Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

पछिल्ला सरकारले महत्त्व नबुझेका कारण योजना अलपत्र पारे

प्रतिक्षा खबर
२०८१ पुष २६, शुक्रबार १५:००
मेरो नेतृत्वमा प्रदेश सरकार हुँदा धेरै सोचविचार गरेर मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम ल्याएका थियौँ । त्यसबखत प्रदेशमा केही गर्ने हुटहुटीले धेरैसँग परामर्श गरेर स्वच्छता अभियान कार्यक्रम अघि सारिएको हो ।

 

प्रदेश सरकार भन्ने संरचना नै नयाँ थियो त्यो बेला । हामी जहाँ जाँदा पनि आम नागरिकले प्रदेशमा केही विशेष काम गर्न भनिरहन्थे । हामीलाई पनि प्रदेश सरकारको संरचना नयाँ भएकाले केही ठोस काम गर्ने हुटहुटी थियो ।

मधेसमा जताततै पुराना पोखरी छन् । तर तिनलाई पर्यटकीय आकर्षण बनाउन सके प्रदेश र स्थानीयवासीलाई पनि फाइदा हुन सक्छ भनेर मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सौन्दर्यकरण कार्यक्रम अघि सारिएको थियो । यो कार्यक्रम अन्तर्गत सार्वजनिक ठाउँमा रहेका पोखरीहरूको सौन्दर्यकरण गर्ने योजना ल्याएका थियौँ ।

प्रदेशकै गौरवको योजना अनुसार यसलाई अघि बढाइएको थियो । यसमा हाम्रो खास उद्देश्य भनेको भर्खर–भर्खर प्रदेश सरकारको अभ्यास थालिएको छ, प्रदेशका नागरिकको लागि केही गरौँ भन्ने हुटहुटी सरकारमा सहभागी दल र नेताहरूमा भइरहन्थ्यो ।

मान्छेलाई धार्मिक गतिविधि गर्न, छठ पर्व मनाउन तथा बिहान–बेलुका शान्त र सफा ठाउँमा घुम्न सहज होस् भनेर पोखरी सौन्दर्यकरणको योजना ल्याइएको हो । योजना लागु भइससकेपछि प्रदेशको अधिकांश जिल्लाको पोखरीको सूची तयार पार्‍यौँ । त्यसपश्चात हामीले पोखरी सौन्दर्यकरणमा लाग्ने बजेट अनुसार रकम विनियोजन पनि गर्‍यौँ ।

सुरुवाती चरणमा धेरै काम भए । पोखरीहरूमा प्रदेश सरकारको सोच अनुसार सार्वजनिक धरोहर संरक्षण पनि हुन थाल्यो । तर काम हुँदै गर्दा कोरोना महामारी सुरु भयो । त्यतिबेला ‘लकडाउन’ पनि भयो । त्यसपछि देशभर यस्ता महत्त्वपूर्ण काम प्रभावित हुन थाले ।

कोरोनाले मान्छे मर्न थालेपछि त्यसबखत यो योजनाको निर्माणमा सिधा असर पर्न गयो । केही समय काम नै रोकियो । कोरोनाकाल सकिएपछि मेरो नेतृत्वको सरकारको कार्यकाल पनि सकियो ।

सरकार परिवर्तन भएपछि यो योजना सफल हुने कुरै भएन । किनकि, यो योजनाको महत्त्व नबुझ्नेहरू सरकारमा आए । अनि पोखरी सौन्दर्यकरणको योजना लत्याउन थालियो । अर्थात् यसको बेवास्ता गर्न थालियो । कतिसम्म बेवास्ता गरियो भने काम गर्ने ठेकदारहरूसँग सम्झौता नै गरिएन । सम्झौता नभएपछि मूलतः यो योजना अलपत्र पर्न थालेको हो ।

अहिले लागु भएको ठाउँमा पनि काम हुन सकेको छैन । त्यसबेला जति काम भएको छ, त्यतिमै सीमित हुन गयो । यसको एउटै कारण हो– ठेकदारहरूसँग सरकारले सम्झौता नगरेकाले उनीहरूले काम गर्न छाडे ।

काम गरेको पैसा पाइएन भनेर कति ठेकदारले मसँग गुनासो गरिरहेका हुन्छन् । ठेकदारहरूले काम गरेको बिल पनि बुझाइसके । त्यो बिल थन्किएको छ । ठेकदारहरूको भुक्तानी नदिएका कारण काम अघि बढ्न सकेन । ठेकदारहरूको ठुलो पैसा फसेको छ । उनीहरू मर्कामा परेका छन् ।

