएको नमुना परीक्षणमा व्यस्त थिए कार्यालय सहयोगी सुरेन्द्र यादव । उनीसंग हामीले नाम र पद सोध्दा हच्किए । ‘भित्र हाकिम हुनुहुन्छ । उहाँसंगै बुझ्नुस्’ भन्दै उनी हिँडे । भित्र कुर्सीमा बसिरहेका थिए ल्याब टेक्निसियन निरीक्षक दुश्यन्त मिश्र ।
मिश्रले यादव कार्यालय सहयोगी भएको बताए । जनशक्ति अभावका कारण उनलाई नमुना संकलनको काममा लगाएको जिकिर गरे । ‘जनशक्ति अभावको कारण कार्यालय सहयोगीहरुले बिरामीबाट स्याम्पल कलेक्सन गर्नुहुन्छ । जाँच हामी नै गर्छौ’, मिश्रले भने । तर, अस्पतालकै चिकित्सकहरु अनौपचारिक कुराकानीमा कार्यालय सहयोगीले नमुना परीक्षण गर्ने गरेको स्वीकार गर्छन् ।
‘प्रादेशिक अस्पतालको ल्याब रिपोर्ट धेरै अविश्वसनीय छ । प्रायः यस्तो गलत रिपोर्ट भेटिइरहन्छ’ एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘रिपोर्टकै आधारमा हामीले औषधी उपचार गर्छौं । गलत रिपोर्टको आधारमा औषधी उपचार भयो भने बिरामीको ज्यानै जान सक्ने सम्भावना रहन्छ ।
अस्पतालका ल्याब इन्चार्ज परमेश्वर यादवले जनशक्तिको अभावका कारण कार्यालय सहयोगीलाई नमुना संकलनको काममा लगाएको दाबी गर्छन् । ‘स्याम्पल कलेक्सनमा मात्र कार्यालय सहयोगी रहन्छन् । जनशक्ति छै, तर परीक्षण हामी आफैले गर्छौं’ उनले भने, ‘दिनमा तीन चारसय जनाको ल्याब परीक्षण हुन्छ । चारजना मात्रै ल्याब टेक्निसियन रहेकाले स्याम्पल कलेक्सनमा सहयोग लिने गरेका छौं ।’ ल्याब इन्चार्ज यादवले आफूहरुले गलत रिपोर्ट भने नदिएको दाबी गरे ।
अस्पतालका निर्देशक डा. प्रमोद यादव कार्यालय सहयोगीलाई प्रयोगशालाको काममा लगाउनु सामान्य विषय मान्छन् । ‘अस्पतालमा जनशक्तिको अभाव छ । त्यतातिर सरकारले ध्यान दिँदैन । यो कुराहरुको बारे पनि ध्यान दिनुस्’ उनले भने ।
हाल ३०० बेडको यो अस्पताल मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएको एक वर्ष भएको छ । तर, प्रतिष्ठान मातहत आएयता प्रादेशिक अस्पतालमा उपचार सेवा झनै भद्रगोल बनेको छ ।






