‘युक्रेनी सेनाको समन्वयको कमाल’
बीबीसीका अनुसार युक्रेनका सेनाबीच अहिले बेजोड समन्वय छ । त्यही समन्वयको कमाल अनुसार युक्रेनी सेना रुसमा घुसेर आक्रमण गर्न सकेका हुन् ।
बेलायतका एक सैनिक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्, ‘यो आक्रमणको सबैभन्दा चाखलाग्दो कुरा के हो भने युक्रेनी सेनाका अलग–अलग अंगबीच बेजोड समन्वय छ । पैदल फौजको साथसाथै हवाई सुरक्षा, इलेक्टोकि वारफेयर र तोपखानाले पनि यो अपरेसनमा भाग लिएका छन् । युक्रेनका लागि यो आफैंमा ठूलो उपलब्धि हो ।’
अधिकारीहरुका अनुसार युक्रेनले पश्चिमा देशहरुबाट प्राप्त अत्याधुनिक हतियार पनि प्रयोग गरिरहेको छ । ती हतियारहरुमा जर्मनी मोर्डर र अन्य बख्तरबन्ध बाहन समावेश छन् ।
विगतका वर्षहरुको तुलनामा युक्रेनी सेनाले यस वर्ष यस्ता अत्याधुनिक हतियारहरुको राम्रोसँग प्रयोग गर्दै आएको छ ।
भारतीय नागरिकलाई ब्रेन्स्क, बेलगोरोद र कुर्स्क छाड्न अनुरोध
युक्रेनी सेना रुसको भूभागमा घुसेर आक्रमण गर्न थालेपछि भारतले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
रुसस्थित भारतीय दूतावासले सूचना जारी गर्दै ब्रेन्स्क, बेलगोरोद र कुर्स्कमा रहेका भारतीय नागरिकहरुलाई सतर्कता अपनाउन र अस्थायी रुपमा ती ठाउँ छाड्न भनेको हो ।
भारतीय दूतावासले कुनै मद्दत चाहिएमा सम्पर्क गर्न भनेर इमेल आईडी र टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।