कतिसम्म लापर्बाही गर्ने गरिएको छ भने अदालतले कामको मूल्याङ्कन गरेर ठेकदारलाई पैसा दिन आदेश दिए पनि प्रदेश सरकारले त्यसमा बेवास्ता गरिरहेको छ । भएको कामको पनि भुक्तानी नपाएपछि ठेकदारले योजना निर्माण सम्पन्न गर्न गरिरहेका छैनन् । आफूले काम गरिसकेको पैसासमेत नपाएपछि ठेकदारहरूले निर्माणको काम ठप्प पारेका हुन् । त्यसैले अहिले हरेक पोखरीमा सौन्दर्यकरणको काम अलपत्र भएको हो ।

मेरो बुझाइमा यसको एउटै कारण हो– मेरो कार्यकालपछि बनेका प्रदेश सरकारहरूले यो योजनाको महत्त्व नै बुझेनन् । अनि यी योजनाको सम्झौता गर्न बेवास्ता हुन थाल्यो । मधेस सरकारले प्रदेश र यहाँका नागरिकका लागि जति पनि योजना बनायो, त्यो मेरै कार्यकालमा बनेका छन् । त्यसबाहेक अहिलेसम्म कुन ठोस योजना ल्याइएको छ त ? जनतासँग सरोकार हुने कुन काम अहिले भइरहेका छन् ? केही पनि भइरहेको छैन । यो कुरा कसलाई भन्ने ? त्यो भनेर पनि हाम्रो मुलुकमा केही अर्थ छैन ।

सरकारमा दूरदर्शिता भयो भने यस्ता योजना अलपत्र पारिँदैन, प्रोजेक्ट सफल बनाइन्छ । तर त्यसपछिका सरकारहरूमा दूरदर्शिता देखिएन । अनि पुराना सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरू बेवास्ता गर्न थालियो ।

छिमेकी मुलुक भारत होस् वा अन्य कुनै विकसित मुलुकहरूमा हेरौँ– अघिल्लो सरकारले ल्याएको योजना महत्त्वपूर्ण छन् भन्ने त्यसलाई निरन्तरता दिने गरेको पाइन्छ । सरकार भनेको व्यक्ति होइन, संस्था हो । त्यसैले त्यो संस्थाको नेतृत्वमा जो आए पनि संस्थागत निर्णयलाई अघि बढाउने गरिन्छ । तर हामीकहाँ त्यस्तो अभ्यास नै भएको छैन । सरकार परिवर्तन हुनासाथ अघिल्लो सरकारले के–के योजना ल्याएको छ, त्यो हेरेर त्यसलाई खारेज गर्ने, रोक्ने काम गरिन्छ ।

यो प्रोजेक्टमा पनि मधेस सरकारको रुचि देखिएन । त्यसैले सरकारले यसलाई बेवास्ता गर्‍यो । प्रादेशिक गौरवका योजनाहरूमा सरकारले पैसा नै विनियोजन गर्न छोड्यो । योजनामा पैसा नै दिन छाडेपछि काम रोकिनु स्वाभाविक हो । यही कारण पोखरी सौन्दर्यकरण योजना अलपत्र पर्दै गएको हो । यो विडम्बनाको कुरा हो । दुःखको कुरा हो ।

बजेट किन राखिएन ? सरकारले किन यस्ता महत्त्वपूर्ण योजनालाई बेवास्ता गरिरहेको छ ? यी प्रश्नहरू आफैँमा गम्भीर छन् । किनकि सरकारले राम्रो योजनाहरूलाई प्राथमिकता दिनुपर्ने हो, तर यहाँ त्यो चलन छैन ।

यो योजनामा अनियमितता भएको पनि यदाकदा भन्ने गरिन्छ । हो मेरो प्रश्न यहीँ छ– यदि अनियमितता भएको भए अख्तियारले बाँकी राख्थ्यो ? राख्दैन्थ्यो नि ।

मानौँ– योजनामा कहीँ गोलमाल नै भएको छ भने त्यसको लेखाजोखा गर्ने काम त सरकारको हो नि ! सरकारले लेखाजोखा गरेर ठेकदारमा गल्ती छ भने त्यसलाई कारबाही गरोस्, उसलाई कालोसूचीमा राखोस् । एउटा छिनोफानो त गरिदिनुपर्‍यो नि !

मेरो पनि चुनौती छ– यदि कसैले गल्ती गरेको छ भने सरकारले त्यसलाई कारबाही गरोस् । तर यसरी काम नै अल्झाएर वर्षौंसम्म राख्न उचित होइन । नत्र, झुटमुटको बहाना बनाएर योजना अलपत्र पार्ने काम नगरियोस् ।

मेरो बुझाइमा यो सब मुलुकमा थिति नभएको उपज हो । जसकारण अघिल्लो सरकारको कामलाई बेवास्ता गर्ने काम हुने गरेको छ । सरकारले कम्तीमा यस्ता योजनाहरूको महत्त्व बुझोस् । सरकारले योजनाको महत्त्व बुझ्यो भने प्रदेश र यहाँका जनतालाई फाइदा नै हुन्छ ।

(मधेस प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतसँग रातोपाटीका लागि अली असगर देवानले गरेको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर